समर्पण श्रीका ३ कविता
१. सपना र जीवन
सपनामा
मैदानजस्ता बाटाहरू देख्छु
घोडाको वेगझैं दगुर्न पनि सजिलो
बतासको वहाबझैं उड्न पनि सजिलो
सपनामा गन्तव्य चुम्न
के कठिन छ र !
तर साथी
कठिन त त्यो सिमानामा छ
जहाँ जिन्दगी निश्चित पावन्दी लिएर बाँचिरहेको छ
अप्ठ्यारा पहाडहरू चिरेर विपनामा
माथ गर्नुपर्छ रहरका उचाइ
गहिरा खोचहरू भित्रबाट बनाउँदै हिँड्नुपर्छ नयाँ गोरेटो
पन्छाउँदै हिँड्नुपर्छ क्यातुके र जंगली झाडीहरू
लखेट्दै हिँड्नुपर्छ गोगन साँप र सर्पहरू
सपनामा म त चराझैं उडिरहेको देख्छु
तर साथी
चराको पनि त संघर्ष जमिनमै छ
भत्किन लागेको गुँडमा जुनसुकै बेला
व्याधाले बन्दुक तेस्र्याउन सक्छ
आकाशमा नजरबन्द गरिदिन सक्छ
मृत्युको मुखबाट बारबार उम्कन
लम्किरहेका लामा हातहरूबाट फुत्कनुपर्छ
र डरका पखेटा फिजाएर
माथि–माथिसम्म दुःख फैलाउनु पर्छ
सजिलो त सपना देख्नुमात्र हो
जसको कुनै सिमाना र पर्खाल छैन
साथी, त्यो सपना त पूरा गर्नुछ
सिमाना र पर्खाल भत्काएर
सुन्दर जीवन बनाउनु छ जीवन
उही सपनाजस्तै !
२. एउटा कविको शोकधुन
कवि !
तिमीले के निर्णय गर्यौ ?
यत्रो संसारमा
तिमीलाई मात्र उदास बनाएर गई
तिम्री प्रेयसी
तिमीले लेखिरहेको कवितामा प्राण बिसाएर
बिदा भई दुनियाँबाट
छातिमा प्रेम बोकेर हिँड्ने तिमी
अचेल आगो बोकेर हिँडिरहेको छौ
जलिरहेका छन् तिम्रा खुसीहरू
निख्रिरहेका छन् तिम्रा उत्कन्ठाहरू
एक थान कविता तिम्रो आँशुको डुबानमा परे
बगेर कहाँ–कहाँ पुगे
एक हुल शब्दहरू तिम्रो मौनताको जेलमा थुनिए
निसास्सिएर भित्र–भित्रै मरे
एक जुलुस आवाजहरू तिम्रा निम्ति नारा कोरिरहेछन्
तिमी भने मुर्दाशान्तिझैं अचल छौ
तिम्रो बोली नसुनी यो आकाश गर्जिने छैन
तिम्रो अनुहार नहेरी यो रात पन्छिने छैन
किन तिम्रै पर्खाइमा यो बतास रोकिएको छ ?
कवि !
तिमीले के निर्णय गर्यौ ?
झ्यालबाट चियाइरहने रातलाई
सुनाइदेऊ तिम्रो निर्णय
अब कसरी बाँच्ने छौ एक्लै भनेर
सुनाइदेऊ,
सबै शुभचिन्तकहरूलाई
जो तिम्रो अनुभूतिमा आफूलाई महसुस गर्छन्
अब कति शोकहरू कविता बन्छन् ?
अब कति उदासीहरू गीत बन्छन् ?
कवि
यत्रो संसारमा तिमीलाई मात्र रुवाएर गई
तिम्रो प्रेयसी
तिमीले कोरिरहेको चित्रमा खुसी बिसाएर
बिदा भई दुनियाँबाट
अब ऊ आउँदिन
गतिशील उसका पाइलाहरुले
अन्तिम क्रान्ति गरेका हुन्
तिमीलाई आफ्नो जितको तक्मा भिराएर
उसले अर्कै बाटो रोजेकी हो
तिम्रो कवितामा उसको वर्णनमात्र थियो
आत्मा थिएन
तिम्रो कवितामा उसको मुस्कानमात्र थियो
खुसी थिएन
उसको खुसी, उसको आत्मा
डेरामा थुनिदाएर तिमीले कविता लेखेको थियौ
यत्रो जीवनमा
यौटा कविता पूरा गरिदिन
ऊ दुनियाँबाट बिदा भएकी छे
कवि !
तिमीले के निर्णय गर्यौ ?
३. बन्धकी
म गाउँ बन्दकी राखेर
सहरमा सपना किन्न आएँ
चोक–चोक, गल्ली–गल्लीमा
लामबद्ध थिए
सपना बेच्न तत्पर व्यापारीहरू
महंगोदेखि सस्तोसम्म केलाएर केलाई हेरेँ
राखिएकामध्ये
सबैभन्दा महङ्गो सपना खरिद गरें
र कयौं दिनसम्म आंखामा सजाएर राखें
एकदिन थाहा पाएँ
जादुविहीन सपनाको आयु सकिएछ
थप सपना किन्नु पहिले
गाउँ सम्झिएँ
जसलाई बन्दकी राखेर म सहर आएको थिएँ
थुप्रै, थुप्रैले मैले जसरी गाउँ बन्दकी राखे
उनीहरू सपनामुक्त भएर गाउँ फर्किए
तर, हामीले बन्धकी राखेको गाउँ
अझै मुक्त भएको छैन !
०००
कवि परिचय
– समर्पण श्री युवा पुस्तामा रुचाइएका कवि हुन् । प्रेम, युवा संघर्ष र समसामयिक राजनीतिमाथि केन्द्रीत उनका कविता झट्ट हेर्दा शान्त र स्थिर देखिएपनि तिनको अन्तर्यमा गहिरो काव्यिक भाव पाइन्छ । उनका कविताले स्वाधीन जीवन, स्वतन्त्र मानव-अस्तित्व र सहभावको पक्ष लिएको हुन्छ । साथै नारी वेदना, मातृआर्दश र बन्धुत्वको भाव पनि उनका कवितामा पाइन्छ ।
करिब एक दशकदेखि कविता लेखनमा निरन्तर प्रवाहित समर्पण कथासमेत लेख्छन् । नाटक उनको अर्को विधा हो । पत्रकारिता पेशामा रहेका समर्पण श्रीको ‘अनुहारको भीड’ संयुक्त कवितासंग्रह प्रकाशित छ । व्यक्तिगत जीवनमा शालीन र सौम्य परिचय बनाएका समर्पण श्री कविता लेख्नुसँगै कविताजस्तै निश्छल, हार्दिक र सौम्य जीवन बाँच्नुपर्ने कुरामा अडिग छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस