आजदेखि आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ ।
मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस