कमान्डर प्रवीण
कथा
प्रवीण पहाडी जिल्लाको विकट गाउँमा जन्मेर जनताका सुखदुःखमा साथ दिने मानिस हो । देश र जनताको परिवर्तनको सपना बोकेर आगाडि बढिरहेको थियो ऊ । पञ्चायत कालका विभिन्न छापामार युद्धमा कमान्डिङ गरिरहेको थियो । उसका पार्टी भित्रका सिआइडीद्वारा, उसलाई पक्राउने र मुद्दा लगाइने काम भयो । अराष्ट्रिय तत्त्व (अ.त.) भन्दै पञ्चायती व्यवस्थाले उसलाई जेल हाल्यो । ऊ तीन वर्षको कष्टकर जेल जीवनपछि ३६ सालमा जेलमुक्त भएको थियो ।
३६ सालको विद्यार्थी आन्दोलनको प्रभाव देशका विभिन्न भागमा परेको थियो । त्यस्तै पोखराको पृथ्वीनारायण क्याम्पसबाट फर्किएकी सोह्र–सत्र वर्षे, जोशिली र देश र जनताको परिवर्तन गर्न हिँडेकी एकजना महिलासँग प्रवीणको भेट भयो । गाउँमा संगठन निर्माण र गाउँको विकासमा, साथ दिदै अगाडि बढिरहेका, प्रवीण, यादवी, जिवन, कमला, लगायत धेरै युवा युवतीहरु देश परिवर्तनमा लागेका थिए । प्रवीणले कहिले काहि सरिनालाई र उसका साथीहरुलाई जेल जीवनका कष्टकर यातना र अपमानका कुरा सुनाउँथ्यो ।
त्यतिवेला देशका विभिन्न भागमा पञ्चायत विरोधी आन्दोलनहरु चलिरहेका थिए । पञ्चायत विरोधी आन्दोलनमा लागेका धेरै मान्छेहरु जेलमा यातना भोगिरहेका थिए । भुमिगत जीवन कति गाह्रो हुन्छ । प्रवीण भर्खर विवाह गरेकी सोह्र वर्षे श्रीमती छोडेर भूमिगत गएको थियो । ऊ कहिलेकाहिँ मात्र घरमा आउँथ्यो र उसकी श्रीमती गाउँको विद्यालयमा पढाउँथिई । श्रीमतिले प्रवीणलाई देश र जनताको परिवर्तनमा अगाडि बढ्न प्रोत्साहन गरिरहन्थी । प्रवीणलाई आफ्ना छोराछोरी कति वर्षका भए वा कति क्लासमा पढ्छन् उसलाई केही थाहा थिएन । ऊ यति व्यस्त थियो कि जनता पार्टी, विकास निर्माण देश परिवर्तन र पञ्चायति व्यवस्थाको अन्त्य गर्न देश परिवर्तन गर्न हिँडिरहेको थियो । इमान्दार, सोझो र घमण्डी खालको प्रवीण वास्तवमा एक यथार्थवादी थियो ।
२०४६ सालको निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बुदलीय व्यवस्थाको स्थापना भयो । पार्टिहरू खुला भए । प्रवीण पनि गाउँमा खुला रूपमा अगाडि बढिरह्यो । गाउँ पञ्चायतको अन्त्यपछि गाउँ विकास समितिको निर्माण भयो । स्थानीय चुनावको घोषणा भयो । ऊ गाउँ विकास समितिमा अध्यक्ष निर्वाचित भयो । सबैभन्दा खुशीको क्षण त्यो दिन थियो । जुन दिन जनता र पार्टीका कार्यकर्ता रातो झण्डा फफर्राउँदै ‘जित कसको ? जनताको’ भन्दै बाजागाजा सहित घरमा आए । जुन दिन उसकी श्रीमती खुशीले गदगद भएकी थिई ।
दिनहरू बित्दै गए । गाउँमा उसको मान–इज्जत बढ्दै गयो । दुःखसुखमा साथ दिएकी श्रीमतिलाई उसले भुल्न थाल्यो । गाउँमै बस्ने, कुखुरा काट्ने र साथी-भाई जम्मा हुने, रक्सी खाने, गर्न थाल्यो । उस्तै परे घरमा श्रीमतिसँग झगडा कलह र निउ खोज्ने जस्ता काम गर्न थाल्यो । सल्ला र सुझावमा अगाडि बढेको प्रवीणलाई पार्टीभित्रको एकजना मान्छे जसले रक्सी र चुरोट धेरै खान प्रोत्साहन गरिरहन्थ्यो । पढेका श्रीमती ठिक हुँदैनन् भन्दै उक्साउँथ्यो । सोझो प्रवीन त्यहि कुरा पत्याउँथ्यो र घरमा श्रीमतीमाथि जाइलाग्थ्यो ।
घर परिवार विखण्डन पारेर प्रवीनलाई लफङ्गो बनाई आफू राजनीतिमा अगाडि बढ्ने सपना बोकेको पार्टी कार्यकर्ताको नाममा हिँडेको एउटा कलंक थियो । जसले गाउँमा मिलेर बसेका श्रीमान् श्रीमतीलाई समेत झगडा पारेर परिवारै खण्डित बनाइरहेको थियो । यस्ता खालका मान्छेसँगको संगतको बाबाजुत पनि प्रवीण गाउँको विकासमा अगाडि बढिरह्यो । गाउँका खानेपानी, विद्यालय जनताका विभिन्न सेवामा ऊ लागिरह्यो र लोकप्रिय बन्दै गयो । चाहेको जस्तो परिवर्तन नभए पनि ऊ गाउँको विकासमा अगाडि बढीरह्यो । यस्तै क्रममा जिल्लाको प्रमुख बन्ने अवसर आयो । उसले जिल्लाका फटाहा र ठगी खाने ठेकेदारहरु, ठगी खाने कर्मचारीहरुको दोलो काड्यो । प्रवीणले जिल्ला विकासको आम्दानी जनताका काममा भरपुर लगायो । प्रवीण चाँहि इमानदार थियो । उसको घरपरिवारको केही वास्ता थिएन । उसका तीन छोराछोरी काठमाडौँ पढ्थे ।
ऊ जिल्लाको प्रमुख थियो तर उसका छोराछोरीहरुले पैसा नभएको कारण तीन दिनसम्म पानी मात्र खाएका र एकजना पसलेले दया जागेर, पसलमा उधारो सामान दिएपछि खान पाएका थिए । उसकी श्रीमतीले तलब बुझेर पठाउँथी तर कहिलेकाहिँ तलव विद्यालयले ढिला दिन्थ्यो । उसले घर परिवार, छोराछोरी केही नभनी जिल्लाको विकासमा लाग्यो । उसले जिल्लाका प्रत्येक गाउँमा मोटर बाटा धेरै गाउँमा बत्ती खाने पानी पु¥यायो र जिल्ला झिलिमिली बनायो । नेपालमै सबभन्दा विकासित जिल्लाको रुपमा विकास ग¥यो प्रवीणले आफ्नो जिल्लालाई । उसले इमानदारी र निस्टाको राजनीति गरेको थियो ।
उता प्रवीणले सोचेजस्तो थिएन केन्द्र । केन्द्रिय नेताहरू भ्रष्ट भइसकेका थिए भने केही अमेरिकन साम्राज्यवादीका एजेन्ट बनिसकेका थिए । केही चाहिँ भारतीय विस्तारवादका एजेन्ट बनिसकेका थिए । देश निर्माणभन्दा विदेशीहरुलाई कसरी रिझाउने, प्रधानमन्त्री कसरी बन्ने, खेलमा लागिरहेका थिए नेताहरु । भ्रष्ट्रचारमा तल्लीन थिए । धेरै गिरिसकेका थिए । विदेशीहरु नेपालको साधन स्रोत कब्जा गर्न राजनीतिक दलका नेताहरुलाई सामान्य सुविधा दिएर, आपसमा लडाएर विभिन्न विदेशी कम्पनिहरु नेपालमा भित्राइ यहाको अर्थतन्त्र तहसनहस पार्न खोजिरहेका थिए । नेपालीहरुलाई दास बनाउन खोजिरहका थिए भने नेताहरू पनि नव राणजस्तै बनिसकेका थिए ।
नेताको घरमा धाउनु पर्ने, कोशेली बोकेर जानुपर्ने, पैसाका बिटो बोकेर जानु पर्ने, निहुरिएर बोल्नु पर्ने, उनीहरुले जति बदमासी गने पनि बोल्न नपाइने शासन थियो । राणा शासनमा उनका बदमासीको विरोधमा बोल्दा फासीमा झुन्डिनुपथ्र्यो भने नवराणाले बुद्धिमान् तरिकाबाट मान्छेलाई तहसनहस पारेर किनारा लगाई, राजनीतिक जीवन नै समाप्त पार्ने गरिरहेका थिए । आधुनिक राणसँग जुध्न र अगाडी जान धेरै गारो थियो प्रवीणलाई । ऊ कसैको चाकरी गर्दैन थियो तर पनि जनता र कार्यकर्तामा लोकप्रिय थियो ।
राजनीति कस्तो गर्ने ? आदर्शको वा सिद्धान्तको वा स्रोतसाधन वा द्रव्यको वा अपराधको ? प्रवीण आदर्श र सिद्धान्तको राजनीति गर्दैथ्यो । तर नेता भनाउँदा चाहिँ अपराध र द्रव्यको राजनीतिमा चुर्लुम्म डुबिसकेका थिए । राजनीतिक कार्यकर्तालाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्थे, नेताहरू । मेरो अन्धभक्त हो कि होइन ? यदि होइन भने छिर्नै नदिने कि करोडौँ रुपैया बुझेर सभासदका टिकट बेच्ने, अपराधिक कार्यमा लागेका थिए । पैसा पाएपछि ठग अपराधिलाई पनि टिकट बेचेर सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिएका थिए नव राणाले । प्रवीणको मुल्याङ्कन गर्ने कुरै थिएन ।
प्रवीणले देशको हालत र नेताहरुको बदमासीको चाल बल्ल थाहा पायो । सरिना प्रवीणको साथी हो सबै कुरा बिग्रिएको प्रवीणलाई भन्थी सरिना । तर प्रवीणले सरिनाका कुरा केही पत्याएन । अहिले पनि गाउँका सोझसाझा कार्यकर्ताहरु अन्योलमा छन् । उनीहरुलाई आफ्नो अनुकूलमा प्रयोग गरिरहेका छन् ।
सरिना भन्छे, ‘प्रवीण तिमीले बुझेर राजनीति गर । यस्ता मान्छेहरुलाई परास्त गर्न अगाडि बढ । देशी विदेशी शक्तिले बिगारिसकेका छन् । नेताले राजनीतिका नाममा देश खतम बनाइसकेका छन् । यो कुराको जानकारी प्रत्येक जनतालाई सचेत बनाउने काम गर । मेरो शुभकामना छ तिमीलाई ।’ प्रवीण यो युगको यस्तै एक पात्र थियो । परिस्थितिसँग रुमल्लिएको पात्र ।
जाल्पा भुषालको प्रकाशोन्मुख उपन्यासबाट
क्याटेगोरी : कला शैली, खोज/विशेष, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस