गोलभेँडा बिक्रीबाट ६ महिनामै तीन करोड आम्दानी

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ ।
उनीहरुले विगत छ महिनामा रु तीन लाखभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिकरूपमा मकवानपुरगढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहको छ । गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा एक सय जना किसानले एक सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिनुभयो । गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ ।
उनले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताए । अव्यवस्थित चुरे तथा पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगौलिक बनावटका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको कृषि अधिकृत चौधरीले बताए । गाउँपालिकामा चार सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक छ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ । मकवानपुरगढी–१ मा २० किसानले २७, वडा नं २ मा २० किसानले एक हजार नौ सय वर्गमिटर क्षेत्रफलमा एक सय १९, वडा नं ३ मा १७ किसानले ६०, वडा नं ४ मा २३ किसानले ३५, वडा नं ५ मा २८ किसानले ३१ टनेल निमार्ण गरी खेती गरिरहेको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै वडा नं ६ मा २१ किसानले एक सय पाँच, वडा नं ७ मा ६६ किसानले एक सय र वडा नं ८ मा ८२ किसानले गरी जम्मा तीन सय ५३ वटा टनेल निर्माण गरी गोलभेँडाको तरकारी खेती गरिरहको बताइएको छ । किसानले अहिले दैनिक रु तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौँडा बजारलगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उनले बताए । गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ । तरकारी खेतीका लागि यस वर्ष पनि रु पाँच लाख छुट्याएको सो कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बजार शैली, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस