• जीवनशैली | Jiwanshaili
  • हरिबोधनी एकादशी बुधबार र बिहीबार


    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउनुहुन्छ । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

    एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

    वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताउनुभयो । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस