• जीवनशैली | Jiwanshaili
  • नारायण गोपालले गीत लेख्नुस् भन्नुभयो, म शीताङ्ग भएँ – कालीप्रसाद रिजाल


    म सूचना विभागको डाइरेक्टर थिएँ । सूचना विभागमा जागिरे भएको बखत नारायण गोपाल एकजना कर्मचारी लिएर मलाई भेट्न आउनुभयो । उहाँले कुनै पत्रिकामा मेरो कविता पढ्नुभएको थियो सायद । त्यसैको प्रेरणाले भेट्न आउनुभयो जस्तो लाग्छ ।

    उहाँ नाचघरमा कलाकारको रुपमा काम गर्नुहुन्थ्यो । ईश्वरले स्वर दिएको थियो । राम्रो संगीत भर्ने खुबी दिएको थियो । र, शब्दको खोजीमा हुनुहुन्थ्यो ।

    त्यसदिन उहाँ सूचना विभागको डाईरेक्टरलाई भेट्न होइन । शब्दको खोजीमा आउनुभएको थियो । उहाँ आउनुभयो, चिनजान भयो । चिनजान भएपछि फुर्सदमा भेट्ने, गफ गर्ने, सँगै चिया खाने गर्न थाल्यौं । हामी एकै बसाइमा दोहोर्‍याएर चिया खान्थ्यौं । यो गीत कस्तो छ? भनेर सोध्नुहुन्थ्यो । गीत कसरी राम्रो बनाउने भन्नुहुन्थ्यो । यस्तै विषयमा कुराकानी हुन्थे ।

    कुराकानीकै सिलसिलामा एकदिन नारायण गोपालले तपाईँ गीत लेख्नुस्, म गाउँछु भन्नुभयो । म शीताङ्गजस्तै भएँ । काठमाडौं आएपछि धेरै वर्षदेखि गीत लेख्न छोडेको थिएँ । लेख्नसक्छु भन्ने आँट नै थिएन । उहाँले मान्नुभएन । तपाईँ सक्नुहुन्छ लेख्नुस् भन्नुभयो ।

    शनिबार छुट्टीको दिन ढोका बन्द गरेर बसेँ । यौटा गीत लेखेर तल झरेँ । फेरि शङ्का लाग्यो । नारायण गोपाल निकै चुजी । गीत त भएन नि! भन्नुभयो भने बर्बाद हुन्थ्यो ।

    गीतको बारेमा सोध्ने साहस भएन!

    नारायण गोपालले कतिपय गीत च्यातेर फालेको देखेको छु । त्यसैले त्यो मेरो लागि ठूलो चुनौती थियो । तैपनि प्रयास त गर्नैपर्‍यो । शनिबार छुट्टीको दिन ढोका बन्द गरेर बसेँ । यौटा गीत लेखेर तल झरेँ । फेरि शङ्का लाग्यो । नारायण गोपाल निकै चुजी । गीत त भएन नि! भन्नुभयो भने बर्बाद हुन्थ्यो । अझै यौटा लेख्छु भनेर फेरि कोठामा गएँ । ढोका थुनेर गीत लेखेँ । तर, मलाई डर लागिरहेको थियो । उहाँले मन पराउनुभएन भने के गर्ने? गीत कोटको गोजीमा राखिरहेँ ।

    २/३ दिनपछि आउनुभयो । मैले भनेको केभो? भनेर सोध्नुभयो । नबुझेजस्तो गरेर सोधेँ । गीत भनेको लेख्या’छैन के हो? भनेर र्‍याखर्‍याख्ती पारेपछि गोजीबाट झिकेर दिएँ ।  उहाँले ‘ल त रिजालजी म जान्छु’ भन्नुभयो । त्योदिन  चिया खाउँ भन्दापनि मान्नुभएन । त्यसको एक हप्ताजति आउनुभएन ।

    मलाई लाग्यो, गीत मन पराउनुभएन । गीतको काण्डले मित्रता पनि गयो भनेर निकै चिन्ता लाग्यो ।

    ८/१० दिनपछि आफै आउनुभयो । मलाई क्यासेट दिनुभयो र चिया खाम रिजालजी भन्नुभयो । क्यासेट गोजीमा राखेँ । चिया खायौं तर मैले गीतको बारेमा सोध्ने साहस गरिनँ । उहाँले पनि केही भन्नुभएन ।

    उहाँले गीत नमागेको भए म गीतकार हुने सम्भावना नै थिएन । म घुम्ने कुर्सीमा बस्ने मान्छे कसैलाई ‘मेरो गीत गाइदेउ न’ भन्दैनथेँ होला

    घरमा आएर तुरुन्तै क्यासेट सुनेँ । त्यसमा मैले लेखेका दुईटा गीत रहेछन् । “आँखा छोपी नरोऊ भनी…” र “झरेको पातझैँ भयो…”

    ती गीत नारायण गोपालले रेडियो नेपालमा एकै सिटिङमा रेकर्ड गराउनुभएछ । यसरी उहाँले मलाई फेरि गीतमा तान्नुभयो । उहाँले गीत नमागेको भए म गीतकार हुने सम्भावना नै थिएन । म घुम्ने कुर्सीमा बस्ने मान्छे कसैलाई ‘मेरो गीत गाइदेउ न’ भन्दैनथेँ होला । र, कोही मसित माग्न आउनेवाला पनि थिएन होला ।  नारायण गोपालको आगमन यौटा वरदान थियो । भगवानको रुप लिएर उहाँ आउनुभयो ।

    झण्डै फाँसी दिइयो…

    त्योबेला ‘अल्ट्रा रोयलिस्ट’ मान्छेहरु धेरै थिए । कुनचाहिँले दरबारमा बिन्तीपत्र हालिदिएछ । सरकारको नून खाने सूचना विभागको डाइरेक्टर भएर “मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या’छ” भन्ने गीत लेख्‍ने । यो त विद्रोही हो । आजको व्यवस्थामा मान्छेहरु मुटुमाथि ढुङ्गा राखेर हाँसीराख्या’छन् भन्ने यसलाई फाँसी हुनुपर्छ । कोही सामान्य मान्छे भए दण्ड, जरिवानाको कुरा हुन्थ्यो । सरकारी जागिर खाएर यस्तो गीत लेख्नेलाई फाँसी नै दिनुपर्छ । यस्तो व्यहोराको बिन्तीपत्र गएछ ।

    त्यसबेला रेडियो नेपालमा तीर्थराज तुलाधर सचिव हुनुहुन्थ्यो । फत्तेप्रसाद शाह डाइरेक्टर हुनुहुन्थ्यो । गीतको विषयमा जाँच कमिटी नै बसेछ । कमिटीले त्यो त्यस्तो आपत्तिजनक छैन भन्ने निर्णय गरेछ । गीतकारलाई फाँसी नै दिनुपर्ने कारण छैन भनेपछि बल्ल त्यो गीत बज्न थाल्यो । र, त्यही गीतले मलाई धेरै लोकप्रिय बनायो ।

    (वरिष्ठ गीतकार कालीप्रसाद रिजालले स्वर सम्राट स्व. नारायण गोपालको बारेमा व्यक्त गरेको संस्मरणको सम्पादित अंश)


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस