• जीवनशैली | Jiwanshaili
  • शाहरुख खानको कम्पनीले किन्यो ‘प्रेम गीत ३’


    नेपाली चलचित्र ‘प्रेम गीत ३’ हालै भारतीय चलचित्र निर्माण कम्पनीले किनेको छ । उक्त चलचित्र भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लीजमार्फत भारतभर प्रदर्शन हुने गरी साउथ इण्डियन एक निर्माताले किनेको स्रोतले जनाएको छ ।

    यो चलचित्र ५ करोड भारतीय रुपैयाँ ‘आठ करोड नेपाली रुपैयाँ’मा शाहरुख खानको कम्पनी रेड चिल्लीजले भारतभरका हलमा प्रदर्शनका लागि जिम्मा लिएको छ । सन्तोष सेन र चलचित्रका अभिनेता प्रदिप खड्काले पुस १३ गते मात्रै मुम्बईमा यस विषयमा हस्ताक्षर समेत गरेका छन् ।

    अब यो चलचित्र प्रदर्शन हुँदा बलिउड र नेपालका हलमा एकसाथ प्रदर्शन हुनेछ । तथापी यो चलचित्र रेड चिल्लीजमार्फत प्रदर्शन भयो भने यसको डिजिटल राइट्स भने ओएसआरबाट फुत्किनेछ ।

    सन्तोष सेन, अर्का एक निर्माता तथा ओएसआर डिजिटल मिलेर प्रेम गीत ३ निर्माण गरेका हुन् । अब भारतमा यो चलचित्र विक्री भएसँगै डिजिटल राइट्सबारे विवाद हुन सक्ने आँकलन गरिएको छ ।

    काठमाडौं र मनाङको हिउँमा खिचिएको यो चलचित्र साढे ३ करोड हाराहारी बजेट खर्च गरिएर निर्माण गरिएको हो ।

    प्रेम गीत ३ मा शिव श्रेष्ठ, सुनिल थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, प्रदिप खड्का, लक्ष्मी वर्देवा, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस