• जीवनशैली | Jiwanshaili
  • पारिजातकाे कविता: ‘मानुषी’


    तिमी जति गर्न सक्छौ
    त्यति म पनि गर्न सक्छु
    तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
    पसिना बगाउन सक्छु
    तिम्रा सबै अनुभूतिहरू
    मेरा पनि अनुभूति
    तर इतिहासले आज
    कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
    तिमी त मभन्दा कोसौं अघि गइसकेछौ ।

    तिमी र म एउटै होइनौं
    एक–अर्काका पूरक मात्र हौं
    त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ
    म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
    म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
    तिमीलाई त यसो कहिल्यै भएन,
    तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
    तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
    तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
    तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन

    हो, म तिमीबिना आमा बन्न सक्तिनँ
    तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
    तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
    त्यो मेरो, नितान्त… मेरो अनुभूति हो

    तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
    तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
    तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
    तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
    आजको सत्तारूढ तिमी
    शताब्दी–शताब्दीअघि
    झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
    माया र सह–अस्तित्वको अँगालोमा बाँधी
    आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
    जसरी आज तिमी
    दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
    पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ ।

    त्यसैले तिमी यति विमुख न हौ
    यति निर्दयी नबन,
    यति बैगुनी न हौ,
    तिमी मेरो उत्पीडन बुझ्दैनौ
    म तिम्रो उत्पीडन बुझ्छु
    आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं
    हामी मानसिकताले एकाकार हौं
    हामी एक–अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
    म तिम्रो हात दह्रो गरी समाउँछु
    तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
    त्यहाँ, जहाँ तिमीलाई मैले
    सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस