शोकीको ‘उषाको प्रभात’मा स्वदेशमै काम गर्ने सन्देश
“भाँडोभरि पानी आउँछ सागरमै लिए पनि, अन्धकारै रहने गर्छ लाखौँ तारा चम्के पनि” । साहित्यकार अशोक शोकीको ‘उषाको प्रभात’ नामक गीतिनाटक कृतिका यी हरफले आफूसँग जति क्षमता छ त्यतिमात्र प्राप्त हुने हुँदा आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
उषाको प्रभातमा ‘उषाको प्रभात’ र ‘भाइटीका’ नाटक रहेका छन् । माथिका हरफहरु भाइटीका नामक गीति नाटकबाट लिइएको हो । भाइटीका निम्नवर्गीय परिवारको आर्थिक सङ्कटलाई विषयवस्तु बनाइएको छ । आर्थिक समस्या समाधानका लागि परदेश जाने निर्णय गरेको नाटकको प्रमुख पात्र श्यामलालले धन कमाउनका लागि सङ्घर्ष गर्नुपरेको कुरालाई केन्द्रबिन्दु बनाइएको छ । धनबिना जीवन सहज नहुने तर्कमा श्यामलालकी पत्नी शोभाले उक्त हरफहरु बताएकी हुन् ।
गीति नाटककमा धन कमाउन विदेश जाने र स्वदेशमै श्रम गर्ने भन्ने मतका बीचमा द्वन्द्वको सिर्जना भएको विषयवस्तु मुख्य केन्द्रमा रहेको देखिन्छ । नाटकको शुरुदेखि नै स्वदेशमै काम गर्न सुझाएकी पत्नी शोभाको सल्लाहलाई बेवास्ता गरेर धन कमाउन विदेश गएको श्यामलाल ठगीमा परेर फर्किएपछि नाटक समाप्त भएको छ । छोरा सुजन र आमा शोभाले आफ्नै ठाउँमा दयालु मानिसको साथ पाएर तत्कालको गुजारा चलाउन सक्छन् तर, धेरै आशा बोकेर गएका बाबु श्यामलाल विदेशबाट रित्तै फर्किएको घटनाले स्वदेशमै काम गर्नुपर्ने सन्देश नाटकले दिएको छ । नौ दृश्यमा संरचित नाटक तत्कालको समस्या भोकको बेला खाना र भाइटीकाको सामग्री जुटाउने समाधानमा केन्द्रित देखिन्छ ।
‘उषाको प्रभात’ नामक गीति नाटकमा असमान वर्गका युवायुवतीको प्रेमलाई विषयवस्तु बनाइएको छ । जम्मा दुई दृश्यमा संरचित प्रस्तुत नाटकमा पात्रको आन्तारिक द्वन्द्वलाई सङ्केत गरिएको आत्मालापमा आधारित एकल गीतबाट भएको छ । साथै, नयाँ युवा पुस्ताको स्वतन्त्र निर्णयको समर्थन र श्रमप्रतिको विश्वासको प्रस्तुतिले यो आदर्शवादी परिणतिमा टुङ्गिएको छ ।
उक्त गीति नाटक ग्रामीण परिवेशमा केन्द्रित छ । पात्रको चरित्रलाई हेर्दा परिस्थितिले निर्माण गरेकाजस्ता देखिन्छन् । संवादमा समकालीन समाजका विकृति र यौनहिंसाको पनि संकेत गरिएको छ । विसं २०२३ चैत ३० गते कीर्तिपुरको भाजाङ्गाल–७ मा जन्मिएकि साहित्यकार शोकीले हालसम्म आठवटा कृति प्रकाशन गरिसकेकि छन् । त्यसमा ‘देश मेरो’ पुस्तक–२०६२ (कविता), ‘मनको यात्राः अविश्रान्त पाइला’–२०७३ (दर्शन), ‘कमल यसरी चिप्लियो’–२०७३ (कविता), ‘जि धेधेय् चुल’–२०७६ (नेपाल भाषोको कविता), ‘कसलाई आफ्नो भन्ने ’–२०७६ (निबन्धसङ्ग्रह), ‘पालुवाको बैस–२०७६ (कवितासङ्ग्रह) र ‘उषाको प्रभात’–२०७६ (गीतिनाटक) रहेका छन् ।
वरिष्ठ सङ्गीतकार स्व अमर गुरुङको प्रेरणाबाट साहित्यकार शोकीले साहित्य यात्रालाई रोजे । “अमर गुरुङले मलाई निकै प्रेरणा दिन्थे”, साहित्यकार शोकीले थपे “त्यही प्रेरणाले मैले आत्मैदेखि लेख्न थाले, संस्कृतिविद् सत्यमोहन जोशी, कलाकार निर शाहले पनि मलाई साहित्यको कोशेढुङ्गाको उपमा दिएको थियो ।”
उनका कवितामा प्रेम र दर्शन बढी दखिन्छन् । मानिसको मनमा चेतना जगाउन सक्नु ठूलो कुरा भन्ने साहित्यकार शोकीलाई लागेको छ । “मान्छे महत्वपूर्ण जन्म हो, चेतना जगाउन सक्नुपर्छ”, उनले भने, “शक्ति, सन्तान र सम्पत्ति दुःखका कारण हुन, स्वास्थ्य र मन ठीक भएमात्र शान्ति मिल्छ ।”
शोकीको ‘उषाको प्रभात’ नामक गीति नाटकमा शुरुमा लेखिएका हरफ श्यामलालकी पत्नी शोभाको प्रश्नमा श्यामलाले यसरी उत्तर दिएका छन्, “प्रत्यन्नबिना भेटिन्न रत्न धनबिना जीवन, कर्म गरेर मर्म हटाए पछुतो हुँदैन।”
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस