कहाँ पुग्यो प्रधानमन्त्रीको रेल सपना ?
२०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा तथा २०७४ को संसदीय निर्वाचनताका केपी शर्मा ओलीले सबैभन्दा धेरै बोलेको विषय थियो, रेल ।
उनले केरुङ–काठमाडौं तथा रक्सौलदेखि काठमाडौंसम्म रेल आइपुग्ने उद्घोष बारम्बार गरेका थिए । तर आफ्नो कार्यकालको तीन वर्ष पुरा भइसक्दा पनि रेल आइपुग्ने त के कतिपय आयोजनाको डिपिआर र लिकसमेत जडान गरिएको छैन ।
यता जनकपुरमा किनेर ल्याइएको रेल पनि त्रिपाल ओढाएर राखिएको छ । चीन र भारततर्फबाटमात्र होइन २०७५ भदौमा काठमाडौं–पोखरा रेल चल्छ भनेर प्रधानमन्त्री ओलीले भाषण गरेका थिए ।
प्रधानमन्त्रीले आफूलाई जुनबेला मन लाग्यो त्यहीबेला जुनसुकै ठाउँमा रेल चल्ने बताउँदै आएका छन् । तर, आजसम्म जनकपुर–जयनगर लिकमा बाहेक कहीँ पनि रेल चलेको छैन । सबै आयोजना अड्किएकाे देखिन्छ । काठमाडौंमा रेल विभाग तथा जनकपुरमा रेलवे कम्पनी खोलेर सरकारले करिब दुई सय कर्मचारी रेलकै लागिमात्र छुट्याएको छ ।
के हुँदैछ भारततर्फको रेल ?
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल २०७७ असोजमा जनकपुर आइपुगेका थिए ।

भारतीय सरकारी कम्पनी कोङ्कण रेल्वेज्मार्फत किनिएका दुईवटा रेल जनकपुर ल्याइएको थियो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ भने रेल सञ्चालनको जिम्मेवारी बोकेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया समेत अघि बढाइसकेको थियो ।
यही रेल उद्घाटन गर्न छिट्टै आउँछु भन्दै प्रधानमन्त्रीले पछिल्ला तीन महिना भाषण गर्दै आएका छन् ।
जनकपूरको रेलमार्ग नेपालमा पहिलो पटक बनेको रेलमार्ग भने होइन । तत्कालीन राजा महेन्द्रको समयमै जनकपुर जयनगर रेल चल्ने गथ्र्यो । यसबाहेक वीरगञ्जबाट रक्सौल तथा बारासम्म चन्द्रशमशेरकै पालामा रेल चलेको इतिहास छ ।
यसबाहेक २०७४ मा काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘काठमाडौं–रक्सौल विद्युतीय रेल’ सेवाको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
यसपछि नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । डिपिआर गर्ने टोली आउने चर्चा २०७७ भदौमा भएपनि अझै डिपिआर हुन सकेको छैन ।
डीपीआरका लागि सिफारिस गरिएको १३५ किमिको विकल्पअन्तर्गत करिब ४२ किमि सुरुङ मार्ग हुने बताइएको छ । यो रेलमार्ग वीरगन्जको सुक्खा बन्दरगाहबाट सुरु भएर जितपुर हुँदै निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको छेउ भएर काठमाडौंतर्फ ल्याउने योजना छ ।
काठमाडौं–रक्सौल रेल निर्माण कार्य कागजी योजनामा बाहेक अगाडि बढ्न सकेको छैन ।
चीनतर्फको रेल
२०७५ असार ७ गते नेपाल र चीनबीच केरूङ–काठमाडौंमा इलेक्ट्रिक कार्गो रेल सञ्चालन गर्ने समझदारी भएको थियो । प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारीका चौथो बुँदामा रेल समेटिएको छ ।
चीनसँग उक्त समझदारी हुने बेला चिनियाँ पक्षले यो रेलमार्गको प्रारम्भिक अध्ययन सकिसकेको थियो । त्यही वर्षको जेठमा चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारीले एक साता लामो स्थलगत अध्ययन गरेका थिए ।

उनीहरूले २०७५ भदौ ४ गते उक्त प्रारम्भिक अध्ययनको प्रतिवेदन नेपाली पक्षलाई दिएका थिए । त्यसपछि भौतिक पूर्वाधार मन्त्रालय र चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारीबीच सियान सहरमा रेलमार्गको प्रारम्भिक अध्ययनबारे पटकपटक बैठकसमेत भइसकेको छ ।
प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२ दशमलब २५ किलोमिटर लामो रेलमार्गमा २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने उल्लेख गरिएको थियो । त्यो रिपोर्टपछि भने केरूङ–काठमाडौं रेलको काम खासै अघि बढेको छैन । अहिलेसम्म अध्ययनमा भएको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोर्दै आएको छ ।
यद्यपि, चीनतर्फका रेलका सम्पूर्ण योजना अलपत्र परेको देखिन्छ ।
के गर्दैछ रेल विभाग ?
काठमाडौंमा यातायात मन्त्रालयअन्तर्गत रेल विभाग राखिएको छ भने जनकपुर जयनगरमा पनि रेलवे कम्पनीे छ । जनकपुरमा रेलवे कम्पनीमा प्रधानमन्त्री केपी ओलीका आफ्नो तर्फका मान्छे गुरु भट्टराई महाप्रबन्धक छन् ।
यता काठमाडौंको रेल विभागमा प्रमिलादेवी शाक्य महाप्रबन्धक छिन् । काठमाडैं रेल विभागले पनि २०७७ माघभित्र नै रेल सञ्चालनमा ल्याइने बताएको थियो । यता अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले गत माघमा बताएका थिए ।
उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकदुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए । उनले भनेका थिए, ‘तालिम सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।’ तर अहिले चैतको मध्य भइसक्दा पनि रेल गुडेको छैन ।
रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ ।
नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको बताइएको छ ।
दक्ष जनशक्ति नहुँदा डिपिआर, लिक निर्माण र इन्जिनियरिङतर्फ नेपाली टोली कमजोर देखिँदै आएको छ । अधिकांश रेलसम्बन्धी कार्यका लागि विदेशी प्राविधिक र योजनाकार नियुक्त गर्नु परेको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस