• जीवनशैली | Jiwanshaili
  • हाम्रै समाज र जीवनबाट कथा टिप‍ेको हुँ


    ‘अब्बा’ (२०७१) कथासंग्रहबाट चर्चामा आएका कथाकार श्याम साहको दोस्रो कथासंग्रह ‘पथेर’ शुक्रबार सार्वजनिक भयो । समाजको पीँधमा रहेका समुदाय र तीमाथि हुने दमन नै साहको कथाको मूल विषय हो। राजनीति र समाजको अविवेकी नीतिमाथि उनका कथाले धावा बोल्ने गर्छन्।
    कथाकार साहसँग नयाँ कथासंग्रह पथेर र नेपाली कथाका आयाममाथि केन्द्रित रहेर जीवनशैलीले गरेको कुराकानी :

    ‘पथेर’को विशेषता के हो ?

    नेपाली समाजको विभेद, अन्यायका साथै मधेशी जनजीवनका कथाहरू पथेरमा समेटिएको छ । संग्रहका एघार थान कथा मधेशकै सेरोफेरोमा लेखिएको छ । राज्यबाट भएको उत्पीडन अनि संरचनागत विभेदको कुरा मेरा कथाका मुख्य विषय हुन् । सबै कथा हाम्रै समाज र जीवनबाट लिएको छु ।

    तपाईंका कथामा  शोषण, त्रास र दलनको यथार्थ चित्रण पाइन्छ। के आजको समय यस्तै भयावह छ ?

    जुन देश, समाज र समयमा हामी बसेका छौँ, यो कालखण्डमा कसैले कसैमाथि दलन गरिरहेकै छ। विश्व परिवेशकै कुरा गर्ने हो भने, जहाँ पनि विभेद व्याप्त छ। एक देशले अर्को देशमाथि दमन गरिहेको छ। अन्तरदेशीय दलन, श्रम र पुँजीमाथि टेकेर गरिएको छ। शोषणको प्रकृति फरक–फरक होला तर अहिले हामी बाँचिरहेको समाजको जुनसुकै तहमा वर्ग, विभेद र विसंगति छ। यसैले मेरो कथामा त्यसको प्रतिविम्ब आउनु कुनै नौलो कुरा होइन।

    विश्वलाई अर्थ र स्रोतका आधारमा विकसित र अविकसित भनेर छुट्याइएको छ। हाम्रो देशको परिवेशमा दमन र शोषण जात, भाषा, धर्म र क्षेत्रका आधारमा हुने गरेको छ। जसलाई संविधानले पनि सम्बोधन गरिसकेको छ। संविधानले किटानै गरिसक्दा पनि देशभित्र विविध कारणले ‘कोर र पेरिफेरी’ निर्माण भइरहेको छ। जसकारण शोषण केही घटे पनि यथावत् नै छ।

    तपाईंका कथामा राज्यपक्षका आतंक बढी देखिन्छन्। राज्यले मधेशमाथि गरेको विभेदको बोध भएपछि लेख्नुभएको हो ?

    मेरा कथामा मधेश मात्र छैन। तर, म जुन समाजमा हुर्किएँ, त्यो परिवेश मधेशको थियो। जहाँ भाषा, रङ, पोशाकका आधारमा लामो समयदेखि शोषण चल्दै आएको छ। त्यो विभेद मै आफैँले पनि भोगेका कारण मेरा कथामा मधेशका दमन कुनै न कुनै रूपमा पोखिएका छन्।

    कथामार्फत गरिने राजनीति कस्तो हुन्छ ?

    आन्दोलन दुई किसिमले गरिन्छ। एउटा राजनीतिक लहरबाट, अर्को चेतनाबाट। जुनसुकै आन्दोलनमा पनि भीड हुन्छ। तर, केही आन्दोलन यस्ता हुन्छन्, जहाँ मानिस आफ्नै चेतनाले डोर्याएर त्यसपट्टि लाग्छन्। त्यो सांस्कृतिक चेत, साहित्यिक लगायतका समस्त वैचारिक एवम् विविध चेतना निर्माणले मात्र हुन्छ। नत्र, मानिस त्यसै आन्दोलनमा प्रेरित हुँदैन।

    साहित्य र पठनले मानिसलाई बिस्तारै जागरुक बनाउँछ। तर, त्यसका लागि समय लाग्छ। आखिर चेतनाले नै आन्दोलन र क्रान्तिको मार्ग निर्माण गर्छ, जसले सत्ता र शासकलाई पनि झुक्न बाध्य तुल्याउँछ।

    कथा तपाईँका निम्ति के हो ? अनुभूति, शक्ति वा जीवनको प्रतिविम्ब ?

    कथा मेरो समाज र समय चिनाउने एउटा माध्यम हो। हामीले भोगेका सुखदुःख, विभेद, त्यसका स्वरूप र समयलाई चित्रण गर्नु मेरा लागि कथा हो।

    प्रायः तपार्ईंका कथा र कथाका प्लटमा सिराहाको गोलबजार क्षेत्रलाई चित्रण गरिएको हुन्छ। फ्ल्यासब्याकलाई समातेर कथा लेख्ने शैलीका कारण यस्तो भएको हो ?

    यो प्रतिविम्बको कुरा न हो। सानैदेखि मैले रुसी र हिन्दी कथा बढी पढेँ। त्यसकै प्रभावमा सामाजिक यथार्थ भएका कथाले आकर्षित गर्न थाले। सम्पूर्ण मधेशको परिवेश र म हुर्किएको परिवेश लगभग उस्तै–उस्तै छ। मधेशमा भएका असमानता र भोगाइ नै मेरा कथाका मूल विषयवस्तु बन्न पुगेका छन्। यस अर्थमा मैले सिराहा वा गोलबजार बोल्नु भनेको समस्त मधेश बोल्नु हो। मेरा कथामा म स्वयं पनि त कुनै न कुनै स्वरूपमा प्रतिविम्बित भएको हुन्छु होला !

    विभेदको अन्त्य सम्भव छ ?

    विभेद समाजिक प्रक्रिया हो। क्रान्तिका बखत केही कुरा उग्र लाग्न सक्छन्। तर, परिर्वतनको बेला क्रान्तिको जस्तो अपेक्षाकृत नतिजा नदेखिन सक्छ। यसले हामीलाई निराश बनाउन सक्छ। तर, क्रान्तिपछि भएको परिर्वतनलाई संस्थागत गर्दै अर्को क्रान्तिको तयारी गर्ने अटुट क्रममा नै यो संसार घुमिरहेको छ। अनि, विभेदको स्वरूप र तह फरक–फरक हुन सक्छन्।

    तसर्थ, यसको अन्त्य क्रमिक र तहगत रूपमा हुँदै जान्छ। आकस्मिक रूपमा विभेद अन्त्य हुन सम्भव छैन।

    (कथासंग्रह ‘पथेर’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो)

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस