राहत जिन्दगी
बेलुकीपखको समय थियो । सारा चराचुरुङ्गी आ–आफ्नो बासमा जाँदै थिए । भुँडि पुटुक्क पारी गुँडमा पुगेकाहरू माया–प्रिती गाँस्दै थिए । भीम यही दृश्य हेरेर सोच्दै थियो । यिनका वास त भुकम्पले पनि केही गर्दैन । हिजोकै भावना छ, तंरग छ र गति छ ।
सारसका जोडी, ढुकुरका जोडी गुँडमा पसे । भीमेले एकोहोरिएर हेरिरह्यो । आफ्नो भर्खर विवाह गरेकी ललितालाई सझ्यो । हिजोको कोठा, खाट, ओछ्यान, सिरक साथै सिरकभित्र सँगै लुटुपुटिएको ललितालाई र आफुलाई देख्यो । ललितासँग आफुले खेलेका सृष्टिका खेल सम्झेर लालायित भयो ।
ऊ भावविह्वल भयो । हिजो र आजको अवस्था दिमागमा नाच्न थाल्यो । सँगै सुत्न त के कुरा बास बस्न ठाउँ पनि नपाउँदा दुखित भयो । नजिकबाट परेवाका जोडी हुर्र उडेर गुडमा पसे । भीमेको तन्द्रा परिवर्तन भयो र प्याच्च भन्यो, ‘ऊ परेवाको जोडी गुडतिर लागे बरु तिनीहरु कै संसार छ । हाम्रो त बेहाल भयो ।’
बुढा बालाई कता सुताउने । आमालाई कता ? भाइहरु कता, बहिनीहरु कता ? आफ्नो जोडिको त कुरै छैन । भिमेले कुरा लम्ब्याउँदै थियो । उताबाट रनेले डाँकको बोली बोल्दियो अरु पालमा सुत्छन् । तिमी दुईजना गराको कुनातिर जाओ ।
रनेको कुरा सुनेर भीमेलाई लाटो रिस उठ्यो । झम्टियो– ‘त्यत्तिकै बजियाहरु आ–आफै मलार्न भन्ने डर’ भन्दै च्यान्टेले छुट्यायो । च्यान्टेले टहरैमा भनेपनि पुरानो टि.भी जोडको थियो । भुकम्पमा अगाडीको सिसा फुटेको टिभीतिर देखाउँदै रनेलाई भन्यो, ‘सुन टिभिले के भन्दै छ? । रनेले भन्यो कहाँ हो ? राहात बाँढ्दै छन् । भीमेले थप्यो, सुन् , बुझ् अनि भन् । बुझ्दैन वजियाले । हल्लामात्र गर्छ । अर्कालाई हेप्न मात्र जानेको छ ।
च्यान्टेले भन्यो, हिजो हर्रोबोटे चौरमा युएसएआइडिका टाटहरु बाँड्दै गर्दा, जुनीबहादुरलाई पिटुँपिटुँ लागेको थियो । कहाँ कहाँबाट दाताहरुले पिडितले पाउन भनी पठाएका छन् । चोर त आफ्नै बाउको झै गर्छ बा । उस्का भन्नेहरुलाई फताफट झिक्दै दिँदै गरेको छु । अरुलाई त भीकारी जस्तो पो गर्यो त । रनेले कपाल कन्याउँदै भन्यो । “मलाई पनि कम्ति भएको थिएन । फेरी च्यान्टुले भन्यो तिमीले ख्याल गर्देउ ।
चिने गएका मास्टर बाबु सर जुगै दमैसँग एउटा टाट तानातान गर्दै थिए । जुगेँ दमै बालियो के सक्थे मास्टर बाबुले । लत्याएर लग्यो बाबै मास्टर बाबु त निलो भए । पर गएर एक्लै टुसुक्क बसे । घोसे मुन्टो लगाएर । हिजोसम्म उन्को हलो नभए भुडि भरिदैन्थ्यो । उनकै बुढिको जडौरी नभए स्वास्नीको आँङ छोप्ने उपाय थिएन । बजियाको आज ठाउँ पाको धकेल्दिएछ । रनेले सही थाप्दै भन्यो अरुसँग तानातान गरेको भा पनि हुन्थ्यो डाँकाले । ती मास्टर बाबुलाई कति आफ्ट्यारो भयो होला, विचरा के गरुन् त ? किनेर पनि नपाइने ।

पैसा पनि खोष्टा भएको बेला घरमा बुढा बाबु आमा, सुत्केरी श्रीमति, ओतलाग्न टाट नभै भा थेन । तर कस्ले बुझ्ने मर्म । सबैलाई आफैलाई पहिला चाहिएको छ । फेरी जस्को बल उसैले पाउने । मलाई त साह्रै खल्लो लाग्यो । वर्मेलीले त चारपाँच वटा टाट जम्मा गरिसकेको छ रे । हिजो पिपलटारबाट पनि ल्याएको रे । राहत बाँडेको थाहा पाएपछि जँहा पनि पुग्छ रे । कम्बल मात्रै पाँच वटा जम्मा गरेको छ रे । भिमेले भन्यो चामल त तीनचार थैला बनाएको छरे ।
यतिकैमा च्यान्टेले भन्यो, ‘ वर्षा भरीलाई पुर्यायो मोराले । बलियो पनि छ । डरलाग्दो पनि छ । खाइलाग्दो पनि छ । अब त्यस्तैका त दिन आएनि बाबै ।’ रनेले आक्रोश पोख्यो “जम्मा गरेर बजियाले मोर्दा सँगै लान्छ । रनेले भन्यो भोली भोर्ले बेसीमा राहातका सामान दाल, चामल, नून, तेल भाँडा, बर्तन बाडँ्ने रे । हामी जाऔ भिमेले प्रफुल्ल मुद्रामा भन्यो जाऊँ जाऊँ अलि वल बाँधेर जानुप¥यो । च्यान्टेले भन्यो नहुनी काम त गर्न हुन्न । रनेले आफ्नो स्वभाव खोल्यो ‘केको जवरजस्ति नगरे त केही हात लाग्दैन । उही मास्टर झै न्याउरो भई लुरुक्क रित्तै फर्कनुपर्छ । सँगै जाने, दश बजेतिर यही जम्मा भएर जाने ल ।
तीनैजना मनमा आशाका बोरा लिएर भोर्ले बेसी पुगे । मान्छेहरु खचाखच भैसकेका रहेछन् । रने भिमेले मुखा मुख गरे । भिमेले रनेको रनेले भिमेको अनुहारका भाव पढे । दुवैले एउटै अर्थ बुझे । शिकार हात लाग्ला जस्तो छैन । च्यान्टेलाई भने खासै प्रभाव परेको थिएन । उस्को मान्यताका खासै चोटपनि परेको थिएन । विदेशी संस्थाले राहात बाड्दै थियो । मानिसहरुको लाम डरलाग्दो थियो । दाल, चामल, नुनतेल, भाडा, बर्तन, कपडाको लालचामा घाम बिर्सिएका थिए । राहत बाड्ने भद्र व्यक्तित्वहरु निस्पक्ष र पारदर्शी बनाउन प्रयासरत थिए । गाडी भरी सामान थियो । दाल, चामल, कम्बल, भाँडाबर्तन मिलाएर बाड्दै थिए । करिब आधा आधि बाडेका थिए । केही नवयुवकहरू आए सबैको आँखा त्यतै तनिए । युवाहरुले जबर्जस्ती गरे । सारा व्यवस्था भद्रागोल भयो ।
उनीहरुले सकेको लगे । सानोतिनो भएपनि राहातका समान सुम्पिउँ, दुखीपीडित, भोका–नाङ्गाहरुलाई दुखको बेला केहि खानेकुरा केहि लगाउने कपडा आफ्नै हातले दिउँ भनि खुशि खोज्न आएका थिए ती परोपकारी । तर मानवियताका हिमायती सज्जनहरु मलीन अनुहार र दुखीभावमा, दादागिरीको चरम पीडा बोकी फर्किए । च्यान्टे, रने, भिमे पनि आफ्नो बाटो लागे । च्यान्टेले रनेलाई भन्यो “बाबु आज त आफूभन्दा बलियाको फेला पारिस् । हिजो त सिंहझैँ गर्जेको थिइस् । जबरजस्ति नगरी केही पाइदैन भन्थिस् ।
आज अर्को सिंहको फेला पारिस । रनेलाई भनेको सुनेर भिमेलाई पनि दुख्यो र भन्यो दाइ बुझक्कड भएर पनि के अबुझले झै भन्नु भा । रनेले हेप्ने बोली बोल्यो “ दाजु तिमी पनि हाम्रो पछि लागे धेरैनै समान अँगालो हालौला नभए पनि केही त भेट्टाउँला भनेर आका त हौ नी । अहिले नपाएको रिस मलाई पोख्छौ । भिमेले मध्यस्तताको भावमा भुतभुताउदै भन्यो, अब आफूआफू लरौं।कागले मासुको चौटो लग्यो कुकुरहरुको लटारो । बलियाले लग्यो अव आफूआफू केको झगडा ।
च्यान्टेले कुरा बदल्दै भन्यो अब त सरकारले दाताहरुलाई राहत बाड्दा सुरक्षाकर्मि सँगै पठाउनु पर्छ । भिमेले सहि थाप्दै भन्यो । हिजो बेलुकीतिर गैरी चौतारामा छ–सात जना युवा र गाउँका केही व्यक्तिहरु भएर राहात लिएर आएको गाडि रोक्ने र माग्ने , नदिए सबैमिली जबरजस्ति गर्ने तयारीमा थिएरे । गाडि आएछ रोकेछन् । अलि रवाफ र धम्किपूर्ण छनक देखाए छन् । गाडिबाट तीनजना हतियार सहितका सेनाका जवान भकाभक हामफालेछन् । र सोधेछन्, किन गाडि रोक्नु भयो ? अनि अलि डराउँदै कुरामिलाए छन् “हामीहरुको यहाँ एकपटक पनि राहात बाँडिएको छैन । राहत किन अन्त मात्र ? हामीलाई पनि दिनुहोस् भनि रोकेको भनेछन । पछाडिपट्टिको अर्कोले थपेछ, यो सामान हामीलाई, हामी पनि भूकम्प पिडित हौ । अरुलाई अर्को पटक ल्याइ दिनुस। “यो समान थुमिको लागि हो । त्यहाँ कुरा भैसकेको छ । गाउँले राहतको लागि लाइन लागि उभिइरहेका छन् हामीलाई नरोक्नुस् भनी अगाडि बढेर गएछन । विचराहरु हेरेको हेरै भएछन् ।
तिनैजना हिड्दै थिए । बेलुकिपख हुदै थियो । च्यान्टे गम्भिर थियो । एउटा प्लास्टिकको झोलामा चार मुठी चामल तेलराख्ने रित्तो बट्टा जाँदाजादै अँगालो हाल्न आउने तीन छोरी खाल्तिछाम्न आउने छोरो सझ्यो । खल्तिका हात पुग्यो रित्तो खल्तिमा स्वात हात पस्यो । हात सँगै ऊ झसंग भयो । बेलुका के खाने ? के खुवाउने ? उस्को नजरमा बाबाको चाउरीपरेको अनुहार गुजुमुजभएको सेतै कपाल । आशाहराएको अनुहार संझियो । दयाभाव पलायो । छोराको कर्तव्यले प्रश्न गर्यो । आमाले ऐया बाबु भनेका आवाज कानमा गुन्जियो ।सानो छोरो छोडेर बुढी काम गर्न गइहोलिन छोरोले त्यही आथि गर्दौ हो ।
आफू दिनभरी फुस्सामा घुमियो । भिमे र रने उता आफ्नै कुरामा मस्त थिए । उता कुरा सकिएको बेला भिमेले जिस्काउँदै भन्यो । च्यान्टेदाई भाउजुलाई संझियो कि के हो ? गम खाएका छौ त । च्यान्टे झल्यास्स भयो । र भन्यो चार छोराछोरीको बाबुलाई के गिज्याएको बजियाले । भिमेले तुरुन्तै थप्यो “मान्छे बुढो भए पनि मन पनि भए पनि मन बुढो हुदैन रे नि” भिमेले संझाइ दिए झै च्यान्टेले श्रीमतिको लामो बाटेको कपाल बाटुलो अनुहार, लोभलाग्दा चन्चल आँखा, रसिलो भरिलो पुष्ट शरीर संझियो ।
उस्मा यौवन रस उत्पन्न भयो । सम्पुर्ण शरीरका उर्जा थपियो । काम वासनाले ललायित बनायो । उनको ममतापूर्ण व्यवहार दिमागभरी सलबलायो । माया जाग्यो । विचारी मेरो घरमा आय पछि दुख नगरी एक पेट खान पाएकी छैन । बरु उसैले पालेकी छे । सगँैका साथीहरु गाडिमा गुडेपनि, महलमा पनि मलाई केही भनेकी छैन । उस्का मनमा पनि सुख सयलको काममा हुदो हो । आफूले पनि कुनै सरकारी जागिर खान सकिएन । फेरी भुकम्पले विल्लिबाठ बनायो । कहिलै मुन्ठो उठाउन सकिने भएन । साह्रै इमान्दार पवित्र, सरल छे विचरी तर सुखका दिन भने फिर्ने भएनन् । एक समस्या माथि अर्को थपिन्छ । जिन्दगीमा। भिमेले दाजुहरु आज मेरै घरमा बसौ भन्यो । भिमे आफ्नो घर तर्फ लाग्यो च्यान्टे र रने पनि आफ्ना घर तर्फ लागे ।
पर्सि पल्ट च्यान्टे घरमा काम गर्दै थियो । थुम्के चौतारामा राहात बाड्दै गरेको कुरा थाहा पाएर हस्याङ फस्याङ गर्दै हिड्यो । फाटेकै कट्टु थियो । सिलाएकै चप्पल थियो । टाउँकामा फाटेको टोपीे पनि उन्न भ्याएनन् । उही अतृंप्त मन , आशा हराएको अनुहार, तानामाना खेलाउँदै उकालो लाग्यो । बाटामा कसैलाई देखेन, भेटेन । मन मनै रने भिमेलाई गालि गर्थ्यो । जता जाँदा पनि बोलाउथे आज वास्तै नगरि हिँडेछन् । स्वार्थी डाकाहरु । उनीहरु सुटुक्क गएकोले ठुलै राहात रहेछ जस्तो लाग्यो उसलाई । उकालो बाटो, टन्टलापुर घामको राप, शरीरभरिको पसिना पनि ख्याल गरेन । आशाका तरंगहरु कर्कलाको पातमा पानी झै जम्मा हुन्थे । अलिकता जम्मा भएपछि ह्वात्त पोखिन्थे ।
धेरै उकालो हिँडेपछि बाटामा भिमेकी श्रीमति भेट भइन् । खुब आतुरसाथ सोधे, नानी भाइ कता गए ? उनले उत्तर दिइन्, ‘थुम्के चौतारामा ।’ कौतुहलका साथ फेरी सोध्यो “कस्ले बाँड्नेरे राहात“?“एक महिना पहिलै नाम टिपाएउनेले पाउने रे । तपाईको नाम टिपिएको छ ? गाउँका मुखियाले टियाएका थिएरे नि“?उनले छिटोछिटो उत्तर दिईन । च्यान्टेको अनुहार स्वतै सोरियो । खुट्टा फ्यात्तै गले ।शरीरबाट उर्जा कसैले झिकेर लगेजस्तो भयो । केही उत्तर दिन, अरु सोद्न छोडेर खुरुक्क उकालो लागे ।
उसको आशाको तृण परालझै सुकेको थियो । उसको भावमा खडेरी परेको थियो । मन भिजाउने पानि कतै भेटेन । खुट्टा लतार्दै थुम्के चौतारामा पुग्यो । गाउँका धेरै जसो जम्मा भएका थिए । गरीबमात्र पनि थिएनन् । धनिमात्र पनि थिएनन् । पाउनुपर्ने भन्दा आफ्ना भन्नेहरु छनौट भएका रहेछन । बीस–बीस हजार बुझ्दै गरेको देख्दा उस्को आँखा रसाए, मन काल्प्यो तर के गर्ने उस्को नाम थिएन ।
लाइनकाले पैसा बुझ्दै थिए । एक अति धनि दयासागरले दयाको धारोमा पानी पिलाउँदै थिए । अर्को तिरकाले ठूलोठुलो स्वरमा कराउँदै थिए । हल्लागर्दै थिए । विस्तारै पाउने भन्दा नपाउने धेरै भए । केही बुझक्कडले हामीले नपाए पनि अरुले पाएकोमा खुसि छौ भन्दै आदर्श भाव पोख्दै थिए । केही उदण्ड युवाहरु कि हामीलाई पनि देउ कि कसैलाई नदेउ भनि उफ्रिन थाले । सारा लाइन भताभुङ्ग भयो । हात हालाहाल हुनथाल्यो ।
बुढाबुढि, महिला, केटाकेटी जीउजोगाउन पाखालागे । लडाइ भयो । दातालाई अचम्म लाग्यो । ग्लानी भयो । हामीसँग पैसा सकियो । तपाईहरु लाइन मिलाउनुहोस् मिल्नुहोस् हामी बैङ्कबाट पैसा झिकेर ल्याउँछौ भनी गाडिमा हिँडेका हिड्यै भए । रने र भिमेको पैसा हात पारी सकेछन् तर च्यान्टेले पाएन । च्यान्टे दुखित मुद्रामा घर फर्किए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस