• जीवनशैली | Jiwanshaili
  • शहरमा माग बढेपछि किसानहरु कोदोखेती तर्फ आकर्षित


    तीन दशक यता ग्रामीण क्षेत्रमा चालमको मात्र भात खानुपर्छ धारणा विकसित हुँदै गएपछि लोप हुँदै गएको कोदो खेती पछिल्लो समय बढ्दै छ। सिँचाइको व्यवस्था नभएको सुक्खा क्षेत्रमा हुने कोदो खेती गर्ने किसानहरु बढ्दै गएका छन्। खाद्य संस्कृतिमा चामलको भातले व्यापकता पाएको छ। अन्य खाद्यान्न बालीलाई हेला गर्ने, त्यस्ता बालीको खेती नगर्ने, खेती गर्नेले पनि मादक पदार्थ बनाउन वा नगदेबालीको रूपमा त्यसको उपयोग गर्न कोदो खेती गरिन्थ्यो। तर, पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै गएको छ। सहरमा कोदोमा माग बढ्दै गएपछि किसानले पनि मूल्य राम्रै पाउन थालेका छन्। ‘पहिला पहिला कोदोबाट बनेका परिकार खानेहरु गरिब हुन्छन् भन्ने मान्यता थियो, कोदो खेती गर्नेहरु पनि मादक पदार्थ बनाउनेलाई मात्र बिक्री गर्दथ्ये,’ उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोदो रोप्न हलो जोत्दै गरेका यादव राईले भने, ‘अहिले त कोदो किन्न सहरका ठूला व्यापारीहरु पनि आउने गर्दछन्। राम्रो पैसा दिएर पनि खरिद गरेर लाने गरेका छन्।’ सरकारले पनि खाद्यान्न अपुग हुने स्थानमा राहतका लागि चामलबाहेक अन्य बालीको खाद्यान्न पठाउँदैन। नियमितरूपमा खाद्य संकट उत्पन्न हुने स्थानका बासिन्दाहरू पनि आफ्नो स्थानमा उब्जनी हुने खाद्यान्न बालीहरूको खेती नगरी सधैं सरकारले पठाउने चामलको बाटो हेरेर बस्थ्ये। कोदोलाई कुअन्न भन्ने चलन छ। नेपालको तराई वा सिंचाइ पुगेको सीमित क्षेत्रमा मात्र उब्जनी हुने धानकै चामललाई मात्र खाद्यान्न भनिन्छ। त्यसैले कोदो खेती हराउँदै गएको थियो। तर, अन्य खाद्यान्नभन्दा कोदोमा धेरै गुण भएको थाहा पाएपछि यसको माग बढ्दै गएको छ। जसको कारण कोदो खेती पनि बढ्दै गएको छ। अन्य बालीभन्दा कोदीमा बढी पौष्टिक तत्व पाइन्छ। कोदोमा पाइने पौष्टिक पदार्थ र यसका औषधीय गुणहरूको प्रचारप्रसार भएपछि कोदोको खेती बढेको मयाँखुका शिक्षक तोकबहादुर श्रेष्ठ बताउँछन्।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस