ब्रान्डिङ गरिएका खानेकुरामा भर पर्नसक्ने अवस्था छैन
पछिल्लो समय आधुनिक शहरी जीवनशैली आफैमा स्वास्थ्य समस्याको कारक बनेको छ । असन्तुलीत खानपानका कारण धेरै रोगहरु निम्तिने गरेका छन् । यसै सन्दर्भमा डाइटिसियन सुनिता ढुङ्गानासँग टीएन रेग्मीले गरेको कुराकानीको सम्पादित अंश
तपाईँ एक स्वास्थ्यकर्मी हुनुहुन्छ । तपाईँको कार्यक्षेत्र केहो?
म एक डाइटिसियन हुँ । डाइटिसियनको मुख्य काम डाइट प्लान गर्नु हो । हस्पिटलमा क्लिनिकल डाईटिसियन भनिन्छ । स्कुल हेल्थ प्रोग्राम, कर्पोरेट लेभलमा डाइटिङको काउन्सिलिङ लगायतका काम हामीले गर्दै आइरहेका छौं ।
तपाईँको दृष्टिकोणमा हाम्रो खानपान र व्यवहार कस्तो छ?
हिजोआज शहरमा बस्ने मानिसहरुमा स्वास्थ र खानपिनसम्बन्धी सचेतना बढेको पाइन्छ । जिम, फिटनेस क्लब जाने चलन बढ्दो छ । यो राम्रो पक्ष हो ।
तरपनि डाइटमा के खाने? कति मात्रामा खाने? खानामा सन्तुलन कसरी गर्ने? भन्ने विषयमा खासै सजगता अपनाएको पाइँदैन । सामान्य अवस्थामा स्वास्थ्यको ख्याल नगर्ने र बिरामी भएपछि पछुताउने परिपाटी छ ।
जिम गएपछि जेपनि खाँदा हुन्छ । कसरत गरेपछि जति मात्रामा खाएपनि हुन्छ भन्ने बुझाई छ । हामी वर्कआउट गर्छौं । तर, मस्तसँग जङ्कफुडमा रमाउँछौं ।
परम्परागत खानालाई सन्तुलित रुपमा खाने परिपाटी एकदमै कम छ । जङ्कफुडकै कारणले ‘ओबिसिटी’ बढ्ने र विभिन्न रोगहरु निम्तिने खतरा बढ्दै गइरहेको छ । अस्वस्थ खानपानले रोग निम्त्याउँछ । हाम्रो खानपानको शैली रोग निम्त्याउने खालको छ । त्यसमा उचित ध्यान पुगेको छैन ।
खानेकुराको सन्दर्भमा कुरा गर्दा के खाने? भन्दापनि कसरी र कति मात्रामा खाने भन्ने प्रश्न मुख्य हो
मोटोपना बढ्नुमा खानपिनको ७०, कसरतको २० र जीवनशैली अथवा व्यवहार र आनीबानीको १० प्रतिशत भूमिका हुन्छ । परम्परागत नेपाली खानमा सन्तुलन मिलाउने हो भने यसलाई उत्कृष्ट खानाको रुपमा पाउन सकिन्छ । शरीरलाई आवश्यक तत्वहरुको राम्रो समिश्रण हाम्रो खानामा छ ।
खानपानसँग सम्बन्धित स्वास्थ्य समस्याबारे बताईदिनुहोस् न ।
हाम्रो अनुभवमा अहिलेको परिवेशमा देखिने अधिकांश नसर्ने रोगहरुको एक प्रमुख कारण असन्तुलित खानपान हो । जङ्कफुडको कारण बच्चाहरुमा ‘ओभर वेट’मात्रै नभएर ‘अन्डर वेट’को समस्या पनि देखिएको छ । जङ्कफुडमा हाई क्यालोरी, हाई सुगर, हाई साल्ट हुन्छ । यस्तो खानाको कारण पाँच वर्षसम्मको बच्चामा अन्डर न्युट्रिसनको समस्या देखिएको छ ।
पाँच वर्षमाथिका बालबालिकाहरुमा बाल्यकालमै मोटोपना बढ्ने (चाइल्डहुड ओबिसिटी) बढी देखिन्छ । ओभरवेट र ओबिसिटीको मूल कारण नै जङ्कफुड हो । बच्चाहरुलाई जङ्कफुडको प्रयोग गर्न नदिनु स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । परिपक्व व्यक्तिहरुले समेत खानपानमा ध्यान पुर्याउन सकेमा धेरै रोगबाट बच्न सकिन्छ ।
स्वास्थ्यमा समस्या आउनुको प्रमुख कारण हामीले दैनिक खाने खाना नै हो?
हरेक पटकको खानामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरल्सको सन्तुलन हुनुपर्छ । तर, हामीकहाँ त्यो अभ्यास निकै कम छ । नेपाली खानामा कार्बोहाइड्रेडको मात्रा बढी हुन्छ । खानेकुराको सन्दर्भमा कुरा गर्दा के खाने? भन्दापनि कसरी र कति मात्रामा खाने भन्ने प्रश्न मुख्य हो । यौटा व्यक्ति सुगरको समस्या भएर हस्पिटलमा बस्दासम्म राम्रो हुने तर घरमा गएपछि समस्या बढ्ने गरेको पाइन्छ । यस्तो हुनुको कारण खानपान नै हो । हस्पिटलमा डाइटिसियनको रेखदेख हुने भएकाले खाना सन्तुलित हुन्छ । घरमा पुगेपछि त्यो सन्तुलन नहुने हुनाले सुगरको मात्रा बढ्ने गरेको देखिन्छ ।
खानपानको
कारणले नै मान्छे रोगी हुन्छ । रोग लागिसकेपछि पनि डाइट ब्यालेन्स गर्न सक्दा
राम्रो हुने र ब्यालेन्स नहुँदा झनै गाह्रो हुने गर्दछ । कतिपय व्यक्तिले
अधिकरुपमा सचेत भई खानामा कन्ट्रोल गरेको पाईन्छ । यसो गर्दा शरीरलाई आवश्यक
तत्वको कमी हुनसक्छ । खाना बढी हुनु समस्या हो र आवश्यकता भन्दा कम हुनुपनि
स्वास्थ्य समस्याको कारक हो ।
गाउँघर र शहरी क्षेत्रमा बस्ने मानिसहरुको खानपान र रहनसहन फरक छ । स्वास्थ्यको हिसाबले यसमा के फरक छ?
हामी नेपालीमध्ये गाउँघरमा बसोबास गर्नेहरु दिनभर सक्रिय हुने हुँदा जेजस्तो खाना खाएपनि पच्ने र स्वास्थ तुलनात्मक रुपमा राम्रो हुन्छ । शहरमा बस्दा खानपान र सक्रियताको तारतम्य मिल्दैन । शहरमा काम कम गर्ने, काम गर्नेहरुले पनि शारीरिक श्रम कम र टेबल वर्क बढी गर्ने गर्दछन् । कामको तरिका फरक भएपनि खानाको मात्रा र खानपानको तरिकामा भने परिवर्तन भएको पाइन्न । शहरमा बस्ने मान्छेलाई कामको लोड कम हुने, सक्रियता कम हुने, खानाको मात्रा बढी हुने, जङ्कफुड बढी मात्रामा खाने आदि कारणले स्वास्थ्य समस्या बढी देखिन्छ ।
नर्मल बिस्कुट थोरै खानु र ब्रान्डेड भनेर टन्न खानु उस्तै हाे
सामान्यतया मोटोपन बढ्नु स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन । तर, शहरमा बस्ने मानिसहरुको मुख्य समस्याको रुपमा शारीरिक निष्क्रियता र मोटोपना रहेको हुन्छ । मोटोपना बढ्नुको सोझो सम्बन्ध खानपानसँग हुन्छ । हामीकहाँ चिल्लो बढी खाएर मोटाइन्छ भन्ने गलत धारणा छ । चिल्लो पदार्थ होइन, कार्बोहाइड्रेडको मात्रा बढी हुँदा मोटोपना बढ्छ । कार्बोहाइड्रेडमा ग्लुकोज पाइन्छ । ग्लुकोज हाम्रो शरीरमा फ्याटको रुपमा डिपोजिट हुने गर्दछ । चिल्लो पदार्थ शरीरले आवश्यक मात्रामा मात्रै लिने तर कार्बोहाइड्रेडबाट प्राप्त हुने ग्लुकोज फ्याटको रुपमा शरीरमा डिपोजिट हुने हुनाले मोटोपन बढ्दछ ।
डाइबिटिज, हाइपर टेन्सन, कोलस्ट्रोलजस्ता रोग मुलतः खानपानको शैलीको कारण लाग्ने रोग हुन् । खानपानको कारणले ओबिसिटी बढ्ने र ती रोगहरु देखापर्ने हुन्छ । यी रोगहरु सुरु हुनुअघिको अवस्थालाई ‘मेटाबोलिक सिन्ड्रोम’ भनिन्छ । यस्तो अवस्थामा पेट ठूलो हुने, शरीर र तौलको अनुपात (बीएमआई) बढी देखिने, प्रेसर बढ्ने, ग्लुकोज लेभल बढ्ने आदि हुन्छ ।
मानव स्वास्थ्यमा समस्या आउनुको मुख्य समस्या नै खानपान हो । त्यसमा पनि जङ्कफुड बढी जिम्मेवार छ । बजारमा पाइने विभिन्न किसिमका जङ्कफुडमा भिटामिन, मिनरल्स इत्यादि लेखेको पाइन्छ । ती खानेकुरामा हुने टेस्ट मेकर इत्यादिको कारणले स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।
स्वस्थ जीवनशैलीको लागि खानेकुरा भन्दापनि त्यसको मात्रा महत्वपूर्ण हो भन्नुभयो । खानाको मात्राबारे स्पष्ट गरिदिनुहोस् न ।
व्यक्तिको हाइट अनुरुपको तौल हुनुपर्छ । उचाइ र तौलको आधारमा व्यक्ति अनुसार खानेकुराको आवश्यकता फरक फरक हुन्छ । सामान्यतया व्यक्तिलाई १५ देखि १८ सय क्यालोरी प्रतिदिन आवश्यक पर्दछ । व्यक्तिपिच्छे आवश्यक क्यालोरीको मात्रा फरक फरक हुन्छ । त्यसैले डाइटिसियनको सल्लाहमा दैनिक कति क्यालोरी आवश्यक पर्छ भन्ने थाहा पाउन सकिन्छ ।
हाम्रो परम्परागत खाना दाल, भात तरकारी हो । जसमा दालले मात्रै पर्याप्त प्रोटिन आपूर्ति गर्न सक्दैन । प्रोटिनको मात्रा पुर्याउनका लागि खानामा माछा, मासु वा दूध, दही हुनु आवश्यक छ । सामान्यतया हामीले कुनै दिन माछा, मासु, दूध, दहीजस्ता शक्तिवर्दक खानेकुरा प्रशस्त मात्रामा खाने र कहिलेकाहीँ एकदमै सामान्य खाना खाने गर्दछौं । यस्तो बानी राम्रो होइन । एकैपटकमा धेरै खाने वा खाँदै नखाने गर्दा आवश्यक क्यालोरी पूर्ति हुँदैन ।
परम्परागत खाना वा आधुनिक शैलीका खानेकुरा जे खाएपनि शरीरको आवश्यकता थाहा पाएर सन्तुलन मिलाउनु जरुरी छ ।
अचेल विभिन्न रोगहरुलाई जोडेर फलानो रोगीले खाने पिठो, फलानो रोगका लागि लाभदायक चिया, बिस्कुट भनेर बजारमा प्रचार गरिएको पाईन्छ । यसबारे के भन्नुहुन्छ
खानेकुरा आफैमा राम्रो, नराम्रो ठीक, बेठीक भन्ने हुँदैन । त्यसको मात्रा ख्याल गर्नु आवश्यक छ । म खानेकुरा भन्दापनि त्यसको मात्रा महत्वपूर्ण हो भन्ने कुरा पुनः दोहोर्याउन गराउनु चाहन्छु । अहिले बजारमा कतिपय खाने कुराहरु सुगर फ्री, डाइबिटिज फ्री भनेर ब्रान्डिङ गरेको पाइन्छ । त्यस्ता खाने कुरामा सामान्य प्याकिङको तुलनामा एडेड सुगर, साल्ट कम आदि कम हुने भएपनि नर्मल बिस्कुट थोरै खानु र ब्रान्डेड भनेर टन्न खानु उस्तै हुन्छ । त्यसैले व्यापारिक दृष्टिले ब्रान्डिङ गरिएका खानेकुरामा पूर्णरुपमा भर पर्न सकिने अवस्था छैन । विशेषज्ञसँग परामर्श गरी आफ्नो आवश्यकता अनुसार खानाको मात्रा सन्तुलन गर्नसके स्वस्थ जीवनयापन गर्न सकिन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
प्रतिक्रिया दिनुहोस