• जीवनशैली | Jiwanshaili
  • मातृशिशु जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम शुरु


    जाजरकोट / बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि जाजरकोट, नलगाड नगरपालिकाले विशेष लगानी गरी बहुक्षेत्रीय पोषण कार्यक्रम थालेको छ ।

    गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि नगरले यो कार्यक्रम शुरु गरेको हो । नगरभित्रका १३ वटा वडामा लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

    सरकारले दिँदै आएको सुत्केरीलाई यातायात खर्चमा नगरले रु एक हजार थपेर दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरासमेत उपलब्ध गराएको छ । कुखुरा उपलब्ध गराएसँगै औषधिसमेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जाजकारी दिनुभयो ।

    त्यस्तै करेसाबारीमा ताजा तरकारी उत्पादन गर्नका लागि बीउका साथै तालीम दिइएको उहाँले जानकारी दिनुभयो । नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलब्ध गराएको छ । नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

    ‘घरघरमा झण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरले अर्को कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवासुविधा दिन शुरु गरिएको प्रमुख रावलले जानकारी दिनुभयो ।

    स्वास्थ्य संस्था आउने बढ्दै
    नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भई सेवा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलाको सङ्ख्या वृद्धि भएको छ । दैनिक घरायसी काममा मात्र व्यस्त हुने ग्रामीण क्षेत्रका महिला अहिले सेवासुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले जानकारी दिनुभयो ।

    गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यप्रति चिन्तित हुँदै गर्भवती महिला स्वास्थ्य जाँचका लागि आउने गरेको उहाँको भनाइ छ । स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा बिस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको छ । खेतीयोग्य जमीन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलनसमेत बिस्तारै हट्दै गई करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्नेतर्फ उन्मुख भएको नलगाड नगरपालिका–८ विष्णुकुमारी खत्रीले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस