कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् । हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन् ।
कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।” भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उहाँ बताउनुहुन्छ । थापाले भन्नुभयो, “नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन ।”
कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उहाँको भनाइ छ । उहाँकाअनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालीम दिए मात्र सेवा प्रभावकारी बन्न सक्छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन् ।
इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताउनुभयो । हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उहाँको भनाइ छ । भारतमा कोरोना भाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन ।
शङ्कास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो ।
कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतको उत्तर प्रदेश सरकारले नेपालगञ्ज नाकाअन्तर्गत आफ्नो भूमिमा मेडिकल अधिकृत डा मुकिम अहमदको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । चिनियाँ नागरिकलाई लक्षित गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्माले बताउनुभयो ।
नेपालबाट भारत प्रवेश गर्ने नागरिकमा कोरोना भाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल बहराइच पु¥याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “एम्बुलेन्समार्फत बहराइच लगेर शङ्कास्पद व्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरीरको जाँच गर्ने गरी स्वास्थ्यकर्मी परिचालन भएका छौँ”, बर्माले भन्नुभयो ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस