• जीवनशैली | Jiwanshaili
  • सुन्दर बर्दीभित्र लुकेका ट्राफिक महिला प्रहरीका पीडा


    राजधानीका विभिन्न सडकहरुमा पुरुषसँगै महिला ट्राफिक प्रहरीहरु पनि जोश जांगरका साथ काम गरिरहेका देखिन्छन् । महिला ट्राफिक प्रहरीहरु ट्राफिक पोशाकमा निकै सुन्दर देखिन्छन् । जसले धेरै युवतीहरुलाई लोभ्याउंछ उनीहरुलाई आफु पनि यस्तै पेसामा भईदिएको भए हुन्थ्यो भन्ने पनि लाग्छ । हामी उनीहरूको बर्दीको सुन्दरताले लोभिन्छौं तर बर्दीभित्र लुकेका अनगिन्ती पीडाहरुलाई नियाल्ने प्रयास गरेका हुँदैनौं ।

    उनीहरु जति सुन्दर देखिन्छन् त्यो पेशामा पीडा पनि उत्तिकै खेप्न बाध्य छन् । काठमाण्डौको नयाँ बानेश्वर चोक जुन यो क्षेत्रमा सबैभन्दा बढी यातायात र पैदल यात्रीहरुको भीडभाड हुने चोक हो । यहाँ ड्युटीमा खटिएकी एक ट्राफिक महिला भन्छिन् । चौतर्फी धुवां धुलोमा दिनभरी उभिएर काम गर्नुपर्ने पीडा त छंदैछ,  महिनावारी भएको बेलामा पनि ड्युटीमा खटिनुपर्दा थप पीडा हुन्छ । उनि भन्छिन ‘कहिलेकाहीँ त जागिरै छोडेर जाँऊ जस्तो लाग्छ, तर जागिर खाँदा खाएको शपथ र आाफ्नै नैतिकताले फेरि झस्काउँछ ।’

    उसो त ट्राफिकहरु के महिला के पुरुष सबैलाई गाह्रो छ । तर दिनभर खुला ठाउँमा उभिएर काम गर्नुपर्ने भएकाले महिनावारीको समयमा महिलाहरुलाई धेरै नै समस्या हुने गरेको अनुभव सुनाउछिन अर्की महिला । उनि भन्छिन् ‘गाह्रो छ हामी महिलाहरूलाई,  रजस्वला हुँदा आफैंमा शारीरिक पीडा हुन्छ,  त्यसैमाथि ड्युटीमा खटिंदा पीडा त थपिने नै भयो । कहिले कम्मर, कहिले ढाड दुख्छ त कहिले पेट । पछिल्लो समय महिला ट्राफिकको स्वास्थ्यलाई मध्यनजर गर्दै केही सहुलियत दिइएता पनि पर्याप्त नभएको उनि बताउँछिन् । कहिलेकाहीं हाकिमहरुले महिलाहरुको समस्यालाई नबुझ्दा गाह्रो हुने गरेको उनको भनाई छ ।

    महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड लगायतका सुरक्षाका सामग्रीहरू कार्यालयले उपलब्ध नगराउँदा अझ समस्या थपिन्छ । रजस्वला प्राकृतिक नियम हो कहाँ, कतिबेला हुन्छ भन्ने यकिन हुँदैन । ड्युटीका समयमा रजस्वला हुँदा पनि सेनेटरी प्याडको लागि उनीहरू पसलमा नै दौंड्नुपर्ने अवस्था रहेको छ । अनि सेनेटरी प्याड लिइसकेपनि काहाँ गएर प्रयोग गर्ने त्यो पनि समस्या रहेको छ । ट्राफिक प्रहरी भएका कारण नजिकै रेस्टुरेण्ट छ भने प्रयोग गर्न रोक्दैनन् त्यसैले केही ठाउँमा त ठीकै हुन्छ तर नजिक रेस्टुरेण्ट वा त्यस्तै कुनै उपाय नभएको ठाउँमा त्यसै असहज भएर अलमलिनु पर्ने अवस्था हुन्छ ।

    आराम गर्ने समय पर्याप्त हुँदैन

    महिला ट्राफिक प्रहरीका गुनासाहरू फरक–फरक छन् । ट्राफिक कार्यालयले महिनावारीको समयमा उनीहरूलाई आवश्यक परेको खण्डमा आराम गर्ने समय त दिन्छ । तर महिलाका लागि आवश्यक पर्ने सेवा सुविधाहरूमा भने खासै ध्यान नदिएको महिला ट्राफिकहरू बताउँछन् । सडकको प्रदूषणले ट्राफिकको स्वास्थ्यमा कति असर गर्छ भन्ने कुरा त चर्चा हुन्छ, तर महिला ट्राफिकको महिनावारीको समयमा हुने समस्यालाई भने खासै ध्यान दिएको देखिँदैन ।  कामको चाप छ भन्दै काम गर्न बाध्य हुनुपर्छ । तर पछिल्लो समयमा भने केही सहज भएको उनिहरु बताउँछन् ।

    ट्राफिक प्रहरी कार्यालय प्रमुख एस एस पी भिम ढकालको भनाई

    काठमाण्डौ उपत्यकामा १२५ जना ट्राफिक महिलाहरुको दरबन्दी छ तर अन्य जिल्लाहरुबाट पनि काजमा आएर १ सय ४१ जना महिला ट्राफिकमा कार्यरत छन् । उनीहरूको आवश्यकता अनुसार बिदा दिने गरेको महांनगरिय ट्राफिक प्रहरी कार्यालय प्रमुख एस एस पी भीम  ढकालले बताए । उनले भने महिनावारीमा अनिवार्य बिदा दिने व्यवस्था त छैन तर उनिहरुको स्वास्थ्य अवस्था हेरेर बिदा दिने गरेको छ । त्यस्तै उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै रातीको ड्युटीमा नराख्ने गरेको उनले बताए । त्यस्तै आवश्यक पर्ने सेनेटरी प्याडको विषयमा भने अहिलेसम्म माग नभएकाले उपलब्ध नगराईएको उनले बताए ।

    विश्वमा महिनावारीमा विदा

    पछिल्लो समयमा विश्वभरी नै महिनावारीको बेला बिदा दिनुपर्नेमा आवाज बढ्दै गइरहेको छ । महिनावारीमा बिदा दिन नियमको सबै भन्दा पहिलो उदाहरण आज भन्दा १ सय ६ वर्ष आगडिको छ । सन् १९१२ मा भारतको केरलाको एउटा विद्यालयले महिनावारीका बेला महिलाहरूलाई बिदा दिन थालेको हो । महिनावारी भएको बेला बिदा लिएको समय अरू बेलाका बिदामा परिपूर्ती गर्नु पर्ने कतै नियम छ भने कतै महिलाका लागि महिनावारी बिदा कम्पनीको सुधिामानै थप गरिएको छ । जापानमा सन् १९२० देखि श्रम संगठहरूले महिनावारी हुँदा महिलालाई बिदा दिनुपर्ने आवाज उठाउन थाले । सन् १९४७ मा जापानको श्रम कानुनले नै महिलाले महिनावारी हुँदा एक दिन बिदा लिन पाउने व्यवस्था गर्यो । पछिल्लो समय विश्वका अन्य देशहरूले पनि यस्तो व्यवस्था गरेका छन् । विश्वका कतिपय देशका अरु धेरै नीजि कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई स्वेच्छिक बिदा दिने गरेका छन् ।

    तर नेपालमा भने अझै पनि महिनावारीका बारेमा खुलेर बोल्न महिलाहरु लजाउँछन् । उनीहरु आफ्ना पीडाहरुलाई लुकाउँदै सहेर बस्छन् । त्यसैले नेपालमा महिलाहरुको महिनावारीमा हुने पीडालाई सामान्य रुपमा लिईन्छ । जसका कारण उनीहरुले पर्याप्त आराम पाउँदैनन् र शारीरिक रुपमा कमजोर हुन्छन् । त्यसैले आफ्ना समस्याहरु खुलेर राखौं र आफ्नो अधिकार सुनिश्चित गरौं ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस