डोल्पामा हिउँ पर्न शुरु
आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।
त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ । बिहानैदेखि शुरु भएको हिमपात पनि जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने सङ्केत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् । बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँ परेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय देवीकृण उपाध्यायले बताउनुभयो ।
फागुन अन्तिममा वर्षातसँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनालीलाई फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।
विमानस्थल बन्द
बिहानैदेखि वर्षातसँगै शुरु भएको हिमपातपछि जुफाल विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । आज दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको विमानस्थलले जनाएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका सर्वसाधारणले बताएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस