आम्दानीको स्रोत बन्दै मौरीघार

छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहनुहुन्छ । गाउँ छाडेर टाढा जाने फुर्सद त उहाँलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्नसमेत फुर्सद हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उहाँको आम्दानी भने वर्षेनी लाखौँ रुपैयाँ हुन्छ । उहाँको रहर लाग्दो आम्दानीको बाटो भने मौरीपालन, मह र घार ९गोला० बिक्री व्यवसाय नै हो ।
हाँडीखोलास्थित आफ्नै घरमा उहाँले विगत पाँच वर्षदेखि मौरीपालन गर्दै आउनुभएको छ । मौरीपालनमा रम्दैजम्दै आउनुभएका उहाँले विशेष गरी मौरीको गोला ९घार० र मह बिक्रीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । वर्षेनी सयौँ घार र महको बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी भइरहेको उहाँले बताउनुभयो । दुराका अनुसार गत वर्ष मात्रै ९० घार बिक्री भएका थिए । प्रतिघार रु आठ हजार ५०० का दरले बिक्रीबाट मात्रै रु सात लाख ६५ हजार आम्दानी भएको उहाँको भनाइ छ ।
त्यस्तै करिब १०० लिटर मह बिक्रीबाट प्रतिलिटर रु एक हजार १०० का दरले रु एक लाख बढी आम्दानी भएको दुराकी श्रीमती धनमायाले बताउनुभयो । यस वर्ष १०० भन्दा बढी घार बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको दुराको भनाइ छ । बिहानैदेखि मौरीको हेरचाह, स्याहार, चरनको व्यवस्था, पुराना घारबाट मौरी छुुट्याएर नयाँ मौरीघार बनाउने काममा दुरा परिवार खट्दै आएको छ ।
उहाँको यतिबेला ५४ घार मौरी छन् । तिनै घारबाट मौरी छुट्याएर नयाँ घारमा राख्दै बिक्री गरिने दुराको भनाइ छ । जिल्लाभित्र र बाहिरका धेरै ठाउँबाट मौरीघार र महको माग आउने भएकाले बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ । यो व्यवसाय शुरु गरेदेखि हालसम्मको अवधिमा दुरालाई रु १४-१५ लाख आम्दानी भइसकेको छ । घरपरिवारको पुरानो ऋण तिर्नाका साथै छोरालाई विदेश पठाउने लगायत काममा उक्त आम्दानीले ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
दुराका अनुसार उहाँको व्यवसायलाई नगरपालिकाबाट गत वर्ष रु एक लाख अनुदान पाइएको थियो । जुन ठाउँमा जे व्यवसायको सम्भावना हुन्छ सोही व्यवसाय गर्नसके सफलता मिल्छ भन्ने सिकाइ दुराबाट भएको सोही वडाका वडाध्यक्ष रामचन्द्र भण्डारीको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस