स्थानीय सरकारले धमाधम राहत वितरण गर्दै
खस्यौली, १८ चैत / रुपन्देहीका स्थानीय सरकारले विपन्न परिवारका लागि धमाधम विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट राहत वितरण गर्न लागेका छन् । जिल्लाको कञ्चन गाउँपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट करिब डेढ क्विन्टल चामल खरिद गरी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
“विपन्न परिवारको पहिचान गरी बुधबारबाट चामल वितरण शुरु हुन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरसलाई परास्त गर्नका लागि उक्त कोषमा रु छ लाख नगद राहत सङ्कलन हुनेसमेत अध्यक्ष क्षेत्रीले बताउनुभयो । गाउँपालिकामा भएको क्वारेन्टाइनमा अहिले ११ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले टाइगर ब्रोअरी इन्डष्ट्रिजले उपलब्ध गराउने १०० क्विन्टल चामल वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “चामल आइसकेको छैन, आउने बित्तिकै वितरण शुरु हुन्छ”, उहाँले भन्नुभयो । स्थानीय सहकारीले रु दुई लाख गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने आश्वासन आएको उल्लेख गर्दै अध्यक्ष चौधरीले मजदुरी गरेर खाने, विपन्न परिवारका लागि राहत सङ्कलन भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा ल्याउन खोज्दा झगडा गर्न थालेकोे र उनीहरुलाई क्वारेन्टाइमा ल्याउन स्थानीय प्रशासनले सहयोग नगरेको आरोप लगाउनुभयो । अहिले सो गाउँपालिकाको क्वारेन्टाइनमा १५ जना रहेका छन् ।
सैनामैना नगरपालिकामा पनि अहिलेसम्म रु दुई लाख विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ । सो रकममध्ये खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, सैनामैनाबाट रु एक लाख, नवदीप बचत तथा ऋण सहकारी संस्थाबाट रु ७५ हजार र पर्रोहा बचत तथा ऋण सहकारी संस्था सैनामैनाबाट रु २५ हजार नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ ।
नगरपालिकाका सूचना अधिकारी केशव अर्यालका अनुसार रु चार लाख ४५ हजार अझै कोषमा जम्मा भएको छैन । “जिन्सी सङ्कलन कार्य वडा वडाबाट भइरहेको छ तर विस्तृत विवरण आइसकेको छैन”, उहाँले भन्न्ुभयो ।
गैडहवा गाउँपालिकाले पनि विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण छिट्टै शुरु गर्ने तयारी भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकामा कति विपन्न समुदायका परिवार छन् भन्ने तथ्याङ्क आएपछि विपद् तथा प्रकोप व्यवस्थापन कोषको बजेटबाट चामल, दाल खरिद गरेर वितरण गरिने जानकारी दिनुभयो । गाउँपालिकाको क्वारेन्टाइनमा आठजना छन् ।
सियारी गाउँपालिकाले पनि राहत वितरणका लागि विपन्न परिवारको पहिचान भइसकेकाले वितरणको तयारी भएको जनाएको छ । वितरणका लागि १०० क्विन्टल चामल, १३ क्विन्टल दाल र १२ क्विन्टल नुन खरिद भएको र त्यसमा पनि छाक टार्न समस्या भएका अति विपन्न परिवारलाई एक साताका लागि राहत वितरण गरिने अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो । रु २५ लाखको विपद् कोषबाट बजेट खर्च हुने गरी सो राहत वितरण गर्न लागिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रुपन्देहीका स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनको क्षमता ३०० जनाको रहेको र क्वारेन्टाइमा रहेकामध्ये अधिकांशको नेगेटिभ रिपोर्ट आएपछि घर फर्किसकेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस