झिनियाँ बनाउँदै महिला
रामपुर, ९ वैशाख /कोभिड –१९ बाट बच्न जारी गरिएको लकडाउनको समय सदुपयोग गर्दै रामपुर नगरपालिकाका महिला झिनियाँ उत्पादनमा व्यस्त छन् । रामपु ४ सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन शुरु भएयता ३० क्विन्टल चामलको झिनियाँ तयार गरिसक्नुभएको छ । झिनियाँ बनाउदै गर्दा दिन बितेको उहाँलाई पत्तो छैन । “बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँछु, लकडाउनको समयमा कसरी दिन कटाउने हो भन्नुपरेको छैन, काममै व्यस्त छु”, श्रेष्ठले भन्नुभयो । चार वर्षदेखि सो व्यवसायमा आबद्ध श्रेष्ठ वर्षमा झिनियाँ उत्पादनबाट खर्च कटाएर रु तीन लाख आम्दानी गर्नुहुन्छ । राम्रो कमाइ हुने भएपछि उहाँले चार जनालाई रोजगारी दिनुभएको छ ।
लकडाउनको समयमा भने कामदारलाई सुरक्षित साथ रहन घर पठाइएको उहाँले बताउनुभयो । रामपुर–५ राङ्गभाङ्ग बस्ने मैयाँ श्रेष्ठको पनि दैनिकी झिनियाँ बनाउँदैमा बितेको छ । लकडाउन समययता उहाँले हालसम्म सात क्विन्टल झिनियाँ उत्पादन गरिसक्नुभयो तर बजारमा खपत गर्ने वातावरण छैन । “हातमा सीप भएपछि घरभित्रै बसेर आयआर्जन गर्न सकिन्छ, लकडाउनको समयमा झिनियाँ बनाउने र पछि खुलेको समयमा बजारमा बिक्री गर्ने हो”, उहाँले भन्नुभयो । श्रेष्ठले बन्दाबन्दीको समययता रु ६० हजारको झिनियाँ उत्पादन गर्नुभएको छ ।
उहाँ यो व्यवसायमा लागेको अढाइ दशक बितिसकेको छ । हातमा सीप भएकालाई लकडाउन, बन्दहड्ताल जुनसुकै अवस्था आए पनि खाली बस्नु नपर्ने उहाँको अनुभव छ । लकडाउनको पालना गरी हातमा सीप भएका महिलाले घरभित्रै बसी झिनियाँ बनाएर भण्डारण गरी राखेका छन् । झट्ट नबिग्रने एक वर्षसम्म यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यहाँ उत्पादित झिनियाँको आकारअनुसार प्रतिदर्जन रु ४० देखि एक सयमा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पिठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गरिन्छ ।
पहिले तिहारमा मात्र बनाइने झिनियाँ हिजोआज भने विवाह, व्रतबन्ध, पूजाआजा तथा विशेष पर्वमा व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ रोटी दिने प्रचलन छ ।
क्याटेगोरी : समाज
प्रतिक्रिया दिनुहोस