• जीवनशैली | Jiwanshaili
  • गुरु पूर्णिमा : ‘सिकाउँदैमा सिकिँदैन ज्ञान र विवेक’


    ‘जीवनमा सिक्न कहिल्यै छाडिँदैन रहेछ वा भनौँ जीवनले हामीलाई सिकाउन छाड्दैन रहेछ । सिक्ने कुरामा अल्छी मानेको पाए, जीवन झर्किंदो रहेछ र कुकुरलाई पनि गुरुको अवतार बनाई पठाइदिँदो रहेछ ।’

    शंकर लामिछानेले आफ्नो बहुचर्चित निबन्ध ‘जीवन ः एक प्रध्यापक’ मा सिकाइलाई गुरुको कुनै न कुनै महत्त्व हुने कुरा बताउँछन् । यद्यपि, लामिछानेले प्राचीन कालमा चल्ने गुरुकुल शिक्षा पद्धति र आधुनिक शिक्षा पद्धतिको पक्षपोषण गरेका छैनन् । उनले सिकाइका लागि प्रकृतिबाटै मानिसलाई सहायता मिल्छ भन्ने फरक दृष्टिकोण प्रस्तुत गरेका छन् ।

    प्रत्येक वर्ष ‘असार शुक्ल पूर्णिमा’मा मनाइने गुरु पूर्णिमा दिन हिन्दु–आर्य सभ्यतामा आफूलाई ज्ञान, सीप र सहायता दिने गुरुको आदर–सम्मान गर्ने चलन छ । यस सभ्यताको संस्कारमा पूजा–कर्म चल्ने भएकाले गुरुलाई पनि देवताकै एक हिस्सा मानेर पूजासमेत गरिन्छ ।

    यद्यपि, आधुनिक समयमा मानिस नै मानिसको गुरु हुने तथा विश्वविद्यालय वा शिक्षालयमा गुरुसँग साक्षात्कार हुने चलन छ । कुनै सीप र ज्ञान प्रदान गर्ने मानिसलाई नै गुरु भनिने सामान्य प्रचलन छ ।
    धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

    गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद­वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिने चलन छ । यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरु–दक्षिणासमेत दिइन्छ ।

    तर, गुरु पूर्णिमा मनाइरहँदा यसलाई बहुआयामबाट हेरिनुपर्ने आजको आवश्यकता बनेको छ । धार्मिक आस्थाअनुसार हेर्ने वा आधुनिक शिक्षा पद्धतिसँग गुरु पूर्णिमालाई जोड्ने भनेर तर्कहरू उठेका छन् । वा शंकर लामिछानेले भनेझैं मानिसको उन्नतिका लागि ऊ स्वयंको प्रयत्नले स्वतः गुरु भेटाउँछ । भौतिक, अभौतिक वा सजीव जेसुकै पनि गुरु हुन सक्छन् ।

    यो गुरुमाथिको नयाँ आयाम हो । झट्ट सुन्दा पृथक लाग्ने र चलनचल्तीसँग नमिल्ने यो धारणामाथि यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

    मानिसले सिक्ने उत्कण्ठा राख्नु नै ठूलो कुरा हो भनेर गीतामा समेत भनिएको छ । युद्ध कौशल सिकाउँदैमा सिकिने कुरा नभएझैं ज्ञान र विवेक पनि सिकाउँदैमा सिकिँदैन । कौरव पक्षका धृतराष्ट्र र उनका पुत्रहरूलाई त्यसबेलाका सर्वज्ञ गुरुहरूले शिक्षा दिए । एकलव्यलाई गुरुबाटै नश्लीय विभेदको सिकार बन्नुपर्यो ।

    सबै कुरा जान्ने गुरुसँग सत्संग गर्दैमा कोही अर्को व्यक्ति ज्ञानी बन्न नसक्ने कुरा महाभारत र रामायणमा नै चर्चा गरिएको छ । ज्ञानबाट विवेकको तहमा जाँदा अधिकांश पात्र च्यूत भएको प्रमाणले पनि गुरुको परिभाषा बदलिदिएको छ ।

    त्यसो त संगीत, साहित्य, नृत्य र कलाका सबै कुरा सिक्न गुरुको आवश्यकता पर्छ । गुरुको सहायतामा नै मानिसले उक्त सीपको आधारभूत तथा उच्च ज्ञान प्राप्त गर्छ । कालान्तरमा आफ्नो मिहनेत र मौलिकताले उक्त शिक्षार्थी गुरुभन्दा पनि महान् बनेका उदाहरण छन् ।

    चित्रकाल सिक्न गएको एक महिनामा नै लियोनार्दो दा भिन्चीले गुरु पियरो दा भन्दा सिद्धहस्त चित्रकार भइसकेका थिए । कुनै पनि मूर्तिशालामा प्रशिक्षण नलिएका माइकल एन्जेलोले यूरोपमा चर्चित मूर्ति प्रशिक्षक डोनेटेलोभन्ला उत्कृट मूर्ति बनाउने भइसकेका थिए ।

    माथिका यी कुरालाई सामान्यिकरण गर्दा हामी के बुझ्न सक्छौं भने मानव जीवनको लक्ष्य सिकाइ हो रहेछ । उक्त सिकाइको लागि अन्तरनिहीत प्रतिभाको प्रस्फुटन कुनै गुरुबाट वा प्रकृतिप्रदत्त तवरले भएमा व्यक्ति स्वयं गुरु बन्न सक्छ । यसलाई अध्यात्मसँग हेर्ने हो भने पनि जो सिद्ध हुन्छ ऊ आफ्नै तपोबलले हुन्छ । आफ्नै आत्मबोधले व्यक्ति बुद्ध बन्छ ।

    यसर्थ आजको सन्दर्भमा गुरु पूर्णिमामाथि नयाँ आयामले हेर्न जरुरी छ । मानव उन्नतिको लागि ‘गुरु को हो ? र कसरी गुरु, गुरु हुन्छ’ भन्ने सवालमा नयाँ दृष्टिकोणहरू बन्न जरुरी छ ।

    नयाँ आविष्कारका लागि मानिस सधैं शिक्षार्थी बन्यो भने मात्र उसले केही सिक्न र आविष्कार गर्न सक्छ । आफूलाई सधैं सिक्ने प्रक्रियामा राख्यो भने मात्र ज्ञानका नयाँ आयाम खुल्छन् । आफू, मानव जाति र प्राणीजगतको हितका लागि मानिसले सोच्नुपर्ने भइसकेको छ । यसका लागि मानिसले आफूलाई सधैं सोधार्थी र शिक्षार्थीको तहमा राख्यो भनेमात्र सम्भव छ ।

    नयाँ ज्ञानको ढोका तब मात्र खुल्छ जब गुरुको ज्ञानलाई एक बिन्दुबाट शिष्यको तहमा राखी अर्को ज्ञानका लागि जीवनपर्यन्त लागिरहनुपर्छ ।


    क्याटेगोरी : कला शैली, समाज

    प्रतिक्रिया दिनुहोस