• जीवनशैली | Jiwanshaili
  • पाँच किलोको बच्चा


    चितवन- मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छिन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले सोमबार पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।

    अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले सोमबार बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।

    भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस