त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए
टिस्टुङ- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।
बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनकी पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्याएर उपचार गरिएको छ । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ ।रासस
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस