कोभिड भ्याक्सिन बजारमा कहिले आउँछ ? यस्तो छ प्रगति
यतिखेर सिङ्गो विश्व कोरोना भाइरसको प्रकोपले ग्रसित छ । सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन आमरुपमा प्रयोगमा आउन अझै केही समय लाग्छ । रसियाले विकास गरेको ‘स्पुतनिक भी’ नामक भ्याक्सिन केही सातामै आम प्रयोगमा आउने दाबी गरिए पनि तेस्रो चरणको परीक्षण बाँकी नै रहेको र भ्याक्सिन विकासको बारेमा विश्वसनीय सूचना नभएको भन्दै रसियाको दाबीमा विश्व समुदाय आश्वस्त हुन सकेको छैन । तथापि ‘स्पुतनिक भी’को घोषणाले विश्वभर कोभिड भ्याक्सिनबारेको चासो ह्वात्तै बढाइदिएको छ ।
क्लिनिकल ट्रायलमा २४, ५ वटा तेस्रो चरणमा
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिँदै जाँदा भ्याक्सिनको विकासमा विभिन्न संस्था लागिरहेका छन् । हाल २०२ वटा भ्याक्सिन विकासको क्रममा छन् । तीमध्ये २४ वटा क्लिनिकल ट्रायलको विभिन्न चरणमा छन् । भ्याक्सिनको विकास क्रममा तीन चरणको क्लिनिकल ट्रायल हुने गर्दछ । तेस्रो चरणको परीक्षण सफल भएर नियामक निकायले प्रमाणित गरेपछि आम प्रयोगका लागि भ्याक्सिन उपलब्ध हुन्छ । कोभिड १९ विरुद्ध ९ प्रकारका भ्याक्सिन विकासको क्रममा छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित मिल्कन इस्टिच्युटको फास्टर क्युर सेन्टरका अनुसार ५ वटा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । रसियाले घोषणा गरेको भ्याक्सिन ‘स्पुतनिक भी’बाहेक अक्सफोर्ड युनिभर्सिटी/अस्ट्राजेनेका, वुहान इन्स्टिच्युट/सिनोफार्म, बेइजिङ इन्स्टिच्युट/सिनोफार्म, बुटानटान इन्स्टिच्युट/सिनोभ्याक र अमेरिकी कम्पनी मोडर्नाले विकास गरेका भ्याक्सिन तेस्रो चरणको परीक्षणको क्रममा रहेका छन् ।
‘स्पुतनिक भी’
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भ्याक्सिन तयार भएको घोषणा गरेका छन् । कोभिड १९ विरुद्ध संसारकै पहिलो खोपको विकास रुसमा भएको पुटिनको भनाई छ । उनले सरकारी टिभीमार्फत मंगलबार यस्तो घोषणा गरेका हुन् ।
मस्कोस्थित गेमालेया इन्स्टिच्युटले बनाएको भ्याक्सिनको नाम ‘स्पुतनिक भी’ राखिएको छ । सन् १९५७ मा रुसले प्रक्षेपण गरेको संसारकै पहिलो भूउपग्रहको नाम स्पुतनिक थियो ।
रसियाली अधिकारीहरुले उक्त भ्याक्सिन केही सातामै आम प्रयोगमा आउने दाबी गरेका छन् । राष्ट्रपति पुटिनकी छोरीले समेत सो भ्याक्सिन प्रयोग गरेको समाचारमा जनाइएको छ । यद्यपि रुसले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षण बाँकी नै छ भने अघिल्ला परीक्षणको तथ्यसमेत सार्वजनिक गरिएको छैन ।
यसैबीच स्पुतनिक भीको तेस्रो चरणको परीक्षण युनाइटेड अरब इमिरेट्स र फिलिपिन्समा हुने बताइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफुबाट भ्याक्सिन परीक्षण सुरु गरियोस् भन्ने ईच्छा व्यक्त गरेका छन्
।
रेम्डेसिभिरको प्रयोग
कोरोना भाइरसका बिरामीको लागि अमेरिकी औषधी उत्पादक तथा अनुसन्धान संस्था गिलिड साइन्सेस आइएनसीद्धारा उत्पादित रेम्डेसिभिर नामक औषधी निकै उपयोगी देखिएको छ । अमेरिका, बेलायत, भारत, सिङ्गापुर, जापान र अन्य युरोपेली मुलुकमा समेत यसको प्रयोग भइरहेको छ । विज्ञहरुका अनुसार यसको
प्रयोगले कोरोना भाइरस संक्रमितको ‘;रिकभरी टाईम’उल्लेख्य मात्रमा घटाउँछ ।
बेलायतबाट प्रकाशन हुने ‘द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित एक अनुसन्धानमुलक लेखमा समेत कोभिड १९ विरुद्ध रेम्डेसिभिरको प्रयोग निकै उपयोगी भएको निचोड छ ।
अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सन् २००९ मा इबोला भाइरसविरुद्ध प्रयोगमा आएको रेम्डेसिभिरलाई गत मे महिनामा कोभिड-१९ को संक्रमण भएका गम्भीर बिरामीका लागि प्रयोग गर्ने अनुमति दिएको थियो । यसैबीच नेपाल सरकारले पनि कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गरी अनुसन्धान गर्ने निर्णय गरेको छ ।
कोभिड भ्याक्सिन कहिले बजारमा आउँछ ?
सामान्य अवस्थामा भ्याक्सिनको विकास, परीक्षण र आम प्रयोगका लागि एक दशकसम्मको समय लाग्छ । तर, कोभिड विश्वव्यापी महामारीको रुपमा देखा परेकाले यसको उपचार पद्धतिको विकास निकै द्रुत गतिमा भइरहेको छ । कोभिड भ्याक्सिनको विकास १२ देखि १८ महिनासम्मको अवधिमा भइसक्ने सम्भावना प्रबल छ ।
रसियाको दाबीकै उदाहरण लिँदापनि स्पुतनिक भी तेस्रो चरणको परीक्षणमा केही साता र ‘मास प्रोडक्सन’का लागि थप केही महिना लाग्ने देखिन्छ । यसप्रकार सन् २०२० को जनवरीलाई कोभिड१९ विरुद्ध अनुसन्धानको आधार महिना मान्दा आगामी डिसेम्बर/जनवरी महिनासम्म भ्याक्सिन सर्वसुलभ रुपमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
रसियालाई पछ्याउँदै चीन
कोभिड भ्याक्सिनको विकासमा रसिया पहिलो भएको दाबी गरिएसँगै संसारभर तरङ्ग फैलिएको छ । दोस्रो को हुने ? प्रश्नसमेत उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । चिनियाँ अनलाईन ग्लोबल टाइम्सका अनुसार कोरोना विरुद्ध भ्याक्सिनको विकास र बजारमा रसियालाई चीनले पछ्याउनेछ ।
रसियाली अधिकारीहरुका अनुसार भ्याक्सिन अगस्ट महिनाभित्रै नियामक निकायमा ‘रिभ्यु’का लागि पेश हुनेछ । स्पुतनिक भी भ्याक्सिनको २० वटा मुलुकबाट १ बिलियन डोज अर्डर प्राप्त भइसकेको जनाइएको छ । ५ सय मिलियन डोज उत्पादन गर्नसक्ने क्षमता रहेको रसियाली अधिकारीहरुको भनाई छ ।
अनुसन्धान र विकासको काम अन्तिम चरणमा पुगेसँगै चीनले पनि भ्याक्सिनको बजार सम्भ्याव्यता अध्ययन गरिरहेको छ । चाईना मेडिसिनल बायोटेक एसोसिएसनका निर्देशक तियान होङ्जियान भन्छन्, ‘चीनमा विकास भएको भ्याक्सिन यो वर्षको अन्त्यसम्ममा बजारमा आउनेछ ।’;
हाल चीनका ३ वटा प्रयोगशालामा कोभिड भ्याक्सिन परीक्षणको क्रममा छन् । सिनोभ्याक तथा वुहान र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स अन्तर्गत सिनोफार्म नामक प्रयोगशालामा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ ।
भ्याक्सिनमा राजनीतिको छायाँपनि
रसियाले भ्याक्सिन तयार भएको घोषणा गर्नासाथै अमेरिकी र रसियाली अधिकारीहरुबीच जुहारी चल्न थालेको छ । रसियाले घोषणा गरेकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ वटा अमेरिकी कम्पनीसँग ७०० मिलियन डोज भ्याक्सिन अर्डर गरेका छन् । भ्याक्सिन विकासको क्रममा सूचना गोप्य राखेकोमा अमेरिकी
पक्षले शंका व्यक्त गरेको छ । साथै अमेरिकाले भ्याक्सिनको सुरक्षा र प्रभाविकारितामा प्रश्न उठाएको छ । रसियाली अधिकारीहरुले अमेरिकी आलोचना निराधार भएको भन्दै भ्याक्सिनको विकास सुरक्षित र प्रभावकारी भएको बताएका छन् ।
रसियाको घोषणासँगै कोभिड भ्याक्सिन विकासमा लागेका अन्य देशहरुमाथि पनि दबाब बढेको छ । यससँगै चिनियाँ विज्ञहरुले सुरक्षा र प्रभावकारितामा जोड दिँदै अन्ध प्रतिस्पर्धा हुनसक्ने चेतावनी दिएका छन् ।
रसियाले विकास गरेको एडेनोभाइरस भेक्टर भ्याक्सिनमाथि प्राविधिक हिसाबले शंका गर्नु नपर्ने उनीहरुको भनाई छ । चीन, अमेरिका र रसियामा भ्याक्सिनको विकासमा केन्द्रित राजनैतिक तरङ्ग समेत देखिन थालेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस