लिदीको बस्ती स्थानान्तरण गरिने
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरोमा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।
मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारको तर्फबाट उद्धार कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तिब्र बनाउने गृहमन्त्रीको भनाइ थियो ।
शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निश्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुख व्यक्त गरे ।
मन्त्री थापाले भने, ‘उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बाँस बसेपनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।’ पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उनले बताए । उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उनले आश्वासन दिए ।
गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पुर्याइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको हो । सोही क्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट दुई लाख रुपैयाँ हस्तान्तरण गरे ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस