• जीवनशैली | Jiwanshaili
  • सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो


    सिन्धुपाल्चोक- जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।

    यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

    लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    ज्यान गुमाएका परिवारले १ लाख पाउने

    विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।

    एक लाख २५ हजार आर्थिक सहयोग

    जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घको तर्फबाट एक लाख रुपैयाँ र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रुपैयाँ सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस