सामूहिक रूपमा गौरा र तीज मनाउन रोक
बैतडी- सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।
तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । उनले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ ।”
गौरा पर्व भदौ १० गते परेको छ भने तीज भदौ ५ गते रहेको छ । यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ । यसैगरी भारत अथवा तेस्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।
यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा सङ्क्रमणको दर हेरेर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि अग्रमोर्चामा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको पिसीआर परीक्षण गर्ने निर्णयसमेत भएको छ । बैतडीमा हाल ३२३ कोरोना सङ्क्रमित छन् । तीमध्ये चार जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस