उच्च शिक्षा सुधार्न के गर्ने ?
सर्वप्रथम अहिलेको सन्दर्भमा उच्च शिक्षामा हामीले खोजेको के हो? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ । संरचनामा समस्या छ कि, शिक्षणमा छ कि, जाँचमा छ कि, विद्यार्थीमै समस्या छ कि कतातिर हो? नेतृत्वमा समस्या छ कि, दलीयतामा होकि, कहाँनेर हो? दुई चारवटा कुराहरु खुट्टिएको छैन ।
समस्या यदि संरचनामा हो भने हामीले नियमित आउनेलाई नियमित क्लास, आंशिक आउनेलाई आंशिक क्लास, कहिलेकाहीँ आउनेलाई खुला मोडको संरचना बनाउनुपर्थ्यो । त्यो तीनवटै हामीले सँगसँगै लान सक्थ्यौं । म्याथ, इङलिस, नेपाली, शिक्षा, कानून जे पढेपनि त्यो गर्न सकिन्थ्यो । नेतृत्वले त्यो गर्न चाहेन ।
विद्यार्थीको अपेक्षा बुझ्नुपर्यो
संरचनाको कुरा गर्दा आफुले बोकेको संरचना बोकिरहने, विकल्प नसोच्ने र सोच्न नदिने किसिमको नेतृत्व हामीसँग रह्यो । यौटा अप्ठ्यारो त्यहाँनेर छ । त्यसले गर्दा पढ्ने मान्छे झुटा भए । सेमेस्टर प्रणाली ल्याइयो । । त्यो पनि रमाइलो मात्रै भयो । विद्यार्थीलाई विकल्प त दिनुपर्यो नि! चीनमा रेडियो विश्वविद्यालय छ । रेडियोबाट पढाई हुन्छ । टेलिभिजन विश्वविद्यालय छ । हामीकहाँ त्यसो गर्दा हुँदैन ?
अनलाईन विश्वविद्यालय चलाउँदा हुन्छ । किन चाहियो मान्छे ? अब शिक्षक धेरै चाहिँदैन । अबको विद्यार्थी क्याम्पसमै बसेर पढ्ने विद्यार्थी नै होइन । अब त सम्वाद गर्ने विद्यार्थी हुन्छ । त्यसैले हाम्रो निमित्त संरचना नै चुनौती हो ।
पठनपाठनको शैलीलाई हेर्दा विद्यार्थी चाँडो र शिक्षक ढिलो भयो । विद्यार्थीको कम्प्युटरमा एक्सेस छ । शिक्षक कम्प्युटरसँग डराउँछ । प्रविधिसँग डराउने र जिस्किनेबीच मिलन नै भएन । परिणामतः विद्यार्थीले पत्याएन । नपत्याइने मान्छेहरुको जमात ठूलो भयो । त्यसकारण उच्चशिक्षामा विद्यार्थीले खोजेजस्तो परिवेश पाउन सकेन ।
अर्को कुरा, विद्यार्थीलाई भर्ना कता ? भन्ने नचाहिँदो बुद्धि हामीले बोकिरह्यौं । प्लेसमेन्ट होकि मेरिटोक्रेसी हो हाम्रो ? हामी कस्तो अप्ठ्यारोमा पर्यौं भने मेरिटोक्रेसी हो भने मेरिटियसले मात्रै पढ्न पाउनुपर्थ्यो । नन मेरिटियसलाई त्यसमा अधिकार नै छैन भन्नुपर्थ्यो । अमेरिकनहरु त्यही गर्छन् । चाइनिजहरु त्यही गर्छन् । प्लेसमेन्ट हो भने विज्ञानमा पढ्न नसक्नेलाइ मानविकीमा दिनुपर्यो । मानविकी नभए स्वास्थ्यमा पढ्नुपर्यो । होइन भने शिक्षामा जानुपर्यो ।
मेरो ल्याकत कहाँ छ ? त्यो ल्याकत जाँचेर पढ्न जान दिने व्यवस्था खोइ त ? त्यो बनाइएन । अहिले उच्च शिक्षामा त्योपनि ठूलो खाडल भा’छ ।
विश्वविद्यालयमा राजनीति
दलीयता हाम्रो निम्ति सम्पत्ति हो । राजनीति गर्नहुन्न भनेर सबैले बकबक गर्छन् । सबैलाई थाहा छ, त्यो हुनैहुँदैन भन्ने अनि सबैलाई थाहा छ, त्यो हुनैपर्छ भन्ने । यो कस्तो नचाहिने कुरा गरेको हामीले ?
हाम्रो निम्ति हुनुपर्ने केहो भने अहिले प्रणालीमा वामपन्थी धारका मान्छेहरु आउनुपर्छ । किनकि, सरकार उनको हो । उनको जिम्मा हो । उनैले नेतृत्व गर्छन् । उनकै मान्छेहरु राखिदिए हुन्छ । तर, शर्तसहित । बिग्रियो भने अपजस पनि उनैले लिनुपर्छ ।
भीसीहरु त पार्टीका खुट्टा न हुन् । तिनलाई मात्रै दोष दिएर हुन्छ ? यो राजनीति विद्यार्थीको, शिक्षकको, यसको उसको किन भन्ने ? राजनीति गर्ने कि नगर्ने ? गर्ने भए कसरी गर्ने ? त्यो मुख्य कुरा हो ।
पार्टीले त सबैलाई आफ्नो कार्यकर्ता बनाएको न हो । सरकारको पैसा लिएर पार्टीको काम गर्ने मान्छे पाउनु राजनीति गर्नेका लागि सधैँभरि मजाको विषय हो । उसले कहाँ राजनीति गर्नहुन्न भन्छ र? दलीयकरण कि दलीयतालाई उपयोग गर्ने नीति ? यो दुईटा विषयमा हामी फस्यौं ।
मैले देखेको निकास केहो भने दलीयकरण भएपनि केही छैन । तर, दलले जिम्मा लिनुपर्छ । दलले भनेअनुसारको शिक्षा चलाउनुपर्छ ।
अन्तर्राष्ट्रियस्तरको हुन सजिलो छ
अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन अत्यन्तै सजिलो छ । तुरुन्तै हुन्छ । प्रत्येक क्याम्पसले गर्नसक्छ । न भीसी चाहिन्छ, न रजिष्ट्रार । न रेक्टर चाहिन्छ न डीन । केहीपनि, कोहीपनि चाहिँदैन ।
यौटा शिक्षकले स्काईपबाट क्लास लिने चाईनाको कुनै विश्वविद्यालयको प्रोफेसरसँग समय मिलाउन सक्दैन ? म आज अष्ट्रेलियाबाट क्लास लिन्छु भनेर त्यहाँको प्रोफेसरलाई भन्न सक्दैन ? उताबाट लिने क्लासलाई यहाँ लिङ्क गरिदिए पुग्छ । केही गर्नैपर्दैन । यत्ति कामको लागिपनि अरुलाई सोध्न जानुपर्छ भन्ने बुद्धि नै खराब हो ।
त्यति गरिदिए विद्यार्थीले पनि खुरुखुरु पढ्छ । बाहिरका कुरा थाहा पाउँछ । आहा! क्युबामा यस्तो रैछ, अष्ट्रेलियामा यस्तो रैछ भन्छ । जहाँबाट रहर लाग्छ त्यहीँबाट लिए भैगो नि! यसो गर्नलाई कसैले नाइँ भनेको त होइन । आफै गर्न सकिने काम हो । त्यो प्रक्रियामा नगएपछि हामी अन्तर्राष्ट्रियस्तरमा पुगिएन ।
(उच्चस्तरीय शिक्षा आयोग, २०७४ को सदस्य तथा लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुभएका प्रा.डा. कोइरालासँग टीएन रेग्मीले गरेको कुराकानीको सम्पादित अंश )
याे पनि पढ्नुहाेस्
संघीय नेपालमा शिक्षाकाे गुणस्तर उकास्न के गर्ने ?
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस