• जीवनशैली | Jiwanshaili
  • भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान


    काठमाडौँ- सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि शर्तसहित निश्चित आधारमा नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताए । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जिम्मेबारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ ।

    प्रवक्ता डा. खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गरिनेछ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस