जन्मकैदको फैसला भएका दोषी २० वर्षपछि पक्राउ
म्याग्दी- बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।
घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।
प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ । दोषी ठहर गरेका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् ।
जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ । यसैगरी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस