• जीवनशैली | Jiwanshaili
  • परेवा डाँडामा परेवाको मूर्ति


    तनहुँ- तनहुँको व्यास नगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको एक जोडीे मूर्ति निर्माण शुरु गरिएको छ । डाँडामा रहेको पहरोमा परेवा बस्ने गरेको र पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित भएपछि त्यसको संरक्षण गर्न लागिएको हो ।

    वडाका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थलको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । मूर्ति बनाउन रु छ लाख खर्च हुनेछ । उक्त मूर्ति सात फिट अग्लो हुनेछ ।

    दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का, घैटो बनाइरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको संरचना बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

    यो वर्ष परेवा डाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण गर्ने योजनाका साथ कामअघि बढाइएको छ । परेवा डाँडामा सडकको मापदण्ड कटाएर परेवाको मूर्ति निर्माण गरिएको उनले बताए । वडामा कुमाल, बोटे, र दरै जातिको बाहुल्यता रहेको छ । वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस