• जीवनशैली | Jiwanshaili
  • भगवान् गणेशलाई दूबो किन चढाइन्छ, यस्तो छ रहस्य


    भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको विशेष महत्त्व छ । दूबोविना उनको पूजा नै पूर्ण हुँदैन । त्यस्तै, तुलसी भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ ।

    गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।

    असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे । अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताए । अनलासुरसँग युद्ध गर्न गणेशजी गए ।

    असुरले उनलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निले । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो । धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।

    त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिए । दूबो खाएपछि गणेशजीको पीडा शान्त भयो । त्यतिबेलादेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।

    गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मानेनन् । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिए ।

    राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भने ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस