• जीवनशैली | Jiwanshaili
  • किन भन्छिन् आमाले छोरी नजन्मिए हुन्थ्यो !


    संसारका अधिकांश नारी एक दिन आमा बन्छन् र धेरैमा एकपट आमा बन्नै पर्छ भन्ने सोच हुन्छ । कुनै कारण वस अपवाद सन्तान नभएकालाई छाड्ने हो भने सबै नारी एकदिन आमा बन्ने शौभाग्य पाउँछन् । एउटी नारी छोरी, बहिनी, श्रीमती, बुहारी, भाउजू, काकी, माईजू आमाजू हुँदै सासूसम्म बन्छिन् । तर समाजले नारीको स्वरुपलाई त्यतिबेला सम्म पूर्ण मान्दैन जबसम्म उनी आमा बन्दिनन् । स्वभावैले नारीहरु सानैदेखि बच्चाप्रति अलिक बढीनै लगाव राख्छन् । आफ्ना घरमा भएका भाईबहिनी मात्रै होईन छर छिमेकीमा भएका स–सना बालबालिका प्रति पनि उनीहरु आकर्षित हुन्छन् ।

    आमाको ममता र छोराछोरी

    जब एक नारी आफू आमा बन्छे अनिमात्र मातृत्वको महत्व थप बुझ्दै जान्छे । नारी अर्थात आमालाई सृष्टिको नमुना र ममताको खानी भनिन्छ । त्यस्तो ममताको खानी जो न कहिल्यै रितिन्छ न कहिल्यै सकिन्छ । भनिन्छ आमाको ममताले कहिल्यै पनि छोराछोरी भनेर छुट्याउदैन । यो त हाम्रो समाज पितृसत्तात्मक नियम कानुनको परिबन्धमा बाँधिएका कारण छोराछोरीबीच बिच भेदभाव हुने गर्दछ । केहि उच्च र शिक्षित परिवारमा लैगिंक विभेद नभए पनि गाउँघर र शिक्षाको पहुच बाहिर अझ भनौं पितृसत्तात्मक र पुरातनवादी सोच भएको परिवारमा छोरा अनिवार्य जस्तो नै छ ।

    समाज र परिवारको बाध्यता मात्रै होईन छोराकै चाहनाले गर्दा ८ –९ जना छोरी जन्माउने आमाहरु पनि हाम्रो समाजमा छन् । ९ जनासम्म छोरी जन्माएर पनि एउटी आमाले समाजको प्रश्नबाट उन्मुक्ति पाउन नसकेर श्रीमानलाई दोश्रो बिहे गर्न स्विकृती दिनुपर्ने बाध्यतामा परेका उदाहरण पनि हाम्रै समाजमा भेटिन्छन्् ।

    किन चाहदिनन्, आमाले छोरी

    अघि नै भनिसकियो आमाको ममतामा छोराछोरीको भेद हुँदैन । आमाको ममताको न्यायालय फराकिलो र वृहत छ । तर आमाले पनि छोरा जन्माउन किन चाहन्छिन् र ? उसो त नारीबिना जीवन असम्भव छ । सबै आमाहरुले छोरा नै चाहने हो भने जीवन कसरी अगाडी बढ्छ ? भन्ने प्रश्न उठ्न सक्छ ।

    समाजमा दैनिक भइरहने छोरीहरुकोे बलात्कार, हत्या, हिंसा लगायतका घटनाले गर्दा धेरै आमाहरुले मेरो छोरी नभइदिएको भए हुन्थ्यो भन्ने सोच्छन् । छोरीहरुप्रति माया नभएर होइन, छोरीहरु अशुरक्षित भएको अनुभूति भएर । विभिन्न सञ्चार माध्यममा आउने बलात्कार, बलात्कारपछि हत्या, बाबुद्वारा छोरी बलात्कृत, एसिड आक्रमण, दाइजोको निहुमा बुहारीको हत्या जस्ता समाचारका कारण छोरी भएका आमाहरुको मन सँधै विचलित भइरहन्छ ।

    अझ आज भोल त विभिन्न यु ट्युव च्यानलहरुमा स–सानो कुरालाई बढाई चढाई प्रसारण गरेर छोरीहरुमाथि गरिने चारित्रिक हिंसाले आमाहरुलाई झन् त्रसित बनाएको छ ।
    छोरी भएका धेरै आमाहरु भन्छन् । छोरी घरमा एक्लै हुँदा होस् या स्कुलबाट समयमा घर नफर्किए सम्म मन आत्तिइरहन्छ । मनमा अनेक थरी कुराहरु खेल्छन् । उनीहरु भन्छन् छोरीहरुको उमेर जति बढ्दै जान्छ उत्ति नै मनमा चिन्ता पनि बढ्दै जान्छ ।

    छोरी जन्माउने यी अभागी आमाहरु

    भनिन्छ छोरीहरु घरका लक्ष्मी हुन् , छोरी बिनाको घर सून्य हुन्छ, छोरी जन्माउने आमा भाग्यमानी हुन् छोरीले आमाको साथ कहिल्यै छोड्दिनन् । छोरी सौभाग्यकी प्रतिक हो । यस्तै भन्छ हाम्रो समाज । तर हाम्रो यहि समाजमा यस्ता आमाहरु छन् । जो मृत छोरीको न्यायको लागी लडीरहेका छन्, घाइते अवस्थाका छोरीहरुको पीडा हेर्दै तड्पीरहेका छन् । जसलाई छोरी जनमाउँदा आफु अभागी भएको आभाष भइरहन्छ ।

    निर्मला पन्तकी आमा दुर्गा देवी

    निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको सबैभन्दा दर्दनाक र जघन्य हत्याकाण्ड मध्ये एक हो । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी निर्मलाको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । निर्मलाको हत्या भएको २ वर्ष बितीसकेको छ तर अँझै उनको हत्यारा पत्ता लाग्न सकेको छैन । आमा दुर्गा देवी छोरीको न्यायका लागी लडिरहेकी छन् ।

    मुस्कान खातुनकी आमा सहनाज खातुन

    २०७६ भदौ २० गते बिहान करिब ६ बजेतिर घरबाट विद्यालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि बीरगञ्जमा एसिड प्रहार भयो । जसका कारण उनको अनुहार नै कुरुप बनेको छ । उनिमाथी एसीड प्रहार गर्नेलाई कार्वाही त भयो तर मुस्कानको अनुहारमा त्यो पुरानो मुस्कान आउन सकेन । मुस्कानकी आमा छोरीको पीडामा छिन् । प्रत्येक पल उनलाई लागि रहन्छ मुस्कान छोरी नभएर छोरा भएको भए उनले त्यो नियति भोग्नुपर्ने थिएन ।

    निर्मला छोरी भएकै कारण बलात्कार र हत्याको शिकार बनिन्, मुस्कानलाई छोरी भएकै कारण एसीड छ्यापियो । दुर्गादेवी र सहनाज त उदाहरण मात्रै हुन् । हाम्रो समाजमा त्यस्ता हजारौं आमाहरु छन् । जसका छोरीहरु आफन्त पर्ने केही दानवरुपी पुरुषबाट बलात्कृत भएका छन्, दिन दहाडै बाटोमा हिँड्दा एसिड आक्रमणको शिकार बनेका छन्, दाइजो कम ल्याएको निहुमा जिउँदै शरिरमा आगो लगाएर मारिएका छन् ।

    नेपालमा बलात्कारको अवस्था

    पछिल्लो दुई आर्थिक वर्षको तथ्याँकअनुसार नेपालमा हरेक दिन औसतमा ६ बलात्कारका घटना हुने गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगाइएको लकडाउन र निषेधाज्ञाका समयमा नेपालमा ६ सय ३२ बलात्कारका घटना सार्वजनिक भएका छन् । पछिल्लो समय आफन्त, चिनजानको व्यक्तिबाटै बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो रहेको पाइएको छ ।

    यस्तोमा आफ्नी छोरीलाई सुरक्षित राख्न नसकेको पीडा आमाले भोग्नु परेको हुन्छ । यसको मतलब कदापी यो होइन की बाबु वा परिवारका अन्य सदस्य पीडित हुँदैनन । तर समाजमा बढ्दो यस्ता घटनाले गर्दा आमाले आप्mनो छोरीप्रति हेरक पुरुषसँग ससंकित हुनु पर्ने अवस्था छ ।

    यो स्थिति किन आयो ? हाम्रो समाजमा लगातार यस्ता घटना किन बढ्दै छन् ? एकपटक समाजका अगुवा अनि राज्यले निकै चिन्तित भएर सोच्ने की ? नत्र पछिल्ला जनगणनाहरुमा नेपालमा महिला पुरुषको अनुपातमा महिला सँधै बढी हुन्थे जुन पछिल्लो समय निकै घटेको छ । यसका पछाडि यस्तै कारण हरु त छैनन् । गौर गरौं ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस