चुँडिएको हात १० घण्टाको लामो शल्यक्रियापछि जोडियो
काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल भएका हुन् ।
सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताए । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उनले जानकार दिए । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छिनिएको थियो ।
“हात छिनिएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उनले भने, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो । १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो। चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो ।
सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।
शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहेका थिए । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस