• जीवनशैली | Jiwanshaili
  • नेपालमा दैनिक १७ जनाले गर्छन् आत्महत्या


    विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्या रोकथाम तथा जनचेतना अभिवृद्धिको उद्देश्यका साथ प्रत्येक वर्षको सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । यस वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ ।

    यस वर्ष कोरोनाको संकट र लकडाउनले आम मानिसको शारीरिक, मानसिक, सामाजिक, आर्थिक अवस्थामा असर पु¥याएको छ । सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिमा यसको प्रभाव परेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या निकै बढेको तथ्याङकहरुले देखाएका छन् । पछिल्लो समय आत्महत्याको अवस्था भयानक हुँदै गएको भन्दै चेतनामुलक समाचार आइरहेका छन् । पछिल्लो समय आत्महत्यालाई कोरोना महामारीसँग जोडेर समेत हेर्ने गरिएको छ । तर, यो अहिलेको मात्र समस्या भने होइन । तर पनि अहिलेको अवस्थाले संख्या केही बढेको हुनसक्छ । तरपनि यसको स्वतन्त्र अनुसन्धान हुनु जरुरी छ ।

    नेपालमा आत्महत्या जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका रूपमा हेरिँदै आइएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८देखि १० प्रतिशतसम्मले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कूल संख्या ६ हजार २ सय ७९ रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५ हजार ७ सय ५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाए, जुन सरदर दैनिक १६ जना हुन आउँछ ।

    आत्महत्याका कारण

    १) मानसिक र व्यावहारिक समस्या (९० प्रतिशत)
    २) मनोसामाजिक तथा अन्य आघातजन्य घटना
    ३) घरेलु हिंसा र यौन दुव्र्यवहार
    ४) लागुऔषध र मादक पदार्थको दुव्र्यवसन
    ५) एक्लोपन
    ६) अन्तरवैयक्तिक सम्बन्ध बिग्रनु
    ७) आफ्नो नजिकको मान्छे गुमाउनु
    ८) पढाइ एवं काममा असफलता
    ९) प्रेममा असफलता
    १०) आर्थिक समस्या
    ११) सामाजिक रूपमा बदनाम भएको अनुभूति हुनु
    १२) नकारात्मक तनाव व्यवस्थापन र सामना विधि, अपनाउन नसक्नु आदि

    सम्भावित लक्षण

    0 बारम्बार निराशापन, एक्लोपन र फन्दामा परेको महसुस हुनु
    0 लागुऔषध र मादक पदार्थ सेवन बढ्नु
    0 निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु
    0 निद्रामा गडबडी र भावनात्मक उतारचढाव
    0 आत्महत्या गर्ने योजना बनाउनु, सामाजिक सञ्जालहरूमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनक अभिव्यक्तिहरू प्रकट गर्नु
    0 भविष्यप्रति निराशापन बढ्नु (भविष्य अन्धकार देख्नु, हेलचेक्रयाइँपूर्ण व्यवहार देखाउनु,
    0 चाँडो रिसाउनु, आफ्ना निजी सरसामान अर्कालाई दिनु र सामाजिक क्रियाकलाप (भोज र भेला) मा साथीभाइ आदिबाट टाढिनु

    जोखिमका तत्त्व

    0 मानसिक समस्या (उदासिनता, बाइपोलार डिसअर्डर, कडा मानसिक समस्याहरू आदि)
    0 कमजोर सामाजिक, आर्थिक र शैक्षिक स्तर
    0 बेरोजगारी तथा रोजगार गुमाउनु
    0 सामाजिक बहिष्कार र एक्लोपन
    0 पारिवारिक जीवन, सामाजिक सम्बन्ध र सहयोग प्रणालीमा समस्या
    0 समुदाय वा परिवारमा आत्महत्याको घटना वा प्रयास भएको
    0 शारीरिक एवं यौन शोषणबाट हुने आघात
    0 तनावको कमजोर व्यवस्थापन
    0 दीर्घरोग एवं दीर्घकालीन दुखाइ

    रोकथाम

    हाम्रो समाजमा मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडिन्छ र सकेसम्म (घरभित्रै) लुकाएर राख्ने गरिन्छ । कतिले गरिबीको कारणबाट सही उपचारसम्म पाउन सकेको हुँदैन ।

    त्यसैगरी मानसिक रोग पहिचान भएको खण्डमा परिवार वा समाजबाट उपेक्षित हुने डरले पनि मानिस आत्महत्या र मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन् । यसैले नेपालमा आत्महत्याविरुद्धको राष्ट्रिय नीति तयार गरेर त्यसको आधारमा ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यसलाई न्यूनीकरण गर्न सकिन्छ । यसका लागि परिवार, समाज र राज्य लागिपर्नुपर्ने देखिन्छ ।

    त्यसैगरी आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफुलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेका हुनसक्छ, उनीहरुलाई समस्याबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ । जसका कारण उनीहरु आफूलाई हलुका महसुस गर्छन् र आत्महत्याको विचार परित्याग गर्न सक्छन् । कतिपयले परीक्षाफल प्रकाशित हुनासाथ आत्महत्या गरेको देखिन्छ, त्यसैले शिक्षकमार्फत विद्यार्थीलाई परीक्षामा असफल हुनु भनेको सफलताका लागि नयाँ पाठ हो भनी सानैदेखि सिकाउनुपर्छ । उनीहरुलाई हेला गर्ने र हेप्नुहुँंदैन ।

    मूलभूतरूपमा हाम्रो समाजका बेथिति, महिला हिंसा, बेरोजगारी जस्ता समस्या हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिन्छ । सरसर्ती हेर्दा मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ ।

    यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस