भक्तपुरमा एकै घरका तीन जनाको हत्या, घरभित्रै शव फेला
भक्तपुर- मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोस्रोे तलाको भर्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको बताइएको छ ।
शुक्रबार करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिए ।
तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताए । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए । उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस