• जीवनशैली | Jiwanshaili
  • हेर्दाहेर्दै दैलोमै आएछ कोरोना !


    विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन सकेन । संक्रमण फैलिन नपाओस् भनेर सरकारले गत चैत ११ देखि ४ महिनासम्म लकडाउन गर्यो र त्यसपछि आवश्यकता अनुसार ठाउँठाउँमा निषेधाज्ञा लागू गरिरहेको छ । जसले गर्दा झन्डै ६ महिनादेखि सामाजिक/आर्थिक गतिविधि ठप्प प्राय छन् । महामारीका कारण हरेक नागरिक, समुदाय र क्षेत्र जोखिममा छन्, संकटमा परेका छन् ।

    सामाजिक/आर्थिक गतिविधि ठप्प भएको करिब ६ महिना पुगिसक्दा समेत निषेधाज्ञा र लकडाउन अर्थपूर्ण देखिएकका छैनन् । सम्बन्धित जिल्लाहरूमा निषेधाज्ञा लगाएपनि त्यसपछिका कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप पहलकदमीको कुनै तयारी, कार्यक्रम र योजना छैनन् । यो प्रतिकूल घडीमा न्युनतम सामाजिक सचेतना जगाउने र आइसोलेसन व्यवस्थित बनाउने कामहरू सरकारको कार्यसूचिमै छैनन् । स्थानीय निकाय पनि विस्तृत कार्यविधी बनाउन छोडेर केन्द्रीय सरकारको अनुकरण गरेर बेवास्तापूर्ण ढङ्गले बसेका छन् ।

    आउँदा दिनहरूमा कोरोनाले अझै कतिसम्म दुःख दिने छ त्यो अकल्पनीय छ । भौगोलिक र जनसंख्याको हिसाबले सानो भएपनि अमेरिका र भारतको अनुपातमा नेपाल अझ बढी प्रभावित हुनसक्ने यथेष्ट कारणहरु देख्न सकिन्छ, जसमध्य लापरबाही र हेल्चेक्राई अग्रपंक्तिमा आउँछन् । कोरोना भाइरसको रोकथाम र गम्भीरता सही ढङ्गले मनन नगरे यसको तत्कालीन असरबाट उम्कन त सकिन्न साथसाथै दीर्घकालीन असरबाट बँच्ने ढोकाहरु पनि बन्द हुने जोखिम बढ्छ ।

    कोरोना महामारी सगँसगैँ अर्को मुलभुत कुरा भनेको मिडिया अतिरञ्जना पनि हो । यद्यपि यो अलग्गै बहसको विषय हुन पनि सक्छ । परिस्थितिको प्रतिकुलतलाई हेर्दा यस्ता कुरालाई उपेक्षा गर्नु नै बेस हुन्छ । बरु अन्य आधारभूत कुराका बहसमा केन्द्रीकृत भए यो संकटको घडिलाई संयमताले पराजित गर्न सकिन्छ । मिडियाले फुकेजत्तिको घातक पनि त होइन कोरोना भाइरस । मिडियाको त धर्म भनेकै समाचार बिकाउने हो । त्यसैले उ जान्दछ, दुःख, पीडा, सहानुभूति र भय चाँडै बिक्छ । मिडिया त फगत आफ्नो धर्म निभाईरहेछ ।

    यो संकटको घडिमा मिडियालाई आँखा चिम्लेर विश्वास गर्ने अवस्था किमार्थ छैन । मिडियालाई एकतर्फी विश्वास गर्दै जाने हो भने कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न असम्भव नै छ । मिडियाकै लहैलहैमा लागेर मान्छेहरूले कोरोनालाई यतिविधि घृणा गर्नु जरुरी छैन । कोरोना भाइरस सार्सजस्तो १० प्रतिशत मृत्युदर वा मर्सजस्तो ३० प्रतिशत मृत्युदर वा इबोलाजस्तो ५१ प्रतिशत मृत्युदर बोकेर आएको पनि त छैन । कोरोना लाग्नेबित्तिकै शतप्रतिशत मानिसले मृत्युवरण गर्नुपर्ने भएको भए मात्र हाम्रो कुन हालत हुन्थ्यो कल्पनातीत विषय छ । कोरोना भाइरस मान्छेको अस्तित्व निमिट्यान्न पार्न होइन, सबक सिकाउन आएको हो । हाम्रो असमाजिक जीवनलाई समाजिक बनाउन आएको हो । यसबाट सिक्नुपर्ने पाठहरु यथेष्ट छन् ।

    सरकारले लकडाउन गरेपछि आम मानिसको व्यस्त र महत्वाकांक्षी जीवन एकाएक क्रमभङ्ग भयो । अनवरत बगिरहेको समयसँगै कैयन योजनहरुले बिट मारे । जातपातका कुरा गरेर अरुलाई हेपचेपमा पार्न खोज्ने मानिस स्वयं आफैं अछुत बन्नुपर्दा उक्त कष्टकर मनोदशाको नजिक आफूलाई सजिलै उभ्याए । हरेक सर्वसाधारणहरू दिनचर्याबाट मात्र अलग छैनन्, आफ्ना व्यस्त जिवनशैलीबाट पनि भिन्न उभिएका छन् । सुरुका केही महिने लकडाउनले नै हामीलाई उकुसमुकुस बनाइसकेको थियो । हामीले सरकारविरुद्ध लकडाउन खोल्न प्रतिकार पनि गर्यौं । तर अहिले परिस्थितिले कोल्टे फेरिसकेको छ । हजार आसपासको संख्यामा दैनिक संक्रमितहरु थपिदैं छन् । मृतकको संख्यामा पनि दैनिक बढ्दो छ । छरछिमेक र टोलगाउँमा संक्रमित फेला परेको खबरले बेलाबेला भयभीत तुल्याउँछ ।

    अब मस्तिष्कले होइन मनले सोच्ने बेला आएको छ । हाम्रो स्वास्थ्य र घर परिवारभन्दा ठूलो हो र, हाम्रा महत्वाकांक्षाहरु ? जीवनमा फेरीपनि चाहिएजति लक्ष्य हासिल गर्न सकिएला तर एकबारको जुनिमा स्वास्थ्य र घरपरिवार फेरीफेरी प्राप्त गर्न सकिंदैन । एकपटक मनन गर्नुस् । एकाध महिना अघि एक/दुई जना संक्रमित फेला पर्दा जुन सजगता हामीमा थियो पुनः उजागर गर्नुस् । जीवनमा धेरै बाँच्नुछ, अझै धेरै सफलता हाँसिल गर्नुछ, परिवारलाई धेरै खुशी दिनुछ । अब त आफू र परिवारलाई घरभित्र सुरक्षित राख्नुको बिकल्प पनि छैन । हेर्नुस् त हेर्दाहेर्दै अब त कोरोना दैलोमै आईपुगेछ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस