फुटपाथमा थरीथरी अवरोध, पैदलयात्रुलाई सास्ती
हाम्रो समाजमा एउटा पूर्वाधार निर्माण गर्दा अर्को बिग्रनु सामान्य कुरा हो । यौटा काम गर्दा अर्को बिगारेबापत कोही जिम्मेवार र जवाफदेही हुनुपर्ने परिपाटी सुरु भइसकेको छैन । सकेसम्म अर्को पक्षलाई अप्ठेरो नपारी काम गर्ने, यौटा संरचना बनाउँदा अर्कोलाई असहज नहुने, बनिसकेको पूर्वाधार प्रयोगमा अप्ठेरो नहुने गरी निर्माण गर्ने परम्परा हराइसकेको छ । यसको प्रष्ट तस्वीर देशका ठूला महानगर र नगरको शहरी जीवनमा अझै प्रष्ट देख्न सकिन्छ ।
ढल निर्माण गर्दा बाटो भत्काइनु, बाटो बनाउँदा बत्ती र टेलिफोन लाइन भद्रगोल हुनु इत्यादि कम्तीमा पनि राजधानी शहरको लागि नौलो विषय होइन । पूर्वाधार निर्माणको क्रममा सरकारी निकायकै बीचमा समन्वयको अभाव छ । सबैतिर देखिएजस्तै भद्रगोल पैदलयात्रुका लागि बनाइएका फुटपाथमा पनि छ । भद्रगोल व्यवस्थापनले दैनिक लाखौं पैदल यात्रुले सास्ती खेप्नुपरेको छ ।
फुटपाथमा यात्रा गर्ने क्रममा आइलाग्ने दशथरी अवरोधको फेहरिस्त हेर्नुहोस् ।
आकाशे पुल
आकाशे पुल पैदल यात्रुको सुविधाको लागि बनाइन्छ । यद्यपि आकाशे पुल निर्माण गर्दा पैदल यात्रुकै लागि बनाइएको फुटपाथ अतिक्रमण हुने गरेको छ । प्रायःजसो आकाशे पुलको संरचनाको कारण पैदल यात्रुले सास्ती खेप्नु परिरहेको हुन्छ ।
राजधानी शहरका पैदल यात्रु आकाशे पुलको पिलरको बीचबाट, निकै कम उचाइ भएको पुलको संरचनामा टाउको जोगाउँदै हिँड्नुपर्ने बाध्यता छ । आकाशे पुलमुनि बनाइएको शौचालयको दुर्गन्धले मच्चाउने आतंक त बहसको विषय बन्नै बाँकी छ । कतिपय आकाशे पुल निर्माण गर्दा फुटपाथ निकै साँघुरो भएर एकजना व्यक्तिसमेत मुस्किलले हिँड्नुपर्ने अवस्था छ । स्वस्थ, सबलाङ्ग व्यक्तिले नै सास्ती खेप्नुपर्ने गरी बनेका आकाशे पुलका मुनिबाटै दृष्टिविहीनका लागि भनेर ‘ट्याक्टाइल ट्रयाक’ बनाइएको छ ।
रुखका ठुटा र हाँगाबिँगा
चार फिटभन्दा कम उचाईमा फैलिएका रुखका हाँगा, एकाध फिट उचाई भएका रुखका ठुटा पैदल यात्राका क्रममा यत्रतत्र भेटिन्छन् । पुराना रुख जोगाउने र नयाँ रुख रोप्ने दुवैथरी काममा पैदल यात्रुको सुविधालाई नजरअन्दाज गरिएको छ । यो प्रवृत्तिले पैदल यात्रामा सास्ती थपेको छ ।
टेलिफोन क्याबिनेट
फुटपाथमा यात्रा गर्ने क्रममा टेलिफोन क्याबिनेट पटकपटक भेटिने गर्दछन् । कतिपय स्थानमा एकदुई सय मिटरमै दोहोरिएर आउने यस्ता क्याबिनेटले यात्रालाई झन्झटिलो बनाइदिन्छन् । टेलिफोन क्याबिनेट व्यवस्थित नहुँदा पैदल यात्रुले उछिन्न नमिल्ने, घुमेर हिँड्नुपर्ने बाध्यता छ ।
बत्तीका पोल
पैदल यात्रु जोगिएर हिँड्नुपर्ने अर्को संरचना हो, बत्तीको पोल । फुटपाथ ओगटेर बनाइएका बत्तीका पोलहरु मक्किएको, बाङ्गिएको, टेको लगाइएको अवस्थामा भेटिनु पनि नौलो विषय होइन ।
निर्माण सामग्रीको थुप्रो
भौतिक संरचना निर्माण बढ्दै जाँदा प्रतिदिन साँघुरो बन्दै गएको उपत्यकाको सडकमा निर्माण सामग्री राख्ने स्थान सहजै भेट्न मुस्किल छ । यही बाध्यताले गर्दा निजी, सार्वजनिक पूर्वाधार बनाउने क्रममा निर्माण सामग्री राख्ने ठाउँको रुपमा फुटपाथ प्रयोग हुने गरेको छ ।
अग्ला खुड्किला र खाल्डा खुल्डी
पैदल यात्राको क्रममा भेटिने अग्ला खुड्किला र खाल्डा खुल्डीले यात्रुलाई दिक्क बनाउने अवस्था छ । कहाँनेर पुग्दा फुटपाथमा अग्लो खुड्किलो भेटिन्छ र कहाँनेर खाल्डोमा खसिन्छ टुङ्गो छैन ।
सामान्य अवस्थामा यी अवरोधबारे उतिसारो चासो नभए पनि खुड्किला र खाल्डा खुल्डीले अपाङ्ग, बिरामी र वृद्धवृद्धाका लागि ठूलै चुनौती थपेका छन् ।
बस प्रतिक्षालय र सवारी पार्किङ
फुटपाथ ओगटेर बनाइएका बस प्रतिक्षालयहरु न त बस पर्खिनेका लागि सुविधाजनक छन् न पैदल यात्रुकै लागि । प्रतिक्षालयको संरचना विज्ञापनका सामग्री राख्नकै लागि बनाइएको जस्तो देखिन्छ । अन्यत्रको तुलनामा प्रतिक्षालय वरिपरिको क्षेत्रमा बढी फोहोर भेटिन्छ ।
राजधानीको दैनिकीमा सवारी पार्किङका लागि फुटपाथ प्रयोग हुनु सामान्य कुरा हो । घर, अफिस, व्यापार, व्यवसाय जुनसुकै स्थानमा पनि फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरेको पाइन्छ ।
फुटपाथ व्यापार
फुटपाथ व्यापारका अनेक आयाम छन् । यो आफैमा ठीक होकि होइन भन्ने बारेमा बेग्लै ढंगले बहस गरिनु आवश्यक छ । पैदल यात्रुको दृष्टिकोणबाट फुटपाथको व्यापार सास्तीको अर्को यौटा कारकभन्दा बढी केही होइन ।
खानेपानीको गेटबल
खानेपानी वितरण र व्यवस्थापनको लागि बनाइएका संरचना फुटपाथमा यत्रतत्र भेटिन्छन् । तीमध्ये सबैभन्दा बढी भेटिन्छ, गेटबल । खानेपानीसम्बन्धी अन्य पूर्वाधार, पानी वितरण हुने समयमा हुने लिकेज आदिले पनि पैदल यात्रामा व्यवधान खडा गर्दछन् ।
टुङ्गिने र हराउने फुटपाथ
राजधानीमा पैदल यात्रा गर्ने व्यक्तिले दैनिकरुपमा यौटा अनौठो समस्या भोग्नुपर्छ । आफु हिँडिरहेको फुटपाथ कहाँनेर पुग्दा टुङ्गिन्छ पत्तो हुँदैन । कतै खाल्डोको मुखमा, कतै चौबाटोमा, कतै अग्लो ढिस्कोमा पुगे फुटपाथ टुङ्गिन्छ ।
फुटपाथको चौडाईको न्युनतम मापदण्ड प्रायः पूरा भएको पाइँदैन । पैदल यात्राका क्रममा फुटपाथ क्रमशः साँघुरिएर आधा फिटमा आइपुग्छ अनि पैदल यात्रु मूलबाटोमा झर्नुको विकल्प छैन । कतै घर, पसलका सिँढी, कतै गेटमा ठोक्किएर राजधानीको फुटपाथ हराउनु पनि नौलो लाग्दैन ।
यो पनि हेर्नुहोस्
दृष्टिविहीनका लागि बनाइएका ‘ट्याक्टाइल ट्रयाक’ कति प्रभावकारी ?
https://jibanshaili.com/2020/01/06/18631/
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस