• जीवनशैली | Jiwanshaili
  • नेपालमा बलात्कारको बढ्दो ग्राफ: दैनिक ७ घटना


    दैनिक ७ भन्दा बढी बलात्कार

    गत वर्ष दिनमा ६ वटा बलात्कारका घटना थियो भने यो वर्ष ७ भन्दा बढी दर्ता भइरहेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार साउन र भदौमा मात्रै बलात्कारका ४ सय २० वटा मुद्दा दर्ता भएका छन् । दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए ।

    चालु वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । पछिल्लो तथ्यांक हेर्दा साउनमा सबैभन्दा बढी बलात्कारका घटना भएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार अधिकतम घटना परिचित र आफन्तबाट हुने गरेका छन् । बलात्कृतमध्ये ६० प्रतिशत जति १५ वर्षमुनिका बालिका छन् । त्यसमा पनि ११ देखि १५ वर्षबीचका धेरै छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र निमुखा बढी छन् । प्रहरी तथ्यांकअनुसार बिरामी, अपांगता भएका, स्कुल जाने उमेर नभएका, पाको उमेरका, गर्भवती र वृद्धासम्म बलात्कारीको सिकार हुने गरेका छन् ।

    गत वर्षमा यो उमेर समूहभित्रका ७ सयभन्दा बढी बलात्कृत र बलात्कारको प्रयासबाट पीडित भएको प्रहरी तथ्यांकमा उल्लेख छ । ६ महिनाकी शिशुसमेत बलात्कारीको मारमा परेको प्रहरी तथ्यांक छ । त्यस्तै ७५ वर्षसम्मका वृद्धसमेत यस्तो घीनलाग्दो अपराधको शिकार भइरहेका छन् । लकडाउनपछि चैत ११ यता देशभर हरेक दिन कम्तीमा पनि २ वटाका दरले बलात्कारका घटना भएका छन ्। सबैभन्दा धेरै उपत्यका र प्रदेश ५ मा बलात्कारका घटना भएका छन् ।

    किन हुन्छ बलात्कार ?

    बलात्कारका घटना दिन प्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसंख्या विवरण, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मानस्थिति, पुरूष प्रधान समाज, प्रहरी तथा कानुनी निकायको असक्षमता, सामाजिक सञ्जालको दुरूपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरूपयोग प्रमुख कारणहरू हुन् ।

    १. यौन शिक्षा
    मानिसले प्राप्त गर्ने ज्ञानको स्रोत परिवार, विद्यालय र समाज हो । बालबालिकालाई समाजले दिने शिक्षा, परिवारबाट पाउने शिक्षा र विद्यालयका पाठ्यक्रमबाट पाउने शिक्षाले बालबालिकाले कुन बाटो अँगाल्छन् भन्ने तय गर्छ । अझै पनि विद्यालय र परिवारमा यौनसम्बन्धी कुराको बारेमा खुलेर कुरा गर्ने संस्कारको विकास नहुनु, विद्यालयमा शिक्षक खुलेर पढाउन लजाउने, यौनका कुरा गर्दा नराम्रो दृष्टिले हेर्ने जस्ता मनोवृत्तिले गर्दा यौन शिक्षा प्रभावकारी हुन सकेको छैन । आपराधिक क्रियाकलाप हुनुमा मानिसले पाएको यौनशिक्षाको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

    २. पुरुष अहमता
    नेपाली समाजले पुरुषलाई सधैं बलियो पात्रको रूपमा हेर्ने गर्छ । पुरुषले आफूमा पुरुषत्वको घमण्ड गर्छ । पुरुषत्वको गलत प्रयोग गर्न तम्सिन्छ । पुरुष हाबी भएको समाजमा महिलाहरू पुरुषबाट पीडित हुनुपर्ने अवस्था सदियौं देखिको हो, जुन अहिले पनि ज्युँकात्यँु छ । पुरुषवादी अहमता पनि बलात्कारको कारण हो ।

    ३. सामाजिक अवहेलना
    नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । अझ भनौं महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ । जब एक महिला बलात्कृत हुन्छे, उसले न आफ्नो परिवारलाई भन्न सक्छे न त अरू कसैलाई । जब उसले म बलात्कृत भए भन्छे, उसले आफ्नो परिवारको इज्जत फाल्छे । समाजको आँखो बन्छे । यसकारण बलात्कृत महिलाहरू आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन् ।

    ४. न्यायिक नेतृत्व
    समाज र देशको हरेक मुख्य निर्णायक भूमिकामा पुरुष हाबी हुनु आपराधका घटनाहरू वृद्धि हुनुको अर्को कारण हो । प्रहरी प्रशासनमा ९५ प्रतिशतभन्दा बढी कार्यालयका प्रमुख पुरूषहरू नै छन् । बलात्कारबाट महिला पीडित हुन्छन् । बलात्कृत महिलाको भावना र पीडा एक महिला कर्मचारीले जुन गहिराइसम्म बुझ्न सक्छ, त्यो कदापि पुरूष कर्मचारील बुझ्न सक्दैन । जब एउटा महिला बलात्कृत हुन्छे, ऊ प्रहरी प्रशासन पुग्दा अर्को पुरूषको सामना गर्नुपर्ने हुन्छ । पुरूष प्रहरीका कतिपय अनुसन्धानका प्रश्नहरू पीडितका लागि पीडादायी अस्त्र बनिदिन्छन् । कैयौँ अवस्थामा प्रहरी स्वतः उजुरी दर्ता गर्नुको सट्टामा मिलापत्र गराउन, आर्थिक लेनदेनको कुरा मिलाउने ठेकेदारको भूमिका निर्वाह गर्नसमेत पछाडि पर्दैनन् ।

    ७. इन्टरनेट तथा सामाजिक सञ्जाल
    नेपालमा भएको सञ्चारको विकास र यसको दुरुपयोग बलात्कार हुनुको अर्को कारण हो । हरेक व्यक्तिको मोबाइल इन्टरनेटमा पहुँच, पोर्न फिल्महरूको लत र त्यसको अनुशरणले महिलाहरू बलात्कृत हुन पुग्छन् । त्यस्तै, सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका खराब मानिसहरूसँग साथी बन्ने, मनोभावना र नियत नबुझीकन हुने एक अर्काको आकर्षणले पनि यस्ता घटनाहरू घट्ने गर्छन् ।

    ८. मादक पदार्थ सेवन
    बलात्कारको अर्को मुख्य कारण मादक पदार्थको सेवन पनि एक हो । आफन्तबाटै हुने बलात्कारका अधिकांस घटनाहरू मादक पदार्थ सेवनका कारण हुने गरेका छन् ।
    पीडितलाई उल्टै पीडाको मार

    रेडियो, अनलाइनलगायत सामाजिक सञ्जालमा पछिल्लो समय बलात्कारका समाचारहरू दिनहुँ आउने गरेका छन् । हामीले कल्पनासम्म नगरेका बलात्कारका जघन्य घटनाहरू हुने गरेका छन् । बसभित्रै बलात्कार, मन्दिरमा बलात्कार, केही दिनअघि कान्तिपुर दैनिकमा छापिएको बझाङको बुंगल नगरपालिकाकी एक युवतीलाई आफ्नै पति र ससुराले मिलेर बलात्कार गरी वेश्यावृत्तिमा लगाएको सम्बन्धी समाचार छापिएको थियो ।

    यस्ता समाचारले मानव मनलाई एकपटक घोत्लिन विवश गराउँछ । किन हाम्रो समाजमा मानवता हराउँदै गएको छ ? मान्छे यति धेरै क्रुर किन हुँदै गएको छ ? पुरा देश नै हल्लाएको निर्मला बलात्कार तथा हत्याकाण्डपछि त्यस्तै प्रकृतिका धेरै घटनाहरू घटे । कतिपय घटनाका अपराधीहरू पनि पक्राउ परे तर नेपालको फितलो कानुन र पहुँचका आधारमा अपराधीहरूले पाउनुपर्ने जति सजाय पाइरहेका छैनन् र नयाँ घटनाहरू बढिरहेका छन् । यतिसम्मकी ६ महिनाकी शिशुसमेत बलात्कारीको मारमा परेको प्रहरी तथ्यांक छ । यस्ता कलिला बालिकाको बलात्कारले समाजको एक पुरूरुा पात्र हुनुमै लज्जाबोध बनाउँछ ।

    समाधानका उपाय

    विद्यालय तहदेखि नै यौन शिक्षामा सुधार गर्नु महत्त्वपूर्ण छ । विद्यालय तहमा छात्र र छात्रालाई फरक फरक यौन शिक्षाको खाँचो हुन्छ । यौनको विषय केटा र केटीमा केही समान भए पनि ज्ञानको आवश्यकता फरक फरक हुन सक्छ । छात्र र छात्रालाई भिन्न भिन्न व्यावहारिक यौन शिक्षा दिन सकेमा बलात्कार नियन्त्रणमा सघाउ पुग्दछ । विद्यालयमा छात्राहरूलाई आत्मरक्षा तालिम दिने व्यवस्था अर्को प्रभावकारी उपाय हुन सक्छ ।

    कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानविन तथा पीडितलाई न्याय, सहज चुस्त दुरूस्त र संरक्षित महिलामैत्री उजुरी प्रक्रिया बनाउन सकेमा अपराध न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै पीडित र पीडितका परिवारलाई मनो सामाजिक परामर्श दिनु जरूरी हुन्छ । परिवारले पीडितलाई कसरी सम्हाल्ने र आफू कसरी सम्हालिने भनेर बुझ्न सकेमा पीडितलाई परिवार र समाजमा पुनस्र्थापनामा गर्न सकिन्छ ।

    अन्त्यमा, बलात्कारका घटनामा महिला सचेत भएर मात्रै पुग्दैन । पिडक भनौ या बलात्कारी जो भएपनि पुरूष हो । उसका पनि दिदीबहिनी होलान्, आमा होलिन्, भान्जीहरू होलान्, श्रीमती होलिन् वा कोही स्त्री आफन्त होलान् । त्यो पुरुषले पीडितको आफन्तको स्थानमा बसेर पीडा महशुस गर्न आवश्यक छ । त्यसैले हरेक पुरुषले बलात्कारविरूद्धको अभियानमा साथ दिऔं ।

    हिंसामा परेका बालिका तथा महिलाहरूलाई लाञ्छना नलगाऔं । आलोचना नगरौं । जीवित पीडित र पीडितका परिवारलाई सहयोग गरौं । जबसम्म पुरूष बलात्कारविरूद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस