• जीवनशैली | Jiwanshaili
  • बाहिरियो मनसुन


    नेपालबाट मनसुन पूरै बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन असोज ३० गतेबाट बाहिरिएको हो।

    शुक्रबार दिउँसो ‘मनसुन बहिर्गमन बुलेटिन’ जारी गरी महाशाखाले आजबाट देशको सम्पूर्ण भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जानकारी दिएको हो।

    ‘२०७७ जेठ ३० गतेदेखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट असोज १५ गते नै बहिर्गमन भइसकेको सर्वविदित नै छ,’ महाशहाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आज मिति २०७७/०६/३० गतेदेखि देशका सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको बेहोरा अनुरोध छ।’

    मनसुन बाहिरिनु भनेको औपचारिक रूपमा वर्षात् मौसमको अन्त्य हुनु हो। अब भारी वर्षाको सम्भावना रहँदैन।

    महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन भने प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस