• जीवनशैली | Jiwanshaili
  • मन लोभ्याउने कोहलपुरको ‘डिभाइन कटिया’


    रौतहटको कटिया अहिले पश्चिममा पनि लोकप्रिय बन्दै गएको छ। पश्चिममा लोकप्रिय बनेको कटिया अहिले ‘डिभाइ डिस’ मा पाइने गर्छ। रौतहटको गरुडा भन्ने ठाउँबाट सुरु भएको कटियाको काठमाडौं हुँदै पश्चिम नेपालको बाँकेसम्म पुगेको छ। स्वादका पारखीहरुलाई कटियाले निकै नै आकर्षित गर्ने विश्वाससहित ओम प्रकाश चापागाईले बाँकेमा ‘अर्गानिक होटल एण्ड डिभाइन डिस’ सञ्चालनमा ल्याएका छन्। यो कोहलपुर वडा नं २ को मनकामना चोकमा स्थापित छ। जसले खानाका पारखीहरुलाई यहाँ डोर्‍याउने गर्छ।

    डिभाइन डिसका संचालक चापागाईंले खसीको मासुको निकै मिठो परिकार कटिया (माटोको भाँडामा पकाइने मासुको परिकार) का लागि किचन संचालनमा ल्याएको बताए। जागिरको सिलसिलामा ८ वर्ष मलयसियामा रहेका बेला रौतहटका साथी मार्फत् आफूले कटिया बनाउन सिकेको उनले बताए। उनले अहिले मासुको परिकारका पारखीहरुको मागलाई ध्यानमा राख्दै कटिया परिकारका लागि होटल संचालनमा ल्याएका हुन्।

    माटोको भाँडामा पकाएको मासु अर्थात कटियाको मौलिक स्वाद पस्केको डिभाइन डिसमा मासुका बिभिन्न स्वादिलो र अलौकिक परिकारहरु पनि चाख्न पाइन्छ। मटन मट्का बिर्यानी, चिकन समोसा, लोकल कुखुरा, अर्गानिक वस्तुहरु मार्सी चामल, फावर, ढिँडो, घिउ, मह, सिमी लगायतका वस्तुहरु पनि अर्गानिक किचनमा पाइने चापागाईले बताए।

    डिभाइन डिसले माटोको भाँडामा बनाइएका खानेकुरालाई पहिलो प्राथमिक्तामा राख्ने गरेको जानकारी चापागाईले दिए। ‘हामी सकेसम्म अर्गानिक खुवाउने पक्षमा छौ’, उनले भने, ‘खानाका पारखीहरुलाई अर्गानिक अनि स्वादिष्ट परिकार पस्कन्छौं।’ माटोको विशेषखालको भाँडोमा पकाइने खसीको मासुलाई कटिया भनिन्छ। माटोको भाँडोमा प्याज, जिराको गेडा, अदुवाको टुक्रा, सुकेको खुर्सानी, मरिच, बेसार, लोकल लसुन, मसला र खसीको मासु राखेर करिब डेढ घन्टा कोइलामा पकाएपछि कटिया तयार हुन्छ।

    पूर्ण रुपमा पारिवारिक वातावरणमा स्वादिष्ट, स्वच्छ र अर्गानिक खानेकुरा पस्कने डिभाइन डिसले माटोको भाँडामै बनाएर खसीको बिर्यानी पनि खुवाउने गर्छ। माटोको भाँडामा पकाएर मौलिक र अलौकिक स्वाद दिने चापागाईले आफूले बनाउने कटियाको बिधि हामीसँग साझा गरेका छन्।

    घरमै यसरी बनाउनुहोस् मटन कटियाः

    चाहिने सामग्रीः

    खसीको मासू ३५० ग्राम
    जीरा
    धनिया
    ल्वांग
    सुकमेल
    तेज पत्ता
    स्टारफूल
    दालचिनी
    ठूलो इलाइची
    मरिचको दाना
    प्याज
    लसुन
    नुन र बेसारडिभाइनमा विषेश खालको मसला पनि राखिन्छ जुन डिभाइनको आफ्नै रेसिपी हो। १७ वटा मसला हालेर गरम मसला बनाइन्छ, जुन दुई चम्चा हाल्ने।

    बनाउने बिधिः

    बलिरहेको कोइलाको आगोमा माटो भाँडा मट्का बसाल्ने
    ५० ग्राम तेल राख्ने
    तयार पारेको मसला, नुन, बेसार र खुर्सानी हाल्ने
    यी सबै मसलाहरु नपिसेर सिँगै अर्थात खडा मसला हाल्ने
    अब मासु हाल्ने
    प्याज राख्ने
    माटोको प्यालाले (छोप्ने भाडो) राखेर पिठोले सिल गर्ने
    सेकुवा बनाउने आगोमा डेढ घण्टा पकाउने
    बीच बीचमा मासुलाई चलाउने
    अब तयार भयो तपाईको स्वादिलो मटन कटिया।

    डिभाइन डिसले अहिले ५ जना अर्गानिक कुकहरुलाई रोजगार दिएको छ। ६ सय रुपैयाँ मूल्य निर्धारण गरिएको कटिया खान टाढा टाढाबाट यहाँसम्म आउने गरेको चापाईले बताए। उनी भन्छन्, ‘दाङ, सुर्खेत, नेपालगन्ज, बर्दिया मात्र नभई कैललीदेखि दैलेखसम्मका मानिसहरु यहाँ आउनुहुन्छ, आफ्नो गन्तब्यमा हिँडेका यात्रुहरु पनि यहाँ बसेर कटिया खाएर जानुहुन्छ।’

    पश्चिम नपालकै उत्कृष्ठ कटिया हाउस बनाउने लक्ष्य राखेको डिभाइन डिसले बजारीया मसला प्रयोग नगरी बिल्कुलै अर्गानिक खानेकुरा खुवाउने चापाईको भनाई छ। ‘हामी बजारमा पाइने मसलाहरुको बिल्कुलै प्रयोग गर्दैनौं, आफ्ना ग्राहकहरुलाई मौलिक र अर्गानिक मसलाको स्वाद चखाउँछौं।’

    यस्तै, माटोको भाँडामा पकाएको चिया, भक्तपुरको प्रसिद्ध जुजु धौंको मजा पनि यहाँ आउने ग्राहकले लिन सक्नेछन्। अझ विशेष गरि लामो दूरी तय गरेका यात्रुहरुको रोजाईमा पर्ने गरेको छ, डिभाइन डिस।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस