• जीवनशैली | Jiwanshaili
  • सरकारी अस्पतालको शिलान्यास


    सरकारले सबै पालिकामा कम्तिमा एउटा १५ श्ययाको सरकारी अस्पताल निर्माण गर्ने नीतिअनुसार आज पहिलो अस्पतालको रुपन्देहीमा शिलान्यास गरिएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा निर्माण हुने १५ श्ययाको सरकारी अस्पतालको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभयो । तिलोत्तमा नगरपालिकामा विसं २०४० मा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु १७ करोड लागत अनुमान गरिएको छ । उक्त क्षेत्रमा १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व गोपाल, अमृतप्रसाद र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनुभएको हो । विसं २०४० मा उहाँहरुले १० कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उहाँका छोराले थप चार कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नति सहज भएको हो ।

    अस्पतालमा हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने छ । अर्थमन्त्री पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट बताउँदै बजेटको सुनिश्चितता गराउने बताउनुभयो । उहाँले सरोकारवाला सबैले गुणस्तरीय निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

    उहाँले तिलोत्तमाकै सेमरा बजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । तिलोत्तमाको वडा नं। १ र ८ को २०० बिघा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकै गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पुल, सिँचाइ नहरलगायत थुप्रै विकास योजना अघि बढाइने बताउनुभयो ।

    प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तीनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो । तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनुभएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो ।

    जग्गादाता मध्येका जीवनप्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रियस्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझै उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति हुँदा ओझा परिवार गौरवान्वित भएको बताउनुभयो । त्यस क्रममा जग्गा उपलब्ध गराउने जीवनप्रसाद ओझा, कल्याणप्रसाद ओझा र नारायणप्रसाद ओझालाई सम्मान गरिएको थियो ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार