• जीवनशैली | Jiwanshaili
  • बूढी गाई गिद्धको नजरमा


    दमौली- छाडारूपमा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको हो ।

    नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल १३० भन्दा बढी गाई र तीनवटा गोरु छन् । नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि विसं २०७५ वैशाखदेखि गौ संरक्षण केन्द्र सञ्चालन भइरहेको छ । केन्द्रमा पशुचौपायको हेरचाहका लागि नगरपालिकाले दुई सहयोगी कर्मचारी राखेको छ ।

    केन्द्रमा रहेका धेरैजसो गाई अशक्त अवस्थाका छन् । अति कमजोर अवस्थाका गाईलाई जिउँदै गिद्धले ठुँगेर मारिदिने गरेको केन्द्रका कोषाध्यक्ष भीष्म पौडेलले बताए । वर्षौँदेखि स्याहार नपाएका, दूध दिन छाडी थारा भएका, बूढा भएका गाई नै संरक्षण केन्द्रमा ल्याइने गरेकाले गाईहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको पौडेलले जानकारी दिए । “मर्नै लागेका गाई गाडीमा ल्याएर छाड्छन्, कतिले घिच्याउँदै ल्याएर छाड्छन्, त्यस्ता गाई गिद्धको नजरमा पर्छन्”, पौडेलले भने ।

    कमजोर गाईलाई गिद्धले जिउँदै सताउने गरेको भए पनि मरेका गाईको व्यवस्थापनमा समेत गिद्ध सहयोगी बनिरहेको पौडेलको भनाइ छ । मरेका गाई घिसार्दै केही पर सेती नदीको भिरमा फालिदिने र गिद्धले खाने गरेको उनले बताए । “शुरु–शुरुमा खाल्डा खनेर गाड्ने गरेका थियौं, ढुङ्गैढुङ्गा भएको जमिन भएकाले कर्मचारीले खाल्डो खन्न नसक्ने, डोजर भनेको समयमा नपाइने भएकाले गाईको शव गिद्धकै आहारा हुने गरेका छन्”, उनले भने । समय–समयमा समितिको बैठक नबस्दा केन्द्रलाई थप व्यवस्थित बनाउन नसकिएको कोषाध्यक्ष पौडेलले गुनासो गरे ।

    छाडा गाईगोरुले बारम्बार खेती खाइदिँदा हैरान परेका स्थानीयवासी भने संरक्षण केन्द्र बनेपछि खुशी भएका छन् । गौ संरक्षण केन्द्र बनेपछि छाडा चौपायका कारण नगर क्षेत्रमा हुने सडक दुर्घटना घटेको केन्द्रका संयोजक गीता महतले जानकारी दिइन् ।

    यौनजन्य दुर्व्यवहारविरुद्ध अभियान शुरु

    सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ । विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ प्रहरीले बिहीबार एक कार्यक्रमको आयोजना गरी यौनजन्य हिंसा र दुर्व्यवहारविरुद्ध ‘सेफ्टी पिन’ अभियान शुभारम्भ गरेको हो ।

    सार्वजनिक स्थानमा हुने भेला, सभा तथा अन्य कार्यक्रम एवं होटल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार गर्नेलाई कारवाही गर्न त्यस्ता स्थानमा सादा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । “अभियुक्तलाई तत्कालै पक्राउ गरी कारवाही थाल्न तथा पीडितलाई न्यायका लागि एवं सार्वजनिक स्थानमा हुने दुव्र्यवहारका घटनालाई न्यूनीकरण गर्न अभियान प्रभावकारी हुनेछ”, उनले भने ।

    अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक स्थानमा महिलामाथि यौनजन्य र अन्य खाले हिंसा हुने भएकाले त्यस्ता हिंसा र दुर्व्यवहारको अन्त्य गर्न प्रहरीको अभियान सफल हुने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई, व्यासभूमि यातायात व्यवसायी सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महिला सशक्तीकरण सञ्चार समाज तनहुँका अध्यक्ष प्रकृति खनाललगायतले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा र दुर्व्यवहार अन्त्य गर्न सबैले प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारको घटनाको सूचना सङ्कलन, सचेतना र कारवाहीका लागि अभियान सञ्चालन हुने जानकारी दिए ।

    आठ सवारी नियन्त्रणमा

    तनहुँको विभिन्न स्थानबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले बिहीबार आठ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

    व्यास–११ शेरास्थित बुल्दीखोला किनारबाट नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८, ग १ त ४६१७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

    म्याग्दे–५ छाङपाटनस्थित निषेधित जग्गामा गिट्टी बालुवा उत्खनन एवं लोड गरिरहेको अवस्थामा ग१त १५५५ नंको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । त्यस्तै बन्दिपुर–६ स्थित नमूना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना७ख ६१५, ग१क ४२३८, ग१ख ९२५३ र बा२क ५२७६ नंको टिपर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस