• जीवनशैली | Jiwanshaili
  • सामाजिक दूरीको असामाजिक कथा


    कोरोना भाइरसको महामारीले धेरै विषयमा ज्ञान दिएको छ । चाहे जुनसुकै कारणले होस् सिकाइ हासिल हुनु, ज्ञान प्राप्त हुनु आफैमा नराम्रो होइन । यसपालिको विश्‍वव्यापी महामारीको कारण हाम्रो शब्दभण्‍डारमा केही शब्द थपिएका छन् । तीमध्ये एक हो, सामाजिक दूरी । जुन महामारीसँग जुध्‍ने उपक्रममा अतिशय ज्ञान पोखिएको विषय पनि हो । पृष्ठभूमिमा डर, त्रास अथवा नेपाली समाजको अजासु प्रवृत्ति जेसुकै भएपनि सामाजिक दूरीसम्बन्धी चेतनाले अनर्थ निम्त्याएको छ । र, त्यो अनर्थको सिलसिला सामान्यजनमा मात्रै सिमित छैन ।

    शब्दकै गलत प्रयोग

    कोरोना कालमा अन्तर्राष्ट्रियस्तरका जनस्वास्थ्य विज्ञहरुले भाइरस संक्रमणबाट जोगिनका लागि सिकाएको सबैभन्दा प्रभावकारी उपाय न्युनतम दूरी कायम गर्नु हो । यसमा दुईमत छैन । हामीले पनि कुनै न कुनैरुपमा त्यसको प्रयोग गरिरहेकै छौं । तर, त्यो न्युनतम दूरी भौतिक दूरी हो न कि सामाजिक दूरी ।

    अङ्ग्रेजीको सोसल डिस्टान्सबाट नेपाली भाषामा सामाजिक दूरीमा रुपान्तरण भएको शब्दबारे संसारभरि नै द्विविधा र गलत बुझाई रहेको पाइयो । यस सम्बन्धमा युनिसेफले प्रकाशन गरेको एयटा न्युज नोटमा भनिएको छ- ‘फिजिकल नट सोसल डिस्टान्सिङ ।’ उक्त नोटमा उल्लेख भएअनुसार ‘सामाजिक दूरी भन्‍ने शब्दावलीले मानिसहरुलाई ‘मिसलिडिङ’ गरिरहेको छ । कोरोनाकालमा हामी भावनात्मक र सामाजिकरुपमा सबैसँग जोडिनु आवश्यक छ ।’

    लकडाउन घोषणा हुनेबित्तिकै प्रशासनले घरबाहिर निस्किए पक्रिने उर्दी जारी गर्‍यो भने हामी जसरी पनि गाउँ फर्कने उपक्रममा लाग्यौं । बुझकीहरुले देशको हालत ईटालीजस्तो हुने भन्दै आतङ्‍क मच्चाए । जबकि त्यतिखेर पनि न्युनतम भौतिक दूरी कायम राखेर दैनिक जीवन चलाउन सकिने रहेछ । देशभित्रै केही जिल्लामा संक्रमण बढेसँगै बाँकी जिल्लाको हालत त्यस्तै हुने (वीरगन्ज, बाँके, उदयपूर इत्यादिजस्तै) भन्दै तर्साउने सिलसिला चलिरह्यो ।

    सन् १८२८ देखि प्रकाशित हुँदै आएको मेरियम वेब्स्टर डिक्सनरीका अनुसार सामाजिक दूरी भन्‍ने शब्द सन् २००३ देखि प्रचलनमा आएको हो । जसको प्रयोग भौतिकरुपमा निकटता कम गर्ने भन्‍ने अर्थमा गरिन्छ । सोही डिक्सनरीमा सामाजिक दूरीलाई परिभाषित गर्दै भनिएको छ- सामान्य अवस्थामा भन्दा बढी भौतिक दूरी कायम गर्ने अभ्यास । परिभाषा अनुसार संक्रामक रोगबाट बच्‍न अन्य व्यक्ति र वस्तुको प्रत्यक्ष सम्पर्क हटाउनु यो दूरीको उद्देश्य हो ।

    कोरोना भाइरसको सन्दर्भमा सामाजिक दूरीको प्रयोग संक्रमण घटाउने उद्देश्यमा आधारित छ । यद्यपि यसप्रतिको अज्ञान वा अधिक बुझाईका कारण मानिसहरु सामाजिक सम्बन्धमै असर पर्ने गरी दूरी कायम गर्न उद्यत छन् । सामाजिक वा भौतिक दूरी जुनसुकै रुपमा बुझेपनि परिवार, समाज, साथीभाई, इष्टमित्रसँग दूरी कायम गर्नु महामारीबाहेकको अवस्थामा पनि ठीक होइन ।

    स्मरण रहोस्, पछिल्ला दिनमा सामाजिक दूरी (सोसल डिस्टान्स)लाई भौतिक दूरी भन्‍ने शब्दावलीले प्रतिस्थापन गरेको छ । गलत बुझाई बढेकै कारण विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत भौतिक दूरी भन्‍ने शब्दावलीको प्रयोगमा जोड दिईरहेको छ । कारण उही हो, भौतिक दूरीमा रहेको बखत पनि मानिस सामाजिक र भावनात्मक रुपमा आफ्नो परिवार, साथीभाई र प्रिय पात्रहरुसँग जोडिएकै हुनुपर्छ ।

    न्युनतम दूरीबारे

    अमेरिकाको जर्जियास्थित विश्‍वप्रसिद्ध पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार ‘क्लोज कन्ट्याक’ भनेको ६ फिटभन्दा कम दूरीमा हुने भौतिक उपस्थिति हो । २४ घण्टाको अवधिमा कम्तीमा १५ मिनेट न्युनतम दूरी कायम नगरी सम्पर्क भएको व्यक्तिबाट दोस्रो व्यक्ति संक्रमित हुनसक्छ ।

    लक्षण नदेखिएका संक्रमितको हकमा सोही अवधिमा कुल १५ मिनेट (वा कम्तीमा ५ मिनेटको दरले तीनपटक) सम्पर्क भए दोस्रो व्यक्तिमा संक्रमण हुनसक्छ । अनुसन्धान अनुसार यसप्रकारको संक्रमण लक्षण नदेखिएको संक्रमित व्यक्ति ‘आइसोलेट’ हुनुभन्दा दुई दिनअघिको अवधिसम्म हुनसक्छ ।

    लक्षणसहितको संक्रमितको हकमा भने उसले खोकी, हाछ्युँ गर्दा निस्कने कणबाट समेत दोस्रो व्यक्ति संक्रमित हुनसक्छ । तर, त्यस्तो संक्रमणको जोखिम बन्दकोठा र बाहिरी वातावरणमा फरक फरक हुन्छ । सही ढंगले मास्क प्रयोग गर्दा यस किसिमको संक्रमणबाट बच्‍न सकिन्छ ।

    गाउँ फर्किने बुझकीहरुले अरुलाई गाउँ पस्‍न निषेध गरे । कतिले बाटो बारे । कतिले गाउँ प्रवेश गर्नेलाई यातनासमेत दिए । जिल्ला प्रशासनले बाहिरकालाई जिल्ला प्रवेशमा रोक लगाउनु नै कोरोना भाइरस नियन्त्रण गर्ने ओखती हो भन्ठान्यो । यसबीचमा नयाँ वर्षदेखि तीज र दशैं/तिहारसम्मका चाडपर्व आए, गए । जोसुकैले बाटो छेकेपनि हामीले ती पर्व मनाई छाड्यौं ।

    हामीले केके गर्‍यौं ?

    २०७६ साल चैत्र ११ गतेदेखि जारी लकडाउन आदेश विभिन्‍न चरणमा लम्बिँदै र खुकुलो हुँदै गएपनि अद्यापि जारी छ । यसबीचमा हामीले आधारभूत अनुशासन कायम गर्ने र आधारभूत ज्ञान हासिल गर्नेभन्दा पनि आतङ्‍क मच्चाउन समय धेरै खर्चियौं भन्दा अत्युक्ति हुँदैन ।

    लकडाउन घोषणा हुनेबित्तिकै प्रशासनले घरबाहिर निस्किए पक्रिने उर्दी जारी गर्‍यो भने हामी जसरी पनि गाउँ फर्कने उपक्रममा लाग्यौं । बुझकीहरुले देशको हालत ईटालीजस्तो हुने भन्दै आतङ्‍क मच्चाए । जबकि त्यतिखेर पनि न्युनतम भौतिक दूरी कायम राखेर दैनिक जीवन चलाउन सकिने रहेछ । देशभित्रै केही जिल्लामा संक्रमण बढेसँगै बाँकी जिल्लाको हालत त्यस्तै हुने (वीरगन्ज, बाँके, उदयपूर इत्यादिजस्तै) भन्दै तर्साउने सिलसिला चलिरह्यो ।

    गाउँ फर्किने बुझकीहरुले अरुलाई गाउँ पस्‍न निषेध गरे । कतिले बाटो बारे । कतिले गाउँ प्रवेश गर्नेलाई यातनासमेत दिए । जिल्ला प्रशासनले बाहिरकालाई जिल्ला प्रवेशमा रोक लगाउनु नै कोरोना भाइरस नियन्त्रण गर्ने ओखती हो भन्ठान्यो । यसबीचमा नयाँ वर्षदेखि तीज र दशैं/तिहारसम्मका चाडपर्व आए, गए । जोसुकैले बाटो छेकेपनि हामीले ती पर्व मनाई छाड्यौं ।

    अरुबेला मास्क पहिरिए पनि फोटो खिच्‍ने बेला मास्कवाला फोटोमा अनुहार नदेखिने चेतना आइहाल्यो । मास्कप्रतिको दिक्दारी अनेकरुपमा देखियो । निधारमा मास्क पहिरिनु, चिउँडोमा राख्‍नु, हातमा लिएर हिँड्नु नौलो कुरा रहेन । बिस्तारै भोजभतेर, चाडपर्व, मेला चल्न थाले । सुरुवातमा बाटोमा कोही भेटिँदा भाग्‍ने गरेका हामीलाई ती सबैथोकमा उपस्थित हुन अप्ठ्यारो लागेन । उही एउटा अनुशासन पालनाबाहेक सबैथोक चलिरह्यो ।

    पीसीआर टेस्टको लहर चलेसँगै नेगेटिभ रिपोर्ट सार्वजनिक गरेर ठूलो मान्छे बन्‍ने खेती सुरु भयो । यसमा पनि कोभन्दा को कम ? तर हामीले सामाजिक दूरी राखिरह्यौं । न्युनतम भौतिक दूरी कायम गरेर अनुशासित तवरले आफ्ना गतिविधि गर्दा जोखिम कम हुने रहेछ भन्‍ने बुझ्‍न कम्तीमा ८ महिना लाग्यो । फेरिपनि सही ज्ञान हासिल गरी उपयोग गर्नेबाहेक सबैथोक चलिरहेकै छ ।

    सिडिओ साहेबले कानून देखाएर तर्साउने, पुलिसले लौरो देखाएर तर्साउने, गाउँका जान्‍नेसुन्‍नेले कम जान्‍ने र बाहिरबाट गाउँ फर्किनेलाई अनेक तनाव दिने क्रम अझै रोकिएको छैन । गाउँमात्रै नभएर सहरमा पनि कोरोनाको नाउँमा रमिता चलिरहेकै छ । अद्यापि समाजमा एउटै कुराको कमी छ, त्यो हो महामारीका बेला चाहिने अनुशासन र भौतिक दूरीको सही ढंगले प्रयोग ।

    महामारी रोकिएको छैन । पश्‍चिमी गोलार्द्धमा केही मुलुकले खोप प्रयोग गर्न थालेका खबरले आशाको सञ्‍चार गराएको छ । तैपनि खोप कहिले सर्वसुलभ हुन्छ र महामारी कुन मितिमा नियन्त्रणमा आउँछ ? भन्‍ने अन्योल कायमै छ । हामी भने भौतिक दूरीको उचित प्रयोग गरेर दैनिकी चलाउनुको साटो असामाजिक ढङ्गले सामाजिक दूरी कायम गर्ने चेतना बोकेर हिँडिरहेका छौं ।

    (समसामयिक र सामाजिक मुद्दाकेन्द्रित यो स्तम्भ हरेक बिहीबार प्रकाशन हुन्छ । स्तम्भको शीर्षकमा प्रयोग गरिएको स्केच मध्यपहाडी लोकमार्गको उद्‍गम बिन्दु पाँचथर जिल्लाको चिवाभञ्ज्याङ नजिकै पर्ने नागबेली सडक हो)


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस