• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमण घटेको छैन, हल्कारुपमा नलिऔं


    अहिलेको अवस्था

    प्राविधिक र तथ्याङ्कीय हिसाबले अवस्था के छ ? भन्‍ने प्रश्‍नको जवाफ सरकारले विभिन्‍न माध्‍यमबाट सार्वजनिक गरेका तथ्याङ्कबाट पाउन सकिन्छ । व्यावहारिक पाटो हेर्दाचाहिँ अहिले केही मान्छेले आफै टेस्ट गरिरहेका छन् तर धेरैजसोमा कोरोनालाई हल्कारुपमा लिने प्रवृत्ति देखिएको छ । हल्कारुपमा लिने, टेस्ट नै नगर्ने, लकडाउन खुल्ने आदि कारणले टोटल केस घटेको देखिएको छ । यदि संक्रमण दर टेस्ट घटेको कारणले नभई स्वतःस्फुर्त घटेको भए अथवा महामारी नियन्त्रणमा आएको भए अहिले मृत्युदर पनि कम हुनुपर्थ्यो । ‘सिभियर केस’ घट्नुपर्ने, हस्पिटलमा भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि घट्नुपर्ने हो ।

    किन यसो भइरहेको छ ? भनेर हेर्दा टेस्ट नै कम भएको कारणले हामीलाई संक्रमण घटेको भान परेको हो । कोरोना भाइरस नियन्त्रणमा आइसकेको अवस्था होइन । अहिले काठमाडौंको हकमा फर्स्ट वेभचाहिँ कम भएको भन्‍न सकिन्छ । किनभने हस्पिटलमा वार्ड र बेड पाउने स्थिति देखिएको छ । यद्यपि पहिलेको तुलनामा धेरैवटा हस्पिटल खुलेका कारणले पनि त्यस्तो देखिएको हुनसक्छ । यसअघि कोरोना विशेष अस्पतालमात्रै सञ्‍चालनमा थिए । अहिले सबै हस्पिटल खुलेका छन् ।

    काठमाडौंमा संक्रमण घटेको देखिन्छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भने संक्रमण बढिरहेको छ । अर्को कुरा, फर्स्ट वेभ सकिएपछि सकेन्ड वेभ आउँदैन भन्‍न सकिन्‍न । अरु देशमा जस्तै सेकेन्ड वेभ आउन सक्छ । अहिले स्कुल, कलेजहरु खुलेका छन् । राजनीतिक आन्दोलन हुन थालेको छ । बिहेबारी र चाडपर्वमा भिडभाड देखिन थालेको छ । यसले जोखिम झन् बढाएको छ ।

    तथ्याङ्क अनुसार जति व्यक्तिमा संक्रमण देखिएको छ त्यसको ५/१० गुणा बढी संक्रमित समुदायमा हुन्छन् । डेढ लाख जनामा संक्रमण भएको तथ्याङ्क छ भने त्यसको ५ गुणा बढी कुल संक्रमण हुनसक्छ । त्यसैले अहिले जोखिम अलिकति घटेको देखिए पनि वास्तवमा घटेको हिसाबले बुझ्‍न मिल्दैन ।

    प्राविधिक हिसाबले हेर्दा डाइरेक्ट मेथडबाट अर्थात् यौटा व्यक्तिबाट सिधै अर्को व्यक्तिमा संक्रमण ९० प्रतिशत र व्यक्तिले प्रयोग गर्ने सामग्रीको माध्यमबाट १० प्रतिशत संक्रमण हुन्छ । चिसो मौसमका कारणले यो १० प्रतिशतको जोखिम बढी हुन्छ ।

    संक्रमण जोखिम घटाउन के गर्ने ?

    व्यक्तिगत स्तरबाट आफु कोरोना संक्रमितसँगको एक्सपोजर भएको छ भने सकेसम्म आफुलाई क्‍वारेन्टाइनमा राख्‍ने र लक्षण देखिन थाल्यो भने परीक्षण गर्ने । अर्को कुरा, सामान्य रुघाखोकीको लक्षण आयो भनेपनि आफुलाई क्‍वारेन्टाइन गरौं । बाहिर धेरै घुलमिल नगरौ । परिवारको सदस्यसँग पनि आवश्यकभन्दा बढी घुलमिल नगरौं । सेल्फ आइसोलेन गराऔं । किनभने कोरोना होकि रुघाखोकी मात्रै हो सजिलै थाहा हुँदैन ।

    महामारी साम्य नहुँदासम्म जुनसुकै अवस्थामा पनि भौतिक दुरी कायम गरौं । मास्कको नियमित प्रयोग गरौं । हातको सरसफाईमा ध्यान दिऔं । भिडभाड हुने गतिविधि नगरौं । कतिपय सामाजिक र साँस्कृतिक गतिविधिमा गर्नैपर्ने अवस्थामा चाहिँ सिमित मान्छेहरुको उपस्थितिमा गरौं । स्कुल, कलेज खुल्न थालेका छन् । यी कुराहरु कन्ट्रोभर्सियल छन् । त्यसैले हामी सतर्क हुनुपर्दछ ।

    महामारीको समयावधि

    यसै होला भन्‍न गाह्रो छ । अहिलेसम्मको संक्रमणको अवस्था हेर्दा यौटा वेभ आउने, त्यो कम हुने र फेरि अर्को वेभ आउने गरेको देखिन्छ । संक्रमण कम भएजस्तो लाग्‍ने फेरि केही समयको अन्तरालमा बढेको देखिन्छ । अमेरिका लगायत विकसित देशहरुमा भ्याक्सिन लगाउन सुरु भइसकेको छ । भ्याक्सिनले प्रभावकारी रुपमा काम गरेको तथ्याङ्कले देखाउँछ ।

    हाम्रो सन्दर्भमा कुरा गर्दा तथ्याङ्कमा काठमाडौंमा तुलनात्मक संक्रमण कम भएको देखिन्छ । तर, यो आफै कम हुन्छ भन्‍ने होइन । फेरि बढेर जाने खतरा उत्तिकै छ  ।

    कहिलेसम्म यस्तो हुन्छ भन्‍ने प्रश्‍नको जवाफमा के भन्‍न सकिन्छ भने भ्याक्सिन हामीले सहजरुपमा पाउने अवस्था नबन्दासम्म सावधान बन्‍नुपर्छ । त्यतिन्जेल संक्रमण रोकथामका लागि प्रयास गरिरहनुपर्छ । जति चाँडो भ्याक्सिन प्रयोग गर्न सकियो त्यति नै चाँडो महामारीसँग डराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

    नेपालको हावापानी, मौसम फरक भएकाले हामी तुलनात्मक हिसाबले सुरक्षित छौं भन्‍ने सुनिन्छ नि !

    कोरोना संक्रमणको हकमा हावापानी, मौसमले फरक खासै प्रभाव पार्दैन । चिसो र गर्मी दुवै मौसममा यो भाईरस संक्रमण बढिरहेको हुन्छ । सुरुमा ईन्डियामा गर्मी थियो । ईन्डिया, युरोप र अस्ट्रेलियाको मौसम, हावापानीमा धेरै फरक छ । तरपनि संक्रमण उसैगरी फैलियो । त्यसैले जाडो, गर्मी इत्यादिसँग भाईरसको खासै सम्बन्ध छैन । बरु जाडोमा संक्रमण अलि बढी हुनसक्छ ।

    नेपालमा अन्य देशको तुलनामा मृत्युदर कम देखिएको चाहिँ सत्य हो । त्यसका विभिन्‍न कारणमध्ये एउटा मास्कको प्रयोग हो । हामीले मास्क प्रयोग गर्ने बानी बसाल्यौं । अमेरिकामा त्यसो गरिएन । त्यसैले संक्रमण र मृतकको संख्या निकै बढ्यो ।

    मौसम, हावापानी भन्दा पनि महत्वपूर्ण विषय जनघनत्व र व्यक्तिगत तथा सामाजिक अनुशासन हो । व्यक्तिले नियम पालना गरिरहेको छ कि छैन ? सरकारको नीति कस्तो छ ? आदि कुराले रोग कन्ट्रोल गर्ने कुरामा मुख्य भूमिका खेल्दछ ।

    नेपालमा कोभिड भ्याक्सिन कसरी र कहिले उपलब्ध होला ?

    भ्याक्सिनको व्यवस्था गर्नका लागि विभिन्‍न देशका सरकार र कम्पनीहरुसँग कुरा भइरहेको छ । सरकारी स्तरमा टिमहरु बनेका छन् । सरकारले विभिन्‍न प्रयास गरिरहेको छ । अप्रुभल पाइसकेर आम प्रयोगमा आएका भ्याक्सिनहरु जीटुजी प्रक्रियाबाट ल्याउने यौटा कुरा हो । त्यसबाहेक ट्रायल साइटको रुपमा दर्ता गरेर पनि प्रक्रिया बढाउनु उपयुक्त हुन्छ । विश्‍व स्वास्थ्य संगठनबाट पनि भ्याक्सिन आउँछ होला तर त्यो कहिले हुन्छ भन्‍न सकिन्‍न । विभिन्‍न माध्यमबाट पाएको जानकारी अनुसार नेपालमा डब्लुएचओमार्फत भ्याक्सिन आउन १/२ वर्षपनि लाग्‍न सक्छ ।

    इन्डिया पनि भ्याक्सिन ठूलो मात्रामा उत्पादन गर्ने राष्ट्र हो । त्यसबाहेक चीन, रसिया, अमेरिकाबाट पनि भ्याक्सिन ल्याउन सकिन्छ । कमर्सियल वा ट्रायल दुवै माध्यमबाट भ्याक्सिन ल्याउने प्रयासमा लाग्‍नु जरुरी छ ।

    भ्याक्सिन ल्याउने कुरामा सरकारको मात्रै भर नपरेर प्राइभेट सेक्टरलाई खुला गर्नु उपयुक्त हुन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा प्राइभेट सेक्टरको भूमिका ७० प्रतिशतसम्म रहेको छ । त्यसैले सरकारले प्रोटोकल बनाएर प्राइभेट सेक्टरलाई भ्याक्सिन ल्याउने जिम्मा दिँदा छिटो व्यवस्थापन हुनसक्छ ।

    सरकार, प्राइभेट र पब्लिक सेक्टर सबैलाई समेटेर विज्ञहरुको टिम बनाएर आम प्रयोगमा आइसकेको भ्याक्सिन जतिसक्दो छिटो ल्याउनुपर्छ । कोरोना भाइरसविरुद्धको लडाईंमा अन्तिम अस्‍त्र भनेको भ्याक्सिन नै हो । अरु सबैथोक संक्रमण रोकथामका उपायहरु मात्रै हुन् ।

    (संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. अधिकारीसँगको कुराकानीमा आधारित)


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार