दुर्लभ मानिएको जन्मजात मोतिविन्दुका आठजना बिरामी फेला
पर्सा- अत्यन्त दुर्लभ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् ।
माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् ।
जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल कोर्डिनेटर महेश सिंह धामीले जानकारी दिए । उनले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट सबैभन्दा कम उम्मेरका १३ वर्षीय आशीष चौधरी फेला परेका छन् भने जिराभवानी गाउँपालिकाबाट सबैभन्दा बढी उम्मेरका ३१ वर्षीय हरेराम राम भेटिएको जानकारी दिए ।
बालबालिकामा हुने पोषणको कमी, ठेउला रोग र गर्भ अवस्थाका बेला महिलाले सेवन गर्ने कडा औषधिका कारण बालबालिकामा मोतिविन्दु हुने गरेको मेडिकल कोर्डिनेटर धामीले बताए । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र बालबालिकाको प्रत्येक ६ महिनामा आँखाको परीक्षण गरे यो रोगबाट जोगिन सकिने उनको भनाइ छ ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दु रोगीको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गरेपछि उनीहरु अहिले आँखा देखिने भएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस