हेपाटाइटिसबारे जान्नैपर्ने तथ्यहरू
मानव शरीरका महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ । एउटा ‘हेपाटोट्रोपिक’ र अर्को ‘नन–हेपाटोट्रोपिक’ । हेपाटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्दछन् । यसले कलेजोलाई मात्र असर गरे पनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्याउँदैनन् ।
नन–हेपाटोट्रोपिक भाइरसअन्तर्गत ‘हर्पिस सिम्लेक’ र ‘इब्स्टेनवार’ भाइरस पर्दछन् । यिनले भने कलेजोका साथै शरीरका अन्य भागलाई पनि असर पुर्याउँछन् । भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यो विशेष गरी प्रदूषित पानी तथा खानेकुराबाट सर्छ । यसले तुरून्त असर गरे पनि दीर्घकालीन असर भने गर्दैन ।
अर्को समूहमा बी, सी र डी पर्छन् । यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ वा आमाबाट बच्चामा सर्छ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असरसमेत गर्छ । हेपाटाइटिस बी एचआईभी/एड्सभन्दा पनि खतरनाक भनेर प्रचार गरिए पनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा छ महिनाभित्र आफैं निको भएर जान्छ । बाँकी १० प्रतिशतमा यसले नरम कलेजोलाई कडा पार्दै लान्छ । जसलाई ‘लिभर सिरोसिस’ भनिन्छ ।
हेपाटाइटिस बी मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । विकसित देशहरू अमेरिका र यूरोपमा एक्युट लिभर फेलरका बिरामीको समयमा लिभर ट्रान्सप्लान्टेसनले गर्दा मृत्यु घटेर गएको छ र वृहत् खोप कार्यक्रमले गर्दा नयाँ बिरामीको संख्या घटेको छ भने क्रोनिक हेपाटाइटिस बी र लिभर क्यान्सरका बिरामी बढिरहेका छन् ।
सन् १९८० को सुरुबाट हेपाटाईटिस बीको विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको छ । यो रोग संसारभर फैलिएको छ । सबैभन्दा बढी दक्षिण पूर्वी एसियाको चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो रोगबाट ग्रस्त छन् । जसलाई क्रोनिक हेपाटाइटिस बी क्यारियर भनिन्छ । त्यस्ता क्यारियरहरु ६० देखि ८० प्रतिशत जीवनको कुनै पनि समयमा रोगको सिकार बन्छन् ।
त्यस्तै, नेपालमा पनि ०.८ प्रतिशत जनसङ्ख्या क्रोनिक हेपाटाइटिस बीबाट संक्रमित छ । यहाँ गरिएका केही अध्ययनले हिमाली भेगमा बस्ने बहुसंख्यक तिब्बतियन समुदायका मानिसहरु, लामा, भोटेहरु करिब ५ देखि १० प्रतिशत यो भाइरसबाट संक्रमित फेला परेका छन् । अफ्रिका, पूर्वी युरोप, मध्यपूर्वी एसिया र इन्डियन सबकन्टिनेन्टमा बस्ने मानिसहरु जीवनको कुनै पनि समयमा यो रोग सर्ने खतरा २० देखि ६० प्रतिशत रहेको छ र नेपाल पनि त्यसमा पर्छ ।
एचआईभी/एड्सलाई सरकारी तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले जति महत्व दिएका छन्, त्यति हेपाटाइटिसलाई महत्व दिएको पाइँदैन । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने रोगमध्ये आठौँ ठूलो रोग भाइरल हेपाटाइटिसलाई नेपालमा खासै महत्व दिएको पाइँदैन । अविकसित राष्ट्रमा मात्र होइन विकसितमा पनि यसलाई महत्व कम दिएको पाइन्छ । सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्य कार्यक्रममा राखेर ग्रामीण स्वास्थ्य चौकीदेखि चिकित्सकसम्म तथा जनस्वास्थ्यसँग चासो राख्ने हरेक व्यक्तिलाई यसको रोकथाम, सर्ने माध्यम तथा उपचारबारे ज्ञान दिन जरूरी छ । आठौँ ठूलो रोग भए पनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ ।
क्रोनिक हेपाटाइटिस बीको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोलाई नष्ट हुन दिनबाट बचाउने र यसको जटिल रूपमा परिवर्तन हुन्। जस्तैः लिभर सिरोसिस, लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउनु हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बीका भाइरसलाई वृद्धि हुनबाट रोक्दछन् । एचबिइएजीलाई नेगेटिभ बनाउँछन् र एबिभी डिएनए भाइरल लोड घटाउँछन् र केही प्रतिशत बिरामीमा भाइरसलाई निर्मूल पार्छ ।
हेपाटाइटिस बीको रोकथामको सबैभन्दा राम्रो उपाय हेपाटाइटिस बीको भ्याक्सिन लगाउनु हो । उच्च रिस्क ग्रूपमा पर्ने समुदायहरु जसले हेपाटाइटिस बीका बिरामीलाई दैनिक सेवा दिनुपर्छ, सम्पर्कमा रहनुपर्छ साथै उनीहरूलाई सेवा दिँदा उनीहरूकोे शरीरबाट निस्केको तरल पदार्थ साथै रगतसंग काम गर्नुपर्छ । साधारण तया हेपाटाइटिस बी भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ । अहिलेको विस्तारित खोप कार्यक्रमअनुसार बच्चालाई डिपिटी र पोलियो भ्याक्सिनसँगै हेपाटाइटिस बी भ्याक्सिन दिइन्छ । एचआइभीका बिरामी, क्यान्सर र अन्य रोगबाट इम्युनो कम्प्रोमाइज्ड व्यक्तिमा चार डोज हेपाटाइटिस बीको खोप लगाउँदा उपयुक्त हुन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस