गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत
नवलपुर- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गरेका हुन् । राहत प्रदान गर्दै रेन्जर सुवेदीले मृतकका परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जेडएसएल नेपालको संयुक्त कोषको ब्याजबाट प्राप्त हुने रकम वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने गरिएको सुवेदीले जानकारी दिए । पीडित परिवारले उक्त रकमबाट सानै भए पनि आयआर्जन गरेर जीविकोपार्जन गर्न सकुन् भनेर राहत रकम प्रदान गरिएको सुवेदीको भनाइ छ ।
गैँडाको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई निकुञ्जले रु १० लाख प्रदान गर्ने वन्यजन्तुसम्बन्धि राहत निर्देशिकामा उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार निकुञ्जले मृतकका परिवारको खातामा रकम पठाउने प्रक्रिया शुरु गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्रबहादुर अधिकारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैँडाको आक्रमणमा परी गत कात्तिक १६ गते मुखिया घाइते भएका थिए । घाइते मुखियाको उपचारका क्रममा चितवनको अस्पतालमा मृत्यु भएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस