गाउँमै रोजगारी: परिवारमा खुशीयाली
ललितपुर- बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १० नबज्दै कुटो कोदालो समातेर काममा निस्कन्छिन् । एक महिनादेखि उनको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उनलाई एक महिनायताको कामले निकै राहत दिएको छ ।
उनका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्दैनन् । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पालेका पिताम्बरको रोजगारी गाउँगाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । कमलाले १०० दिन काम गरेर वृद्ध श्रीमान् र चार छोराछोरीको खर्च चलाउने योजना बनाएकी छन् ।
वडा नं १ धुल्लु बाँस्कोटका नवीन आचार्य पनि त्यही काममा छन् । दुई वर्षअघि कतार पुगेर फर्किएका आचार्यको दैनिकी जङ्गलमा गाईभैँंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उनको दैनिकी फेरिएको छ । “धेरै थोरै काम पाइएको छ, आम्दानी पनि हुने नै भयो”, उनले भने,“सामान्य घरखर्च चलाउने भए पनि आम्दानी गर्छु ।” घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भए पनि पाएकामा उनी खुशी छन् ।
आचार्य र शर्मा जस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरुलाई राहत दिएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत सम्भारको काममा लगाएको छ । उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन उक्त कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् ।
सिँचाइ कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकूद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचीमा रहेकाले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताउँछन् । बरेङका पाँच वडामा एक हजार ३५४ सूचीकृत बेरोजगार छन् । उनीहरुमध्ये पहिलो चरणमा १०० जनाले काम पाएका छन् । दुई सय जना बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताए ।
गाउँपालिकाले पाँच वडामा १६ योजना छनोट गरेर काम गरिरहेको छ । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई रु ५१ लाख ७० हजार र दोस्रो चरणमा रु एक करोड २० लाख ससर्त अनुदान रकम निकासा प्राप्त भएको छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस